सुटुक्क बेचिन्छन् हात्ती
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — चितवन निकुञ्ज घुम्न आउनेको मुख्य सोख हो– हात्ती सफारी । अधिकांश पर्यटक हात्ती चढेर निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनमा गैंडा लगायत वन्यजन्तु हेर्न जान्छन् । तर पछिल्लो समय सफारीमा प्रयोग हुने हात्ती घट्न थालेका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![सुटुक्क बेचिन्छन् हात्ती](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/miscellaneous/hatti-truck-2632021022126-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
पर्यटकको संख्या घटेपछि गुपचुपमै हात्ती बेचिन थालेका हुन् । हात्ती बिक्री गर्न नियम कानुनले दिँदैन, तर सुटुक्क भारतसम्म पुर्याइन्छ ।
चैत ५ गते साँझपख बूढी राप्ती खोलाको पुल तरेलगत्तै सौराहा जाने बाटोछेउमा एउटा ट्रक उभियो । कुनै जीव जनावर लैजान ठिक्क परेझैं ट्रक बाटोको अग्लो ढिस्कोभन्दा सिधा तल केही गहिरो भागमा रोकिएको थियो । यसो हुँदा ढिस्कोबाट जनावर ट्रकमा जान सजिलो हुन्छ । झमक्क साँझ परेपछि त्यो ट्रक आडमा एउटा अजंगको हात्ती ल्याइयो । ढिस्कोबाट हात्ती ट्रकमा गयो । राति १० बजेतिर हात्ती बोकेर ट्रक बाटो लाग्यो ।
सफारीका लागि हात्ती सञ्चालन गर्ने युनाइटेड हात्ती सञ्चालक सहकारी लिमिटेडका अध्यक्ष ऋषि तिवारीले लकडाउनपछि संस्थामा रहेकामध्ये १५ वटा हात्ती कम भएको बताए । ‘सहकारीमा समेटिएका हात्ती कुनै बेला ६५ वटासम्म थिए । पछिल्लो वर्ष ५७ वटा थिए ।
अहिले १५ वटा घटेका छन्,’ उनले घुमाउरो शैलीमा हात्ती बेचिएको खुलासा गरे, ‘पर्यटक नआउँदा हात्ती पाल्न कठिन छ । त्यसैले ती हात्ती चितवनबाट विस्थापित भए भन्नुपर्यो ।’ संकटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको व्यापारसम्बन्धी महासन्धि (साइटिस) ले हात्तीलाई अनुसूची १ मा राखेको छ । व्यापारका कारणले अझै जोखिममा पर्ने हुँदा अनुसूची १ मा परेका जीव जनावरको व्यापार वा एक–अर्को मुलुकमा ओसारपसार गर्न पाइँदैन ।
त्यसैले सौराहाका हात्ती सञ्चालकहरू यो बेला हात्ती बिक्री भएको स्वीकार गर्दैनन् । अध्यक्ष तिवारी भन्छन्, ‘पैसा लिएर, दिएर ल्याएको थाहा छैन । तर हात्ती घटने–बढ्ने भइरहन्छ ।’ तर यो पटक भने धेरै हात्ती घटेको उनले सुनाए । ‘अब फर्कने सम्भावना निकै कम देखिन्छ’, उनले भने ।
तिवारी र अन्य हात्ती मालिकहरू हात्ती बेचिएको भन्न चाहँदैनन् । उनीहरू ‘विस्थापित भएको’ शब्द प्रयोग गर्छन् । ‘मुख्य गरेर लकडाउनपछि नै हो यसरी हात्ती जाने गरेको । किन कि पर्यटक नआउँदा आम्दानी भएन । आम्दानी नभएपछि हात्ती पाल्न गाह्रो भयो,’ तिवारीले भने ।
