होलीमा पानी ठानेर एसिड छ्याप्दा तीन जना घाइते - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

होलीमा पानी ठानेर एसिड छ्याप्दा तीन जना घाइते 

कान्तिपुर संवाददाता

काठमाडौँ — होली खेल्ने क्रममा झुक्किएर एसिड छ्याप्दा तीन बालबालिका घाइते भएका छन् । काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर १ स्थित सरस्वती दूध उत्पादन सहकारी संस्थामा राखिएको एसिडलाई पानी सम्झेर छ्याप्दा ३ जना घाइते भएका हुन् ।

एसिड लागेर ९ वर्षीय विशाल तामाङ, ११ वर्षीय सविन तामाङ र १६ वर्षीया अस्मिता तामाङ घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि साँखुको सुश्मा कोइराला मेमोरिय अस्पतालमा राखिएको काठमाडौं प्रहरी परिसरका एसएसपी अशोक सिंहले बताए ।

पानी भनेर एसिड छ्याप्ने २ जना युवकसहित डेरी सञ्चालकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

'डेरीमा दूधको फ्याट चेक गर्न एसिड प्रयोग गर्दा रहेछन् । त्यही एसिडलाई पानी सम्झेर उनीहरुले छ्यापेछन् । दुई युवकसहित एसिडलाई सहजै पहुँचमा राख्ने डेरी सञ्‍चालकलाई पनि पक्राउ गरेका छौं,' एसएसपी सिंहले भने ।

डेरी नवीन ग्राम विद्यालको घर भाडामा लिएर सञ्‍चालन हुँदै आएको थियो ।

प्रकाशित : चैत्र १६, २०७७ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्

बागलुङ घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग कांग्रेसको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसले बागलुङ घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ । आइतबार होली खेल्ने क्रममा भएको झडपमा परी २ जना युवकको मृत्यु भएको थियो ।

सोमबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै बागलुङ, गुल्मी र प्यूठानको सिमाना बल्देधुरीमा आइतबार भएको घटना अमानवीय र अत्यन्तै निन्दनीय भएको जनाएका छन् ।

शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'होली खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ, यसको गहिरो अनुसन्धान गर्न तथा दोषीहरुलाई अविलम्ब पक्राउ गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ ।'

आइतबारको घटनामा प्रकाश कुँवर र दीपक नेपालीले ज्यान गुमाएका छन् । कुँवर नेपाली कांग्रेस बाग्लुङका जिल्ला सदस्यसमेत रहेको प्रवक्ता शर्माले जानकारी दिएका छन् ।

विज्ञप्तिमा अगाडि भनिएको छ, 'दुवै युवाको मृत शरीर भिरबाट करिब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको स्थिति देखिन्छ । प्रहरी अनुसन्धानलाई तीव्र बनाएर दोषी उम्कन नदिन तदारुकताका लागि नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।'

घटनाको वास्तविकता सार्वजनिक गर्दै दोषीलाई पक्राउ गरेर कडा कानुनी कारबाही अघि बढाउन कांग्रेसले सरकारसँग माग गरेको छ ।

सम्बन्धित समाचार

बागलुङ झडप : जिल्ला प्रहरीको अनुसन्धान टोली घटनास्थलतर्फ

बागलुङमा होली खेल्ने क्रममा झडप, दुई युवाको मृत्यु

प्रकाशित : चैत्र १६, २०७७ ११:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×