खनाल–नेपाल समूह ओलीका निर्णयविरुद्ध संगठित हुने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खनाल–नेपाल समूह ओलीका निर्णयविरुद्ध संगठित हुने

बिनु सुवेदी

काठमाडौँ — प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाही सुरु गरेपछि एमालेको खनाल–नेपाल समूहले तल्लो तहसम्म संगठित हुने गरी अभियान सुरु गरेको छ ।

फाइल तस्बिर : बिजु महर्जन/कान्तिपुर

अध्यक्ष ओलीले सोमबार वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गर्दा समानान्तर गतिविधि गर्न रोके कारबाही ६ महिनाअगावै फुकुवा हुन सक्ने बताएका थिए । तर पार्टीका नेताद्वयलाई निलम्बन गर्ने ओलीको निर्णयपछि बसेको खनाल–नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरूको बैठकले तल्लो कमिटीसम्म आफूपक्षका नेताहरू सम्मिलित संगठन, गठन, पुनर्गठन गर्ने र समानान्तर रूपमा पार्टी गतिविधि अघि बढाउनेबारे छलफल गरेको छ । ओलीका निर्णयविरुद्ध संगठित हुन बैठकले नेता–कार्यकर्तालाई आह्वान गरेको छ ।

‘केपी शर्मा ओलीबाट देश, जनता र पार्टी हितविपरीतका क्रियाकलापविरुद्ध तथा पार्टीको क्रान्तिकारी सिद्धान्त र विचारको पक्षमा दृढतापूर्वक एकताबद्ध रूपमा संगठित भई देशव्यापी सक्रिय हुन एमालेका सम्पूर्ण इमानदार नेता–कार्यकर्ता, सदस्य र शुभेच्छुकहरूमा हार्दिक आह्वान गर्दछौं,’ स्थायी कमिटीका ११ सदस्यले हस्ताक्षर गरेको विज्ञप्तिमा छ । विज्ञप्तिमा एमाले र माओवादी केन्द्र एकीकरण हुँदा स्थायी कमिटी सदस्यमा मनोनीत भएका नेपाल पक्षीय नेताहरू रघुजी पन्त र वेदुराम भुसालले भने हस्ताक्षर गरेका छैनन् । बैठकपछि जारी विज्ञप्तिमा ओलीले सर्वोच्चको फैसलापछि पुनर्जीवित एमालेलाई समेत विभाजन गरेर कम्युनिस्ट आन्दोलन विसर्जन गर्ने प्रयत्न गरिरहेको उल्लेख छ ।

‘एमालेको नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, त्यसबाट पारित विधान र पद्धति मिच्दै केपी शर्मा ओलीबाट एकपछि अर्को निरंकुश र स्वेच्छाचारी कार्य भइरहेको छ । राज्यसत्ताको दुरुपयोग गर्दै तानाशाही लाद्ने दुष्प्रयास भइरहेको छ । आफैंले गोप्य सम्झौताका साथ घोषणा गरेको माओवादी केन्द्रसँगको एकीकरणविरुद्ध अनेकौं षड्यन्त्र गर्दै पार्टी एकतालाई भंग गर्न उद्यत ओलीबाट गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित नेकपा (एमाले) लाई समेत विभाजन गरी नेपालको कम्युनिस्ट आन्दोलनलाई नै विसर्जन गर्ने दुष्प्रयत्न भइरहेको छ,’ विज्ञप्तिमा छ, ‘नेपाली जनताले पाँच वर्षका लागि निर्वाचित गरेको प्रतिनिधिसभालाई असंवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा (एमाले) विभाजित गरी कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्रपूर्ण काम भइरहेका छन् ।’

