कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाघको आक्रमणमा मारिए गैंडा गणक

दुई वर्षमा २० जना मारिए, निकुञ्ज टोलीद्वारा १० वर्षे भाले बाघ नियन्त्रणमा 
कमल पन्थी

बर्दिया — गैंडा गणनामा खटिएका एक कर्मचारी आइतबार हात्तीका लागि घाँस काट्दै गर्दा बाघको आक्रमणमा परी मारिएका छन् । ठाकुरबाबा–९ का ३१ वर्षीय हात्तीसारका पछुवा पुलिसराम थारूको मृत्यु भएको हो । 

बाघको आक्रमणमा मारिए गैंडा गणक

उनी बिहान ६ देखि १२ बजेसम्म बर्दिया राष्ट्रिय निकुञ्जको गैंडा मचानतर्फ सहकर्मी अन्जय चौधरीसँगै हात्ती चढेर गैंडा गणनामा संलग्न थिए । दिउँसो निकुञ्ज मुख्यालय नजिकको हात्तीसारमा खाना खाएर दुवै पुनः वनभित्र पसेका थिए । गर्मी निकै भएका कारण चौधरी हात्तीलाई नुहाउन खोलामा पसे । पुलिसराम केही पर गैंडा मचान क्षेत्रमा उक्त हात्तीका लागि घाँस काट्न थाले । त्यही बेला उनलाई एक्कासि बाघले आक्रमण गरेको हो । सहायक संरक्षण अधिकृत असिम थापाका अनुसार साँझ करिब ५ बजे घटना भएको हो ।

बाघ र पुलिसराम कराएको सुनेर चौधरी घटनास्थल पुगे । बाघले पुलिसरामलाई लतारेर कुदायो । एक्लै परेका चौधरी आत्तिए । रूख चढेर मोबाइलको नेटवर्क खोजे । निकुञ्ज मुख्यालयदेखि ७ किलोमिटर उत्तर–पश्चिममा पर्ने घटनास्थलबाट उनले नेटवर्क टिपेपछि फोन गरे । ‘चौधरीको फोन आएपछि निकुञ्जको टोली र सेना तत्काल घटनास्थल पुगेर पुलिसरामको शव खोजी गरेको हो,’ सहायक संरक्षण अधिकृत थापाले भने, ‘शव बेलुकी ८ बजे भेटियो, निकुञ्ज मुख्यालय ठाकुरद्वारा ल्याइएको छ । हामी कसैले सोच्दै नसोचेको घटना भयो, सबै स्तब्ध छौं ।’

जिल्ला अस्पताल गुलरियामा पोस्टमार्टमपछि शव अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाइने भएको छ । निकुञ्ज नजिकको गाउँमा जन्मे–हुर्केका उनी नौ वर्षदेखि हात्तीसारमा कार्यरत थिए । बाघको आतंकबाट परिचित उनी अरूलाई सतर्क रहन सल्लाह दिन्थे ।

आइतबारको घटनापछि राष्ट्रिय प्राकृतिक संरक्षण कोषका प्राविधिक टोली र निकुञ्जको कर्मचारीले बेलुकी ८ बजे उक्त क्षेत्रबाट एउटा बाघलाई नियन्त्रणमा लिएका छन् । पुलिसरामलाई आक्रमण गर्ने नै हुन सक्ने शंकामा डार्ट गरी बेहोस पारेर नियन्त्रणमा लिइएको बाघ करिब १० वर्ष उमेरको भाले हो । उक्त बाघलाई पनि बर्दिया निकुञ्जको मुख्यालय ठाकुरद्वारा ल्याइने प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बताए ।

गत कात्तिकयता आइतबारसम्ममा बर्दिया निकुञ्जले नियन्त्रणमा लिएको बाघको संख्या ४ पुगेको छ । गेरुवा गाउँपालिकाबाट दुई, मधुवन नगरपालिका र निकुञ्जभित्रैबाट एक/एक वटा बाघलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएकामध्ये बाँके निकुञ्जमा पठाइएको एउटा बाघ खोरबाट भागेको थियो । एउटा बाघ निकुञ्जको रम्मापुर र अर्को ठाकुरद्वारा खोरमा छ । गत वर्ष पनि एउटा बाघ नरभक्षी भएको शंकामा निकुञ्जले नियन्त्रणमा लिएको थियो । त्यो बूढो बाघ भने प्राकृतिक कारणले खोरमै मरेको थियो ।

बर्दिया निकुञ्जमा गत बुधबारदेखि गैंडा गणना सुरु गरिएको थियो । दुई सातामा गणना पूरा गर्न १० वटा हात्ती र ६० जना गणक परिचालित छन् । गणना थाल्ने बेला बाघको ओहोरदोहोर र आक्रमणको जोखिम हुने क्षेत्रमा निकुञ्जले ट्र्यापिङ क्यामरा राखेर सतर्कता अपनाइने जनाएको थियो । तर त्यस्तो क्यामरा राख्न प्रक्रियागत झन्झट हुने भन्दै योजना फेरेको थियो । निकुञ्जका अधिकारीहरूले गैंडा गणनाका क्रममा अधिकतम सतर्कता अपनाएको जनाए पनि पुलिसरामको मृत्युले कर्मचारीको सुरक्षामा प्रश्न उठाएको छ ।

दुई वर्षमा २० जना मारिए

गत फागुन २६ मा मधुवन–३ कोठियाघाटकी २७ वर्षीया रेनुका सुनारलाई बाघले मारेको थियो । त्यसको साता दिन नबित्दै बर्दिया राष्ट्रिय निकुञ्जको सानो बगौरा फाँटामा एक महिलालाई बाघले आक्रमण गरी मारेको थियो । निउरो टिप्न गएका चार महिलामध्ये ठाकुरबाबा–७ मोहनापुरकी ६२ वर्षीया डल्ली रावत बाघको आक्रमणमा मारिएकी थिइन् ।

यसअघि गत असोज ५ मा मधुवन–३ की २६ वर्षीया गंगा खत्रीलाई घाँस काट्न जाँदा घरनजिकको सम्झना सामुदायिक वनमा बाघले मारेको थियो । त्यसपछि गेरुवा गापा–४ का लहानु थारू गत असोज १४ मा त्यसैगरी मारिए ।

कात्तिक ११ मा बेलझुन्डी सामुदायिक वनमा च्याउ टिप्न गएका २६ वर्षीय रमेश चौधरी बाघको आक्रमणमा मारिए । रमेशलाई खोज्न जाँदा मधुवन–३ भगरैयाका २८ वर्षीय दिनेश चौधरीको पनि बाघको आक्रमणमा ज्यान गयो । गत पुस १७ को रात बाघले छोराले चलाएको मोटरसाइकलमा पछाडि बसेकी कैलाली लम्की चुहा–४ कौवापुरकी ५२ वर्षीया नन्दकला थापालाई झम्टेर मारेको थियो । फागुन १७ मा बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको नवरंगा बाँझपुर सामुदायिक वनमा बस्तु चराउन गएका राजापुर–१० कालाबन्जरका करिब ६२ वर्षीय लालबहादुर चौधरीलाई बाघले मारेको थियो ।

गत मंसिर ८ मा मधुवन–५ का ४७ वर्षीया ललीसरा पुन बाख्रा चराउँदा बाघको आक्रमणमा घाइते भइन् । सँगै गोठाला गएका अरू महिलाले हल्ला गरेपछि बाघ भाग्यो, उनको ज्यान जोगियो । दुई वर्षयता बाघको आक्रमणमा बर्दियामा १८ र बाँकेमा २ गरी २० जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : चैत्र २३, २०७७ ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?