कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कसरी पुगे किशोरी भारत ?

१५ सय भारतीय रूपैयाँ बोकेका उनीहरुले गायिका बन्न मुम्बई हिँडेको बताएका छन् तर बोर्डरको मुख्य बाटो छलेर भारत प्रवेश गर्नुलाई प्रहरीले शंकाको घेरामा राखेको छ 
सुनिता बराल

महोत्तरी — मंगलबार दिनको २ बजेको थियो । घरबाट हँसिया र बोरा लिएर १३ वर्षीया ज्योति घाँस काट्न हिँडिन् । बुबा विष्णु पासवानले छोरी घाँस काट्न गएको देखे तर कुनै प्रतिक्रिया जनाएनन् ।

कसरी पुगे किशोरी भारत ?

दिदीबहिनी र दौंतरीसँग प्रत्येक दिन समूहमा बाँधिएर घाँट काट्न जाने छोरीसँग विष्णुको प्रतिक्रिया र प्रश्न पनि थिएन । उनलाई छोरी घाँस लिएर एकछिनमा घर फर्किन्छे भन्ने विश्वास थियो तर सोचेजस्तो भएन । ज्योतिसँगै घाँस काट्न गएका भंगाहा ८ धर्मपुर टोलका १८ वर्षकी अस्मिता पासवान, १५ वर्षकी रिया पासवान, वर्ष १८ की नागिना पासवान, १० वर्षकी रञ्जना पासवान, १५ वर्षकी अर्चना पासवान र १० वर्षकी सीमा पासवान घर नफर्केर भारततर्फ लागे ।

साँझ ७ बजेसम्म छोरीहरू आउने बाटो हेरिरहेका परिवारमात्रै होइन, गाउँका ७ जना किशोरी बेपत्ता भएपछि धर्मपुर टोल नै त्रसित बन्यो । समुदायले प्रहरीलाई पनि खबर गर्‍यो । उनीहरूको खोजी गर्ने टोलीलाई भंगाहा–८ स्थित मुसहरी टोलका केही व्यक्तिले दिउँसो ३ बजेतिर किशोरीहरूलाई खेतमा घाँस काटिरहेको देखेको बताए । उनीहरू खेतमै हँसिया र बोरा छोडेर कतिखेर त्यहाँबाट निस्किए, त्यो भने कसैले देखेनन् । साँझ ६ बजे नै नेपाल पार गरिसकेको किशोरीहरूले बताएका छन् । साँझ ६ बजे भिट्टामोड (महोत्तरीको प्रमुख नाका) बाट नछिरेर उनीहरू बोर्डरनजिकै खेतबाट पारि गएको बुझिएको प्रहरीले जनाएको छ ।

किशोरीहरू बेपत्ता भएको सूचना राति ९ बजे मात्रै सीमामा पुगेपछि जिल्लाका सबै बोर्डर सर्च गरेर प्रहरीले सिल गर्‍यो । भारततर्फ समेत किशोरी हराएको सूचना पठाएर खोजी गरिरहँदा बुधबार भारतको सीतामढीमा रहेको त्यहाँको प्रहरीले जानकारी दियो ।

उनीहरू भारत छिरेपछि सुरसनसम्म अटोमा गएको प्रहरीसँग बताएका छन् । सुरसनबाट गाडी चढी राति करिब साढे ९ बजे विहारको सीतामढी पुगेका थिए । राति १० बजे सीतामढीस्थित रेलवे स्टेसनमा किशोरीलाई अलमलमा परेझैं देखेपछि भारतीय रेलवे पुलिसले नियन्त्रणमा लिएको थियो । बुधबार सीतामढीमा किशोरी रहेको सूचना पाएपछि जिल्लाको सशस्त्र प्रहरी, नेपाल प्रहरी र परिवारजन लिन पुगेका थिए ।

भारतीय प्रहरीसँग बुझ्दा उनीहरूका साथमा कोही नभएको तर कसैलाई पर्खिरहेको जस्तो देखेको सशस्त्र प्रहरी निरीक्षक बिर्खलाल शाहीले बताए । १५ सय भारतीय रुपैयाँ बोकेका उनीहरूले गायिका बन्न मुम्बई हिँडेको बताएको भारतीय पुलिसलाई उद्धृत गर्दै सशस्त्र प्रहरी महोत्तरीले जनाएको छ । किशोरीहरूले प्रहरीलाई आफूहरूले रेल पर्खिरहेको बताएका थिए । घाँस काट्न गएका किशोरीसँग १५ सय भारु हुनु र बोर्डरको मुख्य बाटो छलेर भारत प्रवेश गर्नुलाई प्रहरीले शंकाको घेरामा राखेको छ । बोर्डरबाट छिर्दा उनीहरूमाथि शंका हुन सक्ने र सोधपुछ हुने डरले अरू नै बाटोबाट क्रस गर्न कसैले सुझाएको हुन सक्ने महोत्तरी सशस्त्र प्रहरी प्रमुख सुरेश सापकोटाले बताए । त्यसैले उनीहरू आफैं गएका हैनन् भन्ने शंका गर्न सकिने सापकोटाको भनाइ छ ।

किशोरीलाई लिन सीतामढी गएको टोलीले बुधबार राति साढे १० बजे जिल्लामा ल्याई प्रहरीलाई बुझाएको छ । उनीहरूलाई कसैले लगेको हो वा आफैं गएका हुन् भन्ने विषयमा सोधपुछ र काउन्सिलिङ गरिरहेकाले थप कुरा खुलिनसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए । अनुसन्धान भइरहेकाले उनीहरूको बयानका आधारमा तत्काल परिवारको जिम्मा दिने नदिने निर्णय गरिने आचार्यको भनाइ छ । अहिले किशोरीहरूलाई थप काउन्सिलिङका लागि जिल्लास्थित ओरेक नेपाल संस्थालाई जिम्मा लगाइएको छ ।

विद्यालयमा गीत गाएर पुरस्कारसमेत हात पार्ने गरेकी रिया पासवानले आफूहरू गायिका बन्न नै भारत गएको प्रहरीसँग बताएकी छन् । रियाले अरूको भन्दा राम्रो गीत गाउने भएकाले उसैले सबैलाई भारत जान सहमत गराएको हुन सक्ने प्रहरीको आकलन छ । सधैंजसो समूहमा मिलेर घाँस काट्न जाने गरेका किशोरीले भारत जाने योजना पनि सोही क्रममा बनाएको प्रहरीले बताएको छ ।

उनीहरू भारत जानुमा अहिले कसैको संलग्नता पुष्टि नभएकाले सामाजिक सञ्जाल, टीभी, मोबाइलका गतिविधिबाट प्रभावमा परेर वा कसैको लहैलहैमा लागेर हिँडेको पनि हुन सक्ने सशस्त्रका एसपी सापकोटाले बताए ।

समूहकै अर्चना पासवानले पनि गीत गुनगुनाउने र विद्यालयमा गाउन भाग लिने गरेको उनका हजुरबुबा धरमनाथ पासवानले जनाए । विपन्न परिवारकी अस्मिता सीतापुर उच्चमाविमा कक्षा १२ मा पढ्छिन् भने सोही विद्यालयमा रिया र ज्योति ८ कक्षामा, सीमा र नगिना ७ र अर्चना र रञ्जना ५ कक्षामा अध्ययनरत छन् ।

प्रकाशित : चैत्र २०, २०७७ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?