काठमाडौँ — म्यान्मारमा भइरहेको सैन्य दमनको निन्दा स्वरुप काठमाडौंमा प्रदर्शन गरिएको छ । मानव अधिकार तथा शान्ती समाजले संयुक्त राष्टसंघको नेपालस्थित कार्यालय युएन हाउस पुल्चोक अगाडि शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
उनीहरुले म्यान्मारमा भइरहको सैन्य दमन अन्त्य गर्नका लागि राष्ट्रसंघलाई प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।
प्रदर्शकारीहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित म्यान्मारमा लोकतन्त्रको बहाली र राजनीतिक बन्दीहरुको बिनासर्त रिहाइका लागि सबै एक हुनुपर्ने र अन्तर्राष्ट्रिय समुदायले सामूहिक कदम चाल्नुपर्ने भन्दै ध्यानाकर्षण गराएका छन् ।
ललितपुर — ललितपुर महानगरपालिकाले अपांगतामैत्री सवारी साधन खरिद गरी स्वालम्बन जीवन पद्धति केन्द्रलाई हस्तान्तरण गरेको छ ।
तस्बिर : बिजु महर्जन
मंगलबार महानगरमा आयोजित एक कार्यक्रममा महानगरका प्रमुख चिरिबाबु महर्जनले अपागंतामैत्री सवारी साधन स्वावलम्बन केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।
नगरप्रमुख महर्जनले सवारीसाधनका लागि आवश्यक चालक, डिजेललगायत मर्मत सम्भार खर्चसमेत महानगरले बेहोर्ने भन्दै सवारी साधनको दुरुपयोग नगर्न समेत आग्रह गरे ।
महानगरलाई अपांगतामैत्री बनाउने योजनाअनुरुप नै सवारी साधन खरिद गरेको र हाल महानगरभित्रका संरचनालाई समेत अपांगतामैत्री बनाउने काम भइरहेको उनले सुनाए । ‘महानगरलाई अपांगतामैत्री बनाउने योजना अनुरुप नै महानगरको भवनमा लिफ्ट, अपांगमैत्री शौचालयदेखि फुटपाथ पनि त्यहीअनुरुप बनाउन सुरु गरेका छौं,’ उनले भने ।
महानगरपालिकाको २० लाख रुपैयाँ, इरुका इन्डिपेन्डेन्ट सेन्टर, जापानको १६ लाख ७५ हजार र स्वालम्बन जीवन पद्धति केन्द्रको ३ लाख ५० हजार रुपैयाँ गरी संयुक्त रुपमा ४० लाख ७५ हजार रुपैयाँ खर्चेर अपांगतामैत्री सवारी साधन खरिद गरेको हो ।
बहुअपांगता भएका ३० जना व्यक्तिहरुलाई पहिचान गरी ज्वागलको दिवा सेवा कार्यालयमा ल्याई मनोसामाजिक परामर्श दिने तथा जीवनपयोगी सीपहरु सिकाइने केन्द्रका अध्यक्ष श्रेष्ठले बताए । आपगंतामैत्री क्याबले दैनिक अपांगता भएका व्यक्तिहरुलाई घरबाट ल्याउने र घरमै पुर्याउने काम गर्ने उनले जानकारी दिए ।
त्यस्तै अपांगता भएका व्यक्तिहरुका लागि दैनिक खाजा, आवश्यकताअनुसार फिजियोथेरापी, स्पिच थेरापी, सञ्चार थेरापी सेवा, दैनिक खेलकुद, मनोरञ्जन तथा बाहिरको दृश्यवालोकन गराउने र सम्बन्धित सरोकारवालालाई अपांगतासम्बन्धी अभिमुखिकरण र अपांगतामैत्री समुदाय निर्माणका लागि अभियान सञ्चालन गर्ने केन्द्रले जनाएको छ ।