कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

७४ विद्यार्थी संक्रमित भएपछि परीक्षा स्थगित

पोखरा — विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि लामाचौरस्थित इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा स्नातक तहको पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षा स्थगित भएको छ ।

७४ विद्यार्थी संक्रमित भएपछि परीक्षा स्थगित

सहायक क्याम्पस प्रमुख सुनील दाहालका अनुसार चार दिनको अवधिमा ७४ विद्यार्थीमा कोरोना देखिएपछि पहिलो चरणको परीक्षा रोकिएको हो ।

गत मंगलबार शंका लागेपछि एक विद्यार्थीले पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि उनको सम्पर्कमा आएका १९ जनाको परीक्षण गर्दा बुधबार ७ जनामा पोजिटिभ देखिएको थियो । शुक्रबार १ सय १८ विद्यार्थीको परीक्षणमा ३२ जना थपिए ।

शनिबार एकैसाथ ६ सय ३५ विद्यार्थीको स्वाब संकलन गर्दा सोमबार ३४ जनामा कोरोना देखियो । बुधबार, बिहीबार र शुक्रबार क्याम्पसले आन्तरिक स्रोतबाट आइसोलेसनलगायत व्यवस्थापनमा खटेको थियो । ३ बाट ८ गतेसम्मका तीनवटै वर्षका परीक्षा स्थगित गरिएको दाहालले बताए ।

संक्रमित विद्यार्थीमध्ये ५० जना अहिले क्याम्पसभित्रकै आइसोलेसनमा छन् । उनीहरूलाई क्याम्पसले खानेबस्नेदेखि अन्य व्यवस्थापन गरेको छ । अरू होम आइसोलेसनमा छन् । परीक्षा स्थगित भएपछि रिपोर्ट नेगेटिभ आएकालाई घरमै बस्न भनिएको क्याम्पसले जनाएको छ ।

अहिले स्थिति नियन्त्रणमा आएकाले चौथो वर्षको परीक्षा शुक्रबारदेखि सुरु गर्न लागिएको सहायक प्रमुख दाहालले बताए । स्नातकोत्तर तहको पढाइ भने अनलाइनमार्फत भइरहेको छ । क्याम्पसमा साढे १७ सय विद्यार्थी छन् ।

प्रकाशित : चैत्र १२, २०७७ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?