सौराहामा सफारी गर्न प्रायः हात्ती विभिन्न समयमा किनेर वा भाडामा ल्याइएका थिए । एउटा हात्ती किन्दा सामान्यतया ५० लाख भारतीय रुपैयाँ तिर्नु पर्थ्यो । भाडामा ल्याए महिनाको ५० हजार भारतीय रुपैयाँ तिर्नु पर्थ्यो । माहुतेलगायत हात्तीको अन्य खर्च भाडामा लिनेले नै बेहोर्नु पर्थ्यो । हात्ती सहकारीका अध्यक्ष तिवारी एउटा हात्ती पाल्न महिनामा एक लाखदेखि सवा लाख रुपैयाँसम्म खर्च हुने बताउँछन् । ‘पर्यटक नआएर हात्ती सफारी ठप्प हुँदा यत्रो खर्च गरेर पाल्न गाह्रो भयो । अनि कसरी टिकाउने ?’ उनले भने ।
कात्तिकयता नेपाली पर्यटक बढ्न थालेका छन् । तर पनि हात्ती बिक्री हुने क्रम रोकिएको छैन । सौराहाका पुराना होटल व्यवसायी शंकर सैंजुका दुईवटा हात्ती थिए, अहिले एउटा छ । ‘एउटा मेरै हो, राखें,’ उनले भने, ‘अर्को भाडामा ल्याएको थिएँ, फिर्ता गरें ।’ उनले पाल्न गाह्रो भएर फिर्ता गरेको बताए ।
एक व्यवसायीले हात्तीलाई भारतीयले एक करोड नेपाली रुपैयाँसम्म दिन तयार हुने गरेको बताए । ‘पाहुना नआएर होटल चलेको छैन, हात्तीलाई आहारा जुटाउन गाह्रो छ । यस्तो बेला ८०/९० लाख रुपैयाँसम्म पर्ने हात्ती करोडभन्दा बढीमा बिक्री हुन थालेका छन् । अनि व्यवसायीले किन हात्ती नबेचुन् ?’ ती व्यवसायीले भने । उनको यो दाबीको स्वतन्त्र पुष्टि गर्न भने गाह्रो छ ।
साइटिसले रोकेको हात्तीको किनबेच सरकारले रोक्न सकेको छैन । तर पनि हात्तीको किनबेच यस्तो बेला किन भइरहेको छ, हात्ती कहाँ गइरहेका छन्, ती हात्ती किनेर कसले के गर्न खोज्दै छ भन्ने जस्ता विषयमा सरकारी निकायले चासो दिनुपर्ने उनले बताए । हात्तीलाई चरनको ठाउँ नहुनाले पनि पालिरहन चाहनेलाई अप्ठेरो छ ।
गैंडा गणनाको उद्घाटन गर्न वनमन्त्री प्रेमबहादुर आले चैत ९ मा सौराहा आएका बेला क्षेत्रीय होटल संघ चितवन सौराहा (हान) का अध्यक्ष दीपक भट्टराईले पनि यो कुरा उठाएका थिए अध्यक्ष भट्टराईले निकुञ्ज आडको घाँस हात्तीले खान पाउनुपर्ने वातावरण बनाउन मन्त्रीसँग माग गरे । व्यवसायीले गतवर्ष लकडाउन सुरु भएदेखि नै यो माग राख्दै आएका छन् । वनमन्त्री आलेले व्यवसायीको मागमा आफू सकारात्मक भएको र ‘हात्ती विस्थापन’ रोक्न सरकार गम्भीर हुने आश्वासन दिएका थिए । हात्ती सफारी निकुञ्जभित्र हुने गरेको छैन ।
मध्यवर्ती सामुदायिक वनमा मात्र निजी हात्तीले सफारी गर्न पाउँछन् । पछिल्लो समय पर्यटन क्षेत्रमा हात्ती सफारी बन्द गर्नुपर्छ भन्ने माग उठ्न थालेको पनि छ । हात्ती सहकारीका अध्यक्ष तिवारीका अनुसार युरोपका मुलुकबाट आउने पर्यटक हात्ती चढ्नै चाहँदैनन् ।
नेपाली, भारतीय र चीनका पर्यटकमात्रै हात्ती सफारी भनेपछि हुरुक्क हुन्छन् । तत्कालका लागि निकुञ्ज आडमा निजी हात्तीका लागि चरनको व्यवस्था भए व्यवसायीलाई धेरै राहत हुने र हात्ती विस्थापन कम हुने तिवारीले बताए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)