कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाक्लो तुवाँलोले दीर्घरोगीलाई बढी जोखिम

आँखा, नाक पोल्ने, घाँटी दुख्ने समस्या देखिएकाले सावधानी अपनाउन चिकित्सकको सुझाव
अतुल मिश्र

काठमाडौँ — केही दिनयता राजधानी ढाकेको तुवाँलोले स्वास्थ्य समस्या निम्त्याउन सक्ने भन्दै चिकित्सकहरूले सावधानी अपनाउन सुझाव दिएका छन् । बाक्लो तुवाँलोका कारण आँखा, नाक पोल्ने, घाँटी दुख्ने समस्या देखिएको भन्दै चिकित्सकले सतर्कता अपनाउन अपनाउन सुझाव दिएका हुन् ।

बाक्लो तुवाँलोले दीर्घरोगीलाई बढी जोखिम

चिकित्सकका अनुसार यस्तो तुवाँलोले दम, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) का साथै फोक्सोसम्बन्धी समस्या देखिन सक्छ । ‘हालको तुवाँलोले फोक्सोको समस्या भएका र दमको बिरामीलाई बढी असर गरेको छ,’ वरिष्ठ छाती रोग विशेषज्ञ डा. रमेश चोखानीले भने, ‘दीर्घरोग भएका व्यक्तिलाई यस्तो असर बढी देखिएको छ ।’ उनले धूमपान गर्ने, दीर्घकालीन जटिल रोग भएकालाई तुवाँलोले समस्यामा पारेको बताए । तुवाँलोको माध्यमले वातावरणमा पुगेको २.५ माइक्रोनभन्दा ठूलो वा सानो सूक्ष्म कण (पार्टिक्युलर मैटर) श्वासप्रश्वासको माध्यमले फोक्सोमा पुग्छ । त्यसपछि रगतको माध्यमले सबै अंगमा गएर असर गर्ने डा. चोखानीको भनाइ छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को अनुसार १० माइक्रोन वा योभन्दा कम व्यास भएको कण फोक्सोभित्र गहिराइमा प्रवेश गर्न सक्छ । धेरै बढी स्वास्थ्यलाई हानि पुर्‍याउने कण २.५ माइक्रोन वा योभन्दा पनि कम व्यासको हुन्छ । यो कण यति सानो हुन्छ कि यस्ता ६० वटा कण मनुष्यको कपालको चौडाइ बराबर हुन्छ । पीएम २.५ फोक्सोभित्रको अवरोधकलाई छेडेर रगत प्रणालीमा प्रवेश गर्न सक्छ । यसले मुटु र श्वासप्रश्वाससम्बन्धी रोगसँगै दीर्घकालमा फोक्सोको क्यान्सरको जोखिमलाई समेत बढाउन सक्छ ।

हावामा भएका अति सूक्ष्म प्रदूषक हाम्रो श्वासप्रश्वास र रक्त सञ्चार प्रणालीमा प्रवेश गरेर मुटु, मस्तिष्क र विशेष गरी फोक्सोलाई नोक्सान पुर्‍याउने राष्ट्रिय क्षयरोग केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश शाहले बताए । ‘अहिले श्वाससम्बन्धी समस्या भएकाहरू सकेसम्म घरमै बसौं । बाहिर निस्कनै परे प्रदूषक कणलाई समेत रोक्न सक्ने खालको एन–९५ मास्क लगाऔं,’ उनले भने । घरमा बस्दासमेत झ्याल आदि बन्द गरेर बस्नु राम्रो हुने उनको भनाइ छ ।

तुवाँलोको स्तर व्यापक रहेसम्म आम व्यक्तिलाई समेत कठिन व्यायामबाट जोगिन सल्लाह दिँदै डा. शाहले बढ्दो प्रदूषणको अवस्थामा मर्निङ, इभनिङ वाक वा घर बाहिर गरिने व्यायामले स्वास्थ्यमा असर गर्न सक्ने बताए ।

वायु प्रदूषणले छालामा समेत असर पार्ने धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्णले बताए । समयभन्दा अगावै बुढ्यौली आउनु, च्याउरिनु, छालामा दाग लाग्नुलगायत थुप्रै छालासम्बन्धी समस्या देखिनुका तत्काल एलर्जी, छाला रातो हुने, बिमिरा आउने, चिलाउने, घाउ हुने, जलन र संक्रमण हुन सक्ने उनको भनाइ छ । एक्जिमाको समस्या भएकाहरूका लागि वायु प्रदूषण/तुवाँलो आदिले झनै असर गर्न सक्ने डा. कर्णले औंल्याए ।

चिकित्सकका अनुसार प्रदूषण बढेको समय वातावरणको सम्पर्कमा आउने शरीरको भागलाई सफा पानीले वा फेसवासले राम्ररी धुनु र मोइस्चराइजर वा नरिवल तेल लगाउनुपर्छ । यस्तै समय समयमा छालालाई मधुरो स्क्रब गर्नाले बाहिरी सतहमा भएको मृत छाला, जम्मा भएको प्रदूषक, रसायनको तह आदि हटाउन सघाउँछ ।

चिकित्सकका अनुसार तुवाँलोले आँखा रातो हुने, आँसु आउने, चिलाउने, चिप्रा आउने हुन सक्छ । ‘एलर्जी भएर आँखा जोडले चिलाएमा आँखाको सतहमा चोटपटक/घाउ हुन सक्छ र यसले संक्रमणको खतरा बढाउँछ,’ वरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा.डा. डीएन साहले भने । उनका अनुसार यस्तो प्रदूषणबाट आँखालाई जोगाउन आँखालाई बेला–बेला सफा पानीले धुनुपर्छ ।

प्रकाशित : चैत्र १६, २०७७ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?