कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

दुई हजार वर्ष पुरानो धम्मचक्र चोरी

दामोदर न्यौपाने

काठमाडौँ — पशुपति क्षेत्र परिसरबाट दुई हजार वर्ष पुरानो धम्मचक्र चोरी भएको दुई साता बित्दा पनि भेटिएको छैन । अष्टमण्डलमध्ये एक यो धम्मचक्र सीसी क्यामेराको निगरानी भएकै ठाउँबाट राति चोरिएको थियो ।

दुई हजार वर्ष पुरानो धम्मचक्र चोरी

पशुपति मन्दिर पश्चिमतिर भुवनेश्वरी चोकस्थित केदारमान डंगोल र सन्त श्रेष्ठको घरको बीचमा धम्मचक्र थियो । धम्मचक्रको छेउमा रहेका पद्म मण्डल, धूप बाल्ने स्तम्भलगायत भने मिल्काइएको अवस्थामा भेटिएको अष्टमण्डल छेउकै बासिन्दा रामकुमारी शाहले जानकारी दिइन् । ‘यिनीहरू सबै फालिएका थिए । हामीले बिहान खोजेर ल्यायौं,’ उनले भनिन् ।

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव परमानन्द शाक्यका अनुसार अष्टमण्डलमा स्तूप, पद्म मण्डल, धूप बाल्ने स्तम्भ, धूप स्तम्भको गजजोर, नवग्रह मण्डललगायत पर्छन् । धम्मचक्रमा दायाँ–बायाँ मृग र बीचमा चक्र हुन्छ । शाक्यका अनुसार धम्मचक्र मुख्यतया बुद्धले आफूले पाएको ज्ञानलाई सर्वसाधारणमाझ लैजान गरेको धर्मदर्शनाको प्रतीक हो । ‘धम्मचक्रका ८, १०, १६ र ३२ बाहुले अष्टांगिक मार्ग, १० पारमित आदिको समेत काम गर्छ,’ शाक्यले भने, ‘यस्तो महत्त्वपूर्ण सम्पदा चोरी भएको छ ।’

कोषका पूर्वकोषाध्यक्ष नरोत्तम वैद्यले धम्मचक्र खोजीका लागि प्रहरी कार्यालय गौशालामा उजुरीसमेत दिएका छन् । प्रहरीले भने खोजी जारी राखेको जनाएको छ । कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले मूर्ति चोर्नेको पहिचान भइसकेको दाबी गरे । ‘अहिल्यै यही हो भन्न सकिँदैन,’ उनले भने, ‘तर मान्छे पहिचान भइसकेको छ ।’ वैद्यका अनुसार चोरिएको धम्मचक्र कम्तीमा दुई हजार वर्ष पुरानो हो । चाबहिलको चारुमती विहार, धन्दो चैत्यलगायत बौद्ध धर्मसँग सम्बन्धित मूर्ति पनि कम्तीमा दुई हजार वर्ष पुराना हुन् । देवमाला वंशावलीमा सूर्यवंशी राजा वृषमदेवले धोन्दो चैत्य बनाएको उल्लेख छ ।

वृषदेवले आफ्नो कुलमा चलिआएको शिवमार्ग छाडी बौद्ध धर्म अपनाएका थिए । यसको निर्माण कलिगत संवत् २८१० गरिएको वंशावलीमा उल्लेख छ । पुरातत्त्वविद् अशोक दर्नालका अनुसार चाबहिल क्षेत्र अशोक सम्राटसँग जोडिएको छ ।

अशोककी छोरी चारुमतीले चौधौं किराती राजा स्थुङको समयमा पितासँग नेपाल आएकी थिइन् । अशोक देवपाटनका राजकुमार देवपालसँग छोरीको विवाह गरिदिएर भारत फर्किएका थिए । आफ्नो जीवनकालको अन्तिमतिर चारुमतीले विहार बनाएकी थिइन् । चाबहिल पशुपति क्षेत्रको ९ बस्तीमध्ये एक मानिन्छ । ‘बौद्ध धर्म संस्कृतिको विकास भएकै बेला यहाँ अष्टमंगललगायत संरचना बनेका थिए,’ वैद्यले भने ।

