कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बागलुङ घटनामा संलग्‍न भएको आरोपमा ६ जना पक्राउ

प्रकाश बराल

बागलुङ — बागलुङमा होली खेल्ने क्रममा भएको झडपपछि दुई जना युवकको ज्यान गएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले बुधबार दिउँसो ६ जनालाई पक्राउ गरेको छ । 

घटनाको चार दिनपछि गुल्मीबाट २ जना र ४ जना बागलुङबाट पक्राउ परेको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए । घटनामा निसीखोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक परियारको मृत्यु भएको थियो । झडपमा अन्य ६ जना घाइते भएका छन् । घटनास्थलदेखि ४ सय मिटर तल मृतकको शव भेटिएको थियो ।

गत आइतबार बागलुङको बडिगाड र निसीखोला गाउँपालिकाको सिमानामा पर्ने बलधुरेमा लागेको मेलामा झडप भएको थियो । प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरको नेतृत्वमा ११ सदस्य र पोखराबाट सीआईबीको टोली समेत अनुसन्धानमा खटिएको थियो । उक्त टोलीले संलग्नको पहिचान गरिरहेको समेत उनले बताए । ‘अनुसन्धान सकिएको छैन, केही मानिस पक्राउ परेका छन्, त्यसैले नाम सार्वजनिक गर्न सकिएन,’ पल्लीमगरले भने, ‘अनुसन्धान सकिएपछि मात्रै दोषी सार्वजनिक गर्छौं ।’

रंग लगाउने विषयमै दुई पक्षबीच झडप भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ । ‘रंग लगाएकै विषयमा मनमुटाव भएको देखिन्छ, त्यसले झगडाको रुप लियो,’ प्रहरी नायब उपरीक्षक इकवाल हवारीले भने, ‘सामूहिक झगडा भएकोले दोषी पत्ता लगाउन पनि ढिला भएको हो ।’

घटनामा घाइते भएका मिठू परियारले रमाइलो गरिरहेकै स्थानमा एकाएक आक्रमण भएको बताए । घाइतेमध्ये ५ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर फर्केका छन् । अर्का घाइते ज्ञानु परियारको टाउकोमा गहिरो चोट लागेको छ । प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा उपचारपछि उनी पाल्पा थप उपचारका लागि गएका छन् ।

प्रकाशित : चैत्र १८, २०७७ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?