कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बरफ पानी टाउकोमा खन्याएर भए पनि पार्टी एकताका लागि निकास खोजौं : विष्ट 

काठमाडौँ — एमालेका सचिव एवं सांसद गोकर्ण विष्टले नेताहरुले बरफ पानी टाउकोमा खन्याएर भए पनि संयमता र जिम्मेवारीका साथ पार्टी एकता जोगाउन पहल गर्नुपर्ने बताएका छन् । 

बरफ पानी टाउकोमा खन्याएर भए पनि पार्टी एकताका लागि निकास खोजौं : विष्ट 

शुक्रबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा विष्टले पार्टी र आन्दोलनलाई जोगाउन नसके दूर्भाग्यपूर्ण परिणाम आउन सक्ने बताए । ‘नेताहरुले बरफ पानी टाउकोमा खनाएर भए पनि संयमता र जिम्मेवारीका साथ पार्टी र आन्दोलनको एकता जोगाउन पहल गर्न जरुरी छ । ठूला ठूला युद्धहरु त संवादद्वारा शान्तिमा परिणत भएका थुप्रै घटना, इतिहास छन् । एउटै पार्टीभित्र देखापरेका अन्तरविरोध, द्वन्द्वहरुलाई व्यवस्थापन गर्न सकिँदैन भन्ने कुरा हैन, यो ढंगले व्यवस्थापन गर्न जरुरी छ,’ विष्टले बैठकमा भनेका थिए ।

पार्टी एकता जोगाउने गम्भीर पहल प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुपर्ने सुझाव विष्टले दिएका छन् । ‘०५४ सालमा पार्टी विभाजन हुँदैनथ्यो भने ०५६ सालमा एमालेलाई बहुमत प्राप्त हुन्थ्यो । तर, टसलका आधारमा स–साना कुराहरुलाई व्यवस्थापन गर्न नसक्दा पार्टी विभाजन भयो । र दुई पार्टी मिलेर बहुमत प्राप्त गर्न १८ वर्ष पर्खन पर्‍यो,’ विष्टले भने, ‘त्यसकारण यो बेला त्यो प्रकारको दूर्भाग्यमा हाम्रो आन्दोलन जान नपाओस् । यसमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको हैसियतले सबैभन्दा धेरै पहलकदमी र जिम्मेवारीका साथ भूमिका निर्वाह गर्ने काम फेरि पनि पार्टी अध्यक्षले गर्न जरुरी छ ।’

पार्टी विभाजन गर्न देशभित्र र बाहिरका शक्तिहरु उद्यत रहेको भन्दै विष्टको यसमा सावधानी अपनाएर अगाडि बढ्नु पर्ने बताए । ‘नेकपा एमालेको जीवन अत्यन्त गम्भीर मोडमा आएको छ । हामीले कहिलेकाहीं द्वन्द्वलाई घटाउन नसक्दा व्यक्तिगत टसल, इगो, अन्तरविरोधमै रहँदा खाडल पर्ने र दुर्घटनातिर जाने खतरा पनि हुन्छ । देशभित्र र बाहिरका शक्तिहरु एमालेलाई ध्वस्त पार्न, विभाजन गर्न उद्यत छन् । यो अवस्थामा सावधानी अपनाइएन भने पार्टी र आन्दोलनका लागि दूर्भाग्यपूर्ण परिणाम आउन सक्छ,’ विष्टले भने ।

पार्टी एकता जोगाउन आधिकारिक र औपचारिक बैठकमार्फत समस्याको समाधान खोज्नुपर्ने उनको सुझाव छ । ‘फागुन २८ को निर्णयमा सर्वोच्च अदालतले साविक एमालेमा फर्काइसकेपछि साविक (०७५ जेठ २ अघि) को केन्द्रीय कमिटीको औपचारिक र आधिकारिक बैठकमार्फत जे जे निर्णय गरे पनि समझदारीपूर्वक समाधान गर्ने र पार्टीको द्वन्द्व व्यवस्थापन गर्नुपर्छ,’ विष्टले भने, ‘इगोलाई त्यागेर पार्टी एकता र आन्दोलनको भविष्यका लागि लचकताका साथ समाधान खोजौं, त्यसमै हाम्रो भविष्य छ ।’

फरक विचारका अधारमा फरक व्यवहार हुँदैन भन्ने मान्यतालाई स्थापित गरेको भन्दै विष्टले त्यस्ता विचारहरु प्रतिबिम्ब गर्न पाउने एमालेको सुन्दरता रहेको बताए । ‘विचारहरुलाई प्रतिबिम्ब गर्न पाउने र विधि, पद्धतिमा संचालन हुन पाउने नै एमालेको सुन्दरता हो,’ उनले भने, ‘तर, यसमा समस्या पैदा भयो पार्टी र आन्दोलन जोगिँदैन । यसमा गम्भीरतापूर्वक ध्यान दिनु जरुरी छ ।’ विगतका तिक्तताहरु, द्वन्द्वहरुलाई थाँती राखेर नयाँ शिराबाट अगाडि बढ्नु पर्ने धारणा विष्टले राखेका थिए ।

सर्वोच्च अदालतले एमाले ब्युँत्याइदिएपछि पहिलो पटक खनाल–नेपाल समूहका सांसदहरु दलको बैठकमा सहभागी भएका थिए । यद्यपि बैठकमा नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल सहभागी थिएनन् ।

प्रकाशित : चैत्र १३, २०७७ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?