उनीहरूले प्रधानमन्त्री ओलीलाई पद र शक्ति प्राप्त भएपछि भ्रष्टाचार र अनियमितताको चाङ लाग्न थालेको जिकिर गर्दै यसबाट देश र जनताप्रतिको उत्तरदायित्व र सुशासनका मान्यताहरू भत्किन थालेको उल्लेख गरेका छन् । ‘सत्ता, शक्ति र स्रोतको उन्मादले ग्रसित ओलीद्वारा पार्टी विभाजनको रेखालाई फराकिलो बनाउने दुराशयबाट वरिष्ठ नेता कमरेड माधवकुमार नेपाल, उपाध्यक्ष कमरेड भीम रावल, उपमहासचिव कमरेड घनश्याम भुसाल र स्थायी कमिटीका सदस्य कमरेड सुरेन्द्र पाण्डेलाई अनेक झूटा आरोप लगाउँदै कथित स्पष्टीकरण सोधियो, त्यो उहाँको पार्टीभित्र अन्तरद्वन्द्व चर्काउने दुराशयको हिस्सा थियो,’ विज्ञप्तिमा छ ।

विज्ञप्तिमा छ, ‘अझ अघि बढेर उहाँबाट यही चैत १६ गते वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई विभिन्न झूटा लाञ्छना लगाउँदै ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गर्ने पार्टीको विधानविपरीत स्वेच्छाचारी कार्य भएको छ ।’

बैठकले नेपाल र रावललाई कारबाही गर्ने पार्टी अध्यक्षको निर्णयविरुद्ध वक्तव्य निकाले पनि अब कसरी अगाडि बढ्ने भन्नेबारे ठोस निष्कर्ष निकालिसकेको छैन । ‘आज ओलीजीले गरेको कारबाहीको प्रतिक्रिया दिने काममात्रै भयो, अब कसरी अगाडि बढ्ने भन्नेबारे सामान्य छलफल भयो, खास निष्कर्ष निस्किएको छैन,’ बैठकसम्बद्ध स्रोतले कान्तिपुरसँग भन्यो, ‘केही दिनमा बैठक बसेर निर्णय गरिन्छ ।’ उक्त स्रोतका अनुसार अबको रोडम्यापबारे छलफल गर्न नेपाल पक्षीय नेताहरूको बैठक सम्भवतः आउँदो २० गते बस्दै छ । यो समूहले कसरी अगाडि बढ्ने भन्नेबारे टुंगो लगाउन मुलुककै राजनीति पनि कतातिर उन्मुख हुन्छ भन्नेमा भर पर्छ ।

विशेषगरी माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिएपछि अघि बढ्ने राजनीतिक कोर्सले पनि नेपाल पक्षीय एमालेका नेताहरूको आगामी मार्गचित्र कोरिने देखिएको छ । अब दुई/तीन दिनभित्रै ओलीलाई दिएको समर्थन फिर्ता लिने बताएको माओवादीले त्यसका लागि बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका उपेन्द्र यादवसँग ‘फाइनल’ कुराकानी गर्ने जनाएको छ । माओवादीले गठबन्धन सरकार बनाउन सहमति जुटेमा एमालेबाहेकको सरकार बनाउन अघि बढ्ने र सहमति नभए चुनावमा जान तयार हुने गरी वामपन्थी एकता गर्ने तयारी थालेको छ । चुनावमा जाने स्थिति आउँदा खनाल–नेपाल पक्षीय नेताहरूसहित फेरि वामपन्थी दलहरूको एकता हुन पनि सक्छ तर सरकार बन्ने अवस्था रह्यो भने उनीहरू एमालेभित्रै अन्तरसंघर्ष गर्ने निचोडमा पुग्न सक्छन् ।

