काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १२८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शनिबार थपिएका १२८ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ७ सय ६८ पुगेको हो । पछिल्लो २४ घण्टामा २ हजार ७ सय २७ पीसीआर परीक्षण भएका छन् ।
यस्तै, २४ घण्टामा १६१ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार १ सय २३ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।
नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३२ पुगेको छ । त्यस्तै १ हजार ६ सय १३ जना आइसोलेसनमा र ५९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा २२ लाख ८१ हजार ८ सय ३२ पीसीआर परीक्षण भएका छन् ।
तेह्रथुम — साताअघि आगलागीमा घरबास गुमाएका फेदाप गाउँपालिका १ सिम्ले बयरबुङका ७ परिवारको बिचल्ली भएको छ । घरगोठ जलेपछि यी ७ घरका ३५ जना बढी सदस्य पाखोबारीमा रात बिताउन बाध्य छन् । पर्याप्त राहत नपाउँदा बिहान बेलुकको छाक टार्नसमेत समस्या भएको पीडितले गुनानो गरेका छन् ।
तेह्रथुमको फेदाप गाउँपालिका १ सिम्लेस्थित बयरवुङ बस्तीमा आगलागीमा परेका घरहरुमा स्थानीय । तस्बिर : चन्द्र कार्की/कान्तिपुर
पीडितहरु अहिले गाउँपालिका र रेडक्रसले दिएको त्रिपाल टाँगेर बारीमा रात कटाइरहेका छन् । सबै सम्पत्ति खरानी भएपछि बारीको पाटामा बास भएको पीडित ५८ वर्षीय पूर्णबहादुर थापाले बताए । उनले भनेजस्तो सहयोग र राहत नजुट्दा बस्ने र खाने टुंगो नभएको दुखेसो पोखे ।
खानका लागि केही राहत जुटे पनि बासका लागि घर बनाउन कतैबाट सहयोग नजुटेको अर्का पीडित छविलाल थापाले बताए । ‘केही दिन पुग्ने खानेकुरा र ओड्ने, ओछ्याउने जुटेको छ’, पीडित शुक्रवहादुर माझीले भने ‘बास बस्ने घर बनाउने तर्फ कतैबाट पनि सहयोग जुटेको छैन ।’सहयोगीहरुले पनि खाद्यान्न र लत्ता कपडामात्र लिएर आउने गरेको उनले सुनाए ।
पीडित बीरबहादुर कार्कीले घर बनाउने कार्यमा सहयोग गर्न पीडितले सबैसँग आह्वान गरेका छन् । स्थानीयस्तरमा घर बनाउन चाहिने काठसमेत नभएको उनीहरुको भनाइ छ ।
आगलागीमा परी पूर्णबहादुर थापा, पदमबहादुर थापा, नरमाया भण्डारी, छविलाल थापा, तारावीर थापा, शुक्रबहादुर माझी र वीरबहादुर कार्कीसहित २१ जनाको घर जल्दा २ करोड रुपैयाँ बराबरको क्षति भएको गाउँपालिका उपाध्यक्ष गितादेवी थापाले जानकारी दिइन् । उनले पीडितको घर बनाउने गाउँपालिकाले सहयोग गर्ने आश्वासन दिइन् ।
गाउँको पुछारमा रहेको जंगलबाट सल्किएको आगो बस्तीमा पस्दा गाउँनै जलेको हो । जलेका २१ घर मध्ये ७ घरमा मानिस रहेको र बाँकी घरका गाउँले बसाइँ सरेर गएकाले क्षति कम भएको पीडितको भनाइ छ । आगलागीमा परी स्थानीय ७४ वर्षीया वृद्धा नरमाया भण्डारी हराइरहेकी छिन् । उनी आगो लागेको घरबाट भाग्न नसक्दा सोही आगोमा परी जलेको हुन सक्ने प्रहरीको अनुमान छ ।