पशुपति क्षेत्रमा धम्मचक्र दुइटा थिए । अर्को पशुपति मन्दिर परिसरको वासुकी मन्दिर छेउमा छ । त्यसको पनि कुनै वास्ता नभएको वैद्यले गुनासो गरे । भुवनेश्वरी चोकमा अष्टमण्डल बेवारिसे छन् । यसको पूजाआजा हुने गरेको छैन । ६ महिनाअघि घर नबेच्दासम्म केदारमान डंगोलले पूजा गर्दै आएका थिए ।

नियमित पूजा नभए पनि यसको महत्त्व बुझ्नेहरू बेलाबेला पूजा गर्न आउने गर्छन् । धम्मचक्र भएको ठाउँ वरिपरि सीसी क्यामेरासमेत राखिएको छ । मन्दिरको वरिपरि भने प्रहरीले सुरक्षा दिइरहेको हुन्छ । ‘सीसी क्यामेरा रहेको र प्रहरीको पनि बाक्लो सुरक्षा भएकै ठाउँबाट धम्मचक्र चोरिएको छ,’ वैद्यले भने, ‘पशुपतिका मूर्ति असुरक्षित भए । यो चिन्ताको कुरा हो ।’ वाग्मती प्रदेशसभा सदस्यसमेत रहेका वैद्यले पशुपति क्षेत्रका कैयौं यस्ता सम्पदाको कोषले बेवास्ता गरेको गुनासो गरे ।

कोषले पशुपति क्षेत्रका मूर्त र अमूर्त सम्पदाको अध्ययन गरेर पुस्तकसमेत निकालेको छ । त्यसमा त्यो धम्मचक्र उल्लेख छैन । ‘हामीले यति पुरानो सम्पदा समेट्न आग्रह गरेका थियौं,’ वैद्यले भने । पशुपति क्षेत्र हिन्दुको मात्र नभई ओमकार परिवारकै तीर्थस्थल भएकाले बौद्धमार्गीका सम्पदा पनि संरक्षण हुनुपर्ने उनले बताए । ओमकार परिवारभित्र हिन्दु, बौद्ध, जैन र सिख धर्म पर्छन् । यहाँ बौद्धमार्गीका चैत्यलगायत संरचना छन् । पशुपतिनाथको ज्योर्तिलिंगमा नै एक दिन बुद्धको प्रतिमा देखिन्छ भन्ने विश्वास छ ।

बुद्धको रूप देखिने दिन छाया दर्शन गरिन्छ । पानीमा देखिने छाया दर्शन हेर्न भक्तजनको भीड लाग्छ । पशुपति मन्दिरको पश्चिमतिर सप्तमी सत्तल छेउमा जैन धर्मका प्रवर्तक महावीर जैनको मूर्ति छ । सिख धर्मका प्रवर्तक गुरु नानकको दुई वटा धर्मग्रन्थ पनि पशुपतिमै छ । पञ्जाबी भाषामा रहेको धर्मग्रन्थ भष्मेश्वर घाट र निर्मल अखडामा रहेको वैद्यले जानकारी दिए । ‘भष्मेश्वर अखडामा त महन्थ नै सिख धर्मावलम्बी छन्,’ वैद्यले भने, ‘धार्मिक सहिष्णुता भएको ठाउँको रक्षा गर्नु कोषको दायित्व हो । तर यो दायित्व पूरा गरेको देखिँदैन ।’

नेपाली मात्र नभई तिब्बती बौद्धमार्गीको समेत धार्मिक आस्था पशुपति रहेको वैद्यले जानकारी दिए । पशुपतिनाथको शक्तिपीठमध्येको गुहेश्वरीलाई महेश्वरीका रूपमा तिब्बती बौद्धमार्गीले पुज्ने गरेका छन् । ‘तिब्बतीले आफ्नो कुल देवताका रूपमा गुह्येश्वरीलाई पूजा गर्छन्,’ वैद्यले भने, ‘तिब्बतीले ध्यान गरेको गुफासमेत यहाँ छन् ।’

प्रकाशित : चैत्र १३, २०७७ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?