त्यसैले केही दिन अरू राजनीतिक दलहरूको पनि गतिविधि हेरर निष्कर्षमा पुग्ने गरी खनाल–नेपाल समूहले आन्तरिक तयारी थालेको छ । त्यसैले आउँदो बैठकका लागि उसले तीन दिन पर्खिएको हो । यो तीन दिनका बीचमा मंगलबार स्पष्टीकरण दिएका उपमहासचिव भुसाल र स्थायी कमिटी सदस्य पाण्डेसमेत कारबाहीमा पर्न सक्ने र त्यसपछि थप योजना बनाउन सजिलो हुने आकलन खनाल–नेपाल समूहको छ । ‘सामान्यतः अहिले ओलीले बाहिर अरूसँग गठबन्धन गर्ने र भित्र हामीलाई लखेट्ने गर्नुभएको छ । सोझो अर्थमा भन्दा बाहिर ठक्कर खानुभयो भने भित्र ठाउँमा आउनुहुन्छ कि भन्ने पनि हो,’ उपमहासचिव भुसालले कान्तिपुरसँग भने, ‘उहाँले आफूलाई कसरी प्रस्तुत गर्नुहुन्छ, त्यही आधारमा हामी कसरी अघि बढ्ने भन्ने निर्धारण हुन्छ, अहिले छलफलमै छौं ।’

प्रकाशित : चैत्र १८, २०७७ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्

डढेलो विस्तारै घट्दै : घातक प्रदूषणमा समेत केही कमी

वन्यजन्तुको बासस्थान प्रभावित, आन्तरिक उडान सहज बन्दै
तराई क्षेत्रमा घट्दै गए पनि मध्यपहाडका वनहरुमा डढेलो अझै जारी छ । यस वर्षको ‘प्रि–मनसुन’ अवधि एकदमै सुक्खा हुने देखिएकाले वैशाखमा डढेलो झनै विकराल बन्न सक्ने विज्ञहरुको चेतावनी छ ।
अब्दुल्लाह मियाँ

काठमाडौँ — केही दिनयता ह्वात्तै बढेको डढेलो मंगलबारदेखि केही हदसम्म नियन्त्रणमा आएको छ । चैत १३ पछि तराई, पहाड, केही हिमाली जिल्ला र संरक्षित क्षेत्रका वनमा डढेलो बढेको थियो । स्थानीय प्रदूषणमा डढेलोको धूवाँ मिसिएपछि राजधानीसहित देशभरको वायु ‘घातक’ बनेको छ ।

पाल्पाको रैनादेवी छहरा–४ को माथिल्लो बाख्रे सामुदायिक वनमा लागेको डढेलो । तस्बिर : माधव अर्याल/कान्तिपुर

दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जालका संयोजकसमेत रहेका डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले मंगलबार ८१ स्थानमा मात्र डढेलो देखिएको बताए । ‘मंगलबारदेखि केही नियन्त्रणमा आएको देखिन्छ,’ उनले भने, ‘तर डढेलोको पिक सिजन बाँकी नै छ, त्यो बेला अझ विकराल बन्न सक्छ । सचेत हुनैपर्छ ।’ उनका अनुसार वैशाख महिनामा डढेलोको जोखिम अझ बढी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले यो वर्षको प्रि–मनसुनको अवधि अत्यन्तै सुक्खा हुने बताएको छ । सुक्खा बढेकै कारण डढेलोजन्य विपद् बढेको हो ।

आइतबार ५ सय २३ स्थानमा र सोमबार ४३ जिल्लाका १ सय ७१ स्थानमा डढेलो लागेको थियो । तराईका जिल्लामा मंगलबार अघिल्लो साताको तुलनामा डढेलो घटेको छ । ‘मध्यपहाडी क्षेत्रका वनमा डढेलो लागेकै देखिन्छ,’ शर्माले भने । डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयहरूले तालिमप्राप्त जनशक्ति परिचालन गरेका छन् । बाराका डिभिजनल वन अधिकृत मन्जुर अहमदले डढेलो नियन्त्रणका लागि ‘कन्ट्रोल फायरिङ’ लाई जोड दिइएको बताए ।

‘डढेलोले जंगलमा रहेका काठ क्षति नगरोस् भनेर कन्ट्रोल फायरिङ पनि गरेका छौं ।’ डिभिजन वनले डढेलो र वन्यजन्तु तस्करी नियन्त्रणका लागि कर्मचारी परिचालन गरेको छ । तर पर्याप्त मात्रामा डढेलो निभाउने उपकरण अभावले अप्ठ्यारो ठाउँको डढेलो भने नियन्त्रण लिन नसकिएको अहमदले बताए ।

वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सिन्धुप्रसाद ढुंगानाले नियन्त्रणमा लिन सकिने किसिमको डढेलो व्यवस्थापनका लागि सबै डिभिजन वन कार्यालयको ध्यानाकर्षण गराइएको बताए । ७ वटै प्रदेशका डिभिजन वन कार्यालयले केही हदसम्म डढेलो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् । संघीयतापछि निकुञ्ज–आरक्ष र संरक्षित क्षेत्रबाहेकको वन प्रदेशअन्तर्गतका वन मन्त्रालयमातहत व्यवस्थापन हुने गरेको छ । यसैबीच गत शुक्रबारदेखि देशका विभिन्न भागमा लागेको तुवाँलो चौथो दिन केही घटेको छ । सौराहाबाहेक काठमाडौं बाहिरका जिल्लाहरूमा तुवाँलो घटेपछि आन्तरिक हवाई उडान सहज भएको छ ।

प्रदूषण बढेपछि बालबालिकालाई रूघाखोकी, नाक, घाँटीको एलर्जी र फोक्सोमा समस्यापर्साको वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ । पर्सा राष्ट्रिय निकुञ्जको विभिन्न भागमा लागेको डढेलो नियन्त्रणमा लिइसकिएको निकुञ्जका रेन्जर प्रकाश पुनले जानकारी दिए । उनका अनुसार निकुञ्जको दक्षिणी भेग तथा मकवानपुरका विभिन्न स्थान, निकुञ्ज कार्यालयदेखि त्रिभुवन राजपथपूर्व बाराको वन क्षेत्र र मकवानपुरतर्फ चुरियामाई मन्दिर आसपास निकुञ्जको मध्यवर्ती क्षेत्रमा पनि डढेलो लागेको थियो ।

पर्सामा निकुञ्जको आधाभार, महादेव क्षेत्रमा पनि डढेलो लागेकोमा नियन्त्रणमा आइसकेको पुनले दाबी गरे । ‘डढेलो नियन्त्रण गर्न निकुञ्जकर्मी र नेपाली सेनाको संयुक्त टोलीले सक्दो प्रयास गर्‍यो,’ उनले भने, ‘कतिपय स्थानमा दमकल प्रयोग गरेरै आगो निभाइयो, फायरलाइन बनाएर पनि आगो नियन्त्रणमा लियौं ।’ निकुञ्जलाई विभिन्न स्थानमा सडक तथा राजमार्गले घेरेको हुनाले बर्सेनि डढेलो लाग्ने गरेको उनले बताए ।

एसियाभर प्रदूषण उच्च : नेपालको प्रदूषण हिमाली भाग नाघेर तिब्बतसम्मै

डिभिजन वन कार्यालय पर्साका निमित्त प्रमुख फरमान मियाँले राष्ट्रिय वनको विभिन्न स्थानमा लागेको डढेलो साताअघि नियन्त्रणमा लिइसकिएको बताए । ‘पर्सागढी नगरपालिको बडनिहार क्षेत्रमा लागेको डढेलो तथा रंगपुर टाँडीको भतौडा वन क्षेत्रमा लागेको डढेलो आफ्नै जनशक्ति प्रयोग गरेर नियन्त्रणमा लिइसकेका छौं,’ उनले भने, ‘वसन्तपुरमा गत साता मात्रै सरोकारवालाको अन्तर्क्रिया गरी डढेलो नियन्त्रणका लागि अपनाइने उपायबारे जानकारी गराएका थियौं ।’ सौराहामा मंगलबार २४ घण्टाको एक्यूआई ३ सय २४ रह्यो भने काठमाडौं र अन्य सहरमा तीन सयभन्दा कम भएको प्राविधिकहरूले बताएका छन् ।

