कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदूषण बढ्दो, मास्कलाई बेवास्ता

वायु प्रदूषणका कारण बालबालिकालाई रूघाखोकी, नाक, घाँटीको एलर्जी र फोक्सोमा समस्या
सन्जु पौडेल

तिलोत्तमा — राजधानीबाहेक लुम्बिनी प्रदेशको नेपालगन्ज, दाङ र लुम्बिनीमा पनि हावाको गुणस्तर मापनयन्त्र छन् । लुम्बिनीको यन्त्रले कामै गर्दैन तर यसको मर्मततर्फ सरकारको ध्यान गएको छैन ।

प्रदूषण बढ्दो, मास्कलाई बेवास्ता

अहिलेसम्म नेपालगन्जको वायु गुणस्तरको सूचक हेरेर रूपन्देहीको अन्दाज गर्ने गरिएको लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयका वातावरण निरीक्षक निर्मल चौधरी बताउँछन् ।

समस्या समाधानका लागि नेपाल–भारतबीच छलफल गरी उद्योग र किसानलाई गहुँका नल नजलाउन सन्देश जारी गर्नुपर्ने उनले सुझाए । गहुँ काट्ने समय भएकाले किसानले नल जलाउँदा त्यसको धूवाँ हावामा मिसिएर पनि प्रदूषण बढेको उनको बुझाइ छ । ‘त्यतिले मात्र प्रदूषण हुँदैन,’ उनले भने, ‘अहिले हावामा देखिएका कण भारतबाट आएका हुन् ।’ उत्तर प्रदेश, बिहारलगायत स्थानका किसानले गहुँ काटेर नल जलाउने गरेकाले हावाको गतिअनुसार नेपालमा प्रदूषण बढेको उनले बताए । नेपालको पहाडी क्षेत्रका वनमा लागेको डढेलो र यहाँका किसानले जलाउने नल तथा दुवै देशका उद्योगदेखि निस्कने फोहोर धूवाँले समेत प्रदूषण बढाएको चौधरीको भनाइ छ ।

वायु प्रदूषणका कारण बालबालिकालाई रुघाखोकी, नाक, घाँटीको एलर्जी र फोक्सोमा बढी समस्या देखिएको बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेलले बताए । ‘मेडिकल अध्ययनमा अंग्रेजी मे महिना (चैत/वैशाख) लाई बालबालिकामा दम हुन सक्ने महिना भनेरै तोकेको हुन्छ,’ उनले भने, ‘मौसमले र वायुमा हुने धूलोले नै असर गर्दा बालबालिका बिरामी पर्ने गर्छन् ।’

अघिल्ला वर्षमा समेत यी २ महिनामा बिरामी पर्ने बालबालिकाको संख्या बढी हुन्थ्यो । अहिले दैनिक ४ सयभन्दा बढी बालबालिका जाँचका लागि आउने गरेको उनले बताए । अहिले सरकारले नै स्वास्थ्य सचेतनाको सूचना जारी गरेकाले कामबाहेक बालबालिकालाई घरबाहिर निस्कन नदिन, पानी बढी मात्रामा पिलाउन उनले सुझाव दिए ।

रूपन्देहीको सिद्धार्थनगर–७ की साइसा तमु तीन दिनयता रुघाखोकी र ज्वरोले थलिएकी छन् । ‘डाक्टरले धूलो र मौसम परिवर्तनको समय भएकाले ज्वरो आएको बताउनुभयो,’ उनले भनिन्, ‘फतक्क ज्यान गलेको छ । जाँगर चल्दैन ।’ देवदह–९ का असिम थारूले साँझमा आँखा पोल्ने, पिरो हुने र दुख्ने समस्या देखापरेको बताए । ‘सामान्य टिसर्ट मात्रै लगाएर मोटरसाइकल चलाउँदा पनि शरीरमा धूलो टाँसिएको पाइयो,’ उनले भने ।

आँखा पोल्ने, आँखा रातो हुने र ३ देखि ४ गुना आँखा सुक्खा भएर समस्या परेका बिरामी आँखा अस्पताल पुग्ने गरेका छन् । फागुनदेखि वैशाखसम्म सुक्खा महिना भनेरै चिनिने भएकाले यो बेला बढी सचेत हुनुपर्ने लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्था तथा अनुसन्धान केन्द्र रणअम्बिका शाह आँखा अस्पतालका प्रमुख मेडिकल निर्देशक डा. ज्ञानेन्द्र लामिछानेले बताए । आँखा सुक्खा भइरहँदा बेलैमा उपचार नगरे आँखाको अल्सर हुने, नानीमा समस्या देखिने भन्दै उनले सागपात, गाँजर, भिटामिनयुक्त खानेकुरा खान र प्रशस्त पानी पिउन सल्लाह दिए ।

कोरोना महामारीको दोस्रो लहर भारतमा फैलिसकेकाले सरकारले मास्क अनिवार्य प्रयोग गर्नुपर्ने, भीडभाड हुने गतिविधि नगर्न सूचना जारी गरेको छ । तर, यसको पालनामा भने नागरिकको भूमिका न्यून देखिएको छ । संघसंस्थाले आयोजना गर्ने पदस्थापन कार्यक्रम, अन्तरक्रियालगायत सभा सम्मेलनमा समेत बिनामास्क नै मानिसको बाक्लो उपस्थिति रहने गरेको छ । चिकित्सकले कोरोनामात्र नभई वायुमण्डलमा परेको असरका कारण फैलिएको प्रदूषणबाट जोगिन पनि मास्कले सहयोग गर्ने बताएका छन् ।

कोरोना भाइरसको पहिलो लहर सेलाउँदै गएपछि रूपन्देहीमा पनि मास्कलाई बेवास्ता गरेको देखिन्छ । धूलोको असरबारे ज्ञान नभएकाले पनि यस्तो भएको हुन सक्ने वातावरणका ज्ञाता युवराज कँडेलको भनाइ छ । ‘आँखाले ती सूक्ष्म फोहोर कण देखिँदैन,’ उनले भने, ‘असर नपरुन्जेलसम्म टेर्ने नेपालीको बानी छैन ।’

मास्कको प्रयोगले फोक्सोमा समस्या हुने, श्वासप्रश्वासमा अप्ठ्यारो देखिने भन्नु मानसिक सोचाइ मात्र भएको जनरल फिजिसियन डा. सुदर्शन थापाले बताए । ‘हावालाई मुखभित्र प्रवेश गर्न मास्कले कहिल्यै छेक्दैन,’ उनले भने, ‘स्वास्थ्य क्षेत्रमा काम गर्ने हामीले बिहानदेखि साँझसम्म मास्क प्रयोग गर्छौं, त्यसले रोग निम्त्याएको छैन ।’

प्रकाशित : चैत्र १८, २०७७ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?