डिभिजन वन कार्यालयका अनुसार पाल्पाका ४७ सामुदायिक वनमा डढेलो लाग्दा १ हजार ३ सय ३१ हेक्टर जंगल सखाप भएको छ । तानसेनका १४ वटा सामुदायिक वनमा डढेलो लागेको छ । रिब्दीकोटमा सबैभन्दा धेरै ४ सय ७९ हेक्टर जंगल डढेलोबाट सखाप भएको डिभिजन वन कार्यालयका रेञ्जर यमलाल पोखरेलले बताए ।

कतिपय स्थानमा छिटो घाँस पलाउने बहानामा डढेलो लगाइएको हुन सक्ने तिनाउ सबडिभिजनका सहायक वन अधिकृत रामध्यान साहले बताए । कतिपय सामुदायिक वनमा भने बाहिरका मान्छेले डढेलो लगाइदिएका हुन् । डढेलोले जंगलका काठ, दाउरा, जडीबुटी तथा नयाँ पालुवा जलेर नष्ट भएको तिनाउ वन समन्वय समितिका पूर्वअध्यक्ष अमर प्रधानले बताए ।

खडेरी र बढ्दो गर्मीले सामुदायिक वनका उपभोक्ता डढेलो निभाउन जंगल जान सक्ने अवस्था छैन । रैनादेवी छहरा–७ बल्ढेङगढीका उपभोक्ता रमेश खड्काले डढेलो नियन्त्रण गर्न खोज्दाखोज्दै नसकिएको बताए । चुरे र तराईसँग जोडिएका जंगलमा पनि डढेलो लागेको उनको भनाइ छ । ‘जंगली जनावर, चराचुरुंगी तथा वननजिकका बस्तीहरूमा जोखिम बढेको छ,’ उनले भने, ‘जंगलमा कटानी, छटानी गरेर नयाँ पालुवा हुर्काउने बेलामा भएको आगलागीले समस्या हुन्छ ।

डिभिजन वन, सबडिभिजन वन कार्यालयले जंगलमा लाग्ने डढेलोविरुद्धमा सचेतना कार्यक्रम गर्दै आएको छ । तर डढेलो लाग्न भने रोकिएको छैन । तिनाउ गाउँपालिकाअन्तर्गत तिनाउ वन समन्वय समितिले ८७ वटा सामुदायिक वन उपभोक्ता समूहको भेला बोलाएर ‘डढेलो नियन्त्रणका लागि उपभोक्ता समूहको अग्रसरता’ विषय र्‍याली तथा सभा आयोजना गरेको छ । तिनाउमा ८७ मध्ये ५० बढी सामुदायिक वन चुरे क्षेत्रमा पर्छन् । तिनाउकै चुरे क्षेत्रमा बढी आगलागी हुने गर्छ ।

पहाडी र तराई भेगका वन उपभोक्तालाई सचेत गराउँदै डढेलोबाट रोक्न यस्तो प्रतिबद्धता गराइएको तिनाउ गाउँपालिकास्तरीय सामुदायिक वन समन्वय समितिका अध्यक्ष पदमलाल शाक्यले बताए । उता सिन्धुलीका धेरैजसो वनमा डढेलो लागेको छ । सालिन्दा लाग्ने डढेलो नियन्त्रणमा उपभोक्ताले चासो दिन छाडेका छन् ।

सिन्धुलीमाडीको खाडीखोला र कोप्चेखोला सामुदायिक वनमा लागेको डढेलोले रातको समयमा सदरमुकाम क्षेत्र नै उज्यालो बनाउने गरेको छ । चार दिनदेखि लागेको डढेलो नियन्त्रण नहुँदा दिउँसो धूवाँको मुस्लो देखिने र डढेलो बस्तीमै आउलाजसरी आगो दनदनी बल्ने गरेको स्थानीय बताउँछन् । सदरमुकामको सबैजसो सामुदायिक वनमा साताअघिदेखि व्यापक डढेलो लागेको छ ।

सिन्धुली सदरमुकामको खाडीखोला सामुदायिक वनमा लागेको डढेलो । तस्बिर : राजकुमार कार्की/कान्तिपुर

सदरमुकामको कमलामाई नगरपालिका–४ को च्याउकोट, कोप्चेखोला र खाडीखोला वडा ८ को कमलामाई, वडा ५ को सरस्वतीलगायत दर्जनौं सामुदायिक वनमा लागेको डढेलो निभेको छैन । सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष हितलाल श्रेष्ठ दुई दिनदेखि सदरमुकाम आसपासका सामुदायिक वनमा डढेलो व्यापक भएको बताउँछन् । डढेलोको धूवाँका कारण वायुमण्डल नै तुवाँलोले ढाकेको र मानिसलाई समेत आँखा पोल्ने जस्तो समस्या देखिन थालेको कमलामाई–६ रातमाटाका सन्तोष शर्माले सुनाए ।

वन्यजन्तुको बासस्थान प्रभावित

डिभिजन वन चन्द्रनिगाहपुरअन्तर्गत राष्ट्रिय वनभित्र लागेको डढेलो नियन्त्रणतिर रहे पनि वन्यजन्तु बासस्थलबाट विस्थापित भएका छन् । वन्यजन्तु सुरक्षित बासस्थानको खोजीमा डढेलोबाट जोगिएको वन क्षेत्रमा पुगेका छन् । डढेलोले हालसम्म उत्तरी चुरे, पश्चिमको सामुदायिक वन क्षेत्र मात्र जोगिएका छन् । रौतहटको कुल २९ हजार ४ सय हेक्टर वन क्षेत्रमध्ये ४ हजारभन्दा बढीमा डढेलो लागेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

यस्तो अवस्थामा चोरी सिकारी र वन्यजन्तुलाई सकस पर्ने सहायक वन अधिकृत साहले बताए । राष्ट्रिय वन क्षेत्रभित्र धेरै स्थानमा घोल छ । पानी पिउन र त्यसको वरपर वन्यजन्तुले बासस्थान बनाउँछन् । अहिले आगोको रापले सबै उजाड बनेको छ । फायरम्यान पठाइए पनि नियन्त्रणमा आएको छैन । यहाँको राष्ट्रिय वनमा पाटेबाघ, भालु, हरिण, मृग, जरायो, घोडघोदा, बँदेल, सर्प र निकुञ्जबाट आउने गैंडा, हात्तीलगायत वन्यजन्तु छन् । उनीहरूलाई अहिले बासस्थानको खाँचो भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

मध्य फागुनदेखि मध्य वैशाखसम्म अत्यधिक डढेलो लाग्छ । हिमाली क्षेत्रमा कात्तिकमै डढेलो लाग्न सुरु हुन्छ । आगोले साना झाडी र सुकेका पात डढ्दा टाढासम्म वन्यजन्तुको गतिविधि देखिन्छ । यो समय वन्यजन्तुका लागि निकै पीडादायी हुने गरेको डिभिजन वनका निमित्त प्रमुख अमरदेव यादवले बताए । ‘डढेलोले वन्यजन्तुको बासस्थान बिथोलिएको छ । सुरक्षा खोज्दै चुरे क्षेत्र जान थालेका छन्,’ उनले भने, ‘यस्तो बेला उनीहरूलाई जोगाउन लाग्नुपर्छ ।’ जाडोको समय रूखको पात सुकेर झर्छ । सुक्खा मौसममा यही पातमा पशुचरणको क्रममा गोठाला र सिकारीले आगो लगाउँछन् । यसबाट जोगिन वन्यजन्तु राजमार्ग वारपार गर्छन् । तराईको चारकोसे झाडी वन्यजन्तुको बासस्थानका रूपमा परिचित छ ।

-साथमा शिव पुरी (रौतहट), शंकर आचार्य (पर्सा), माधव अर्याल (पाल्पा) र राजकुमार कार्की (सिन्धुली)

प्रकाशित : चैत्र १८, २०७७ ०६:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×