२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

म्यान्मारमा सन्‍नाटा

सत्ताधारी सेनाले खोस्यो बाबुकै काखबाट ७ वर्षीया बालिकाको प्राण
सैन्य ‘कु’ पछि कम्तीमा २० बालबालिका मारिए, नेपालीभाषी पनि अवज्ञा आन्दोलनमा सहभागी
देवेन्द्र भट्टराई

काठमाडौँ — म्यान्मारको म्यान्डले सहरमा आफ्नै घरभित्र बाबुको काखमा रहेकी सात वर्षीया खिन म्यो–चिटलाई त्यहाँका सत्ताधारी सैनिकले मंगलबार दिउँसो गोली हानेपछि सिंगो म्यान्मारमा सन्नाटा छाएको छ । ती बालिका मारिएको खबर भुसको आगोसरी फैलिएसँगै बुधबार देशैभर ‘मौन हडताल’ सुरु भयो ।

म्यान्मारमा सन्‍नाटा

कोही मानिस पनि घरबाट बाहिर निस्केनन्, सिंगो देश जनताविहीनझैं देखिएको छ । बीबीसीले म्यो–चिटकी दिदीलाई उद्धृत गरेअनुसार घरमा छापा मारेर सुरक्षा अधिकारीहरूले उनका बाबुलाई सोधखोज गरिरहेका थिए । त्यही बेला दौडेर बाबुको काखमा बस्न गएकी म्यो–चिटलाई उनीहरूले गोली हानेका थिए ।

म्यान्मारमा ५० दिनयता चलेको नागरिक अवज्ञा आन्दोलनमा समर्थन गर्दै आएका खेमराज पाण्डेले एउटै टोलमा बस्ने चिनारु बालिकालाई गोली हानेको खबर सुन्नासाथै आफू आहत भएको सुनाए । उनका अनुसार ती बालिकालाई गोली लागेपछि नजिकैको निजी अस्पतालमा लगिएको थियो । ‘तर उनको सास बाटैमा निभेछ,’ पाण्डेले कान्तिपुरलाई टेलिफोनमा भने । ती बालिकाको सद्गत बुधबार ‘मौन हडताल’ का बेला हतारमै गरिएको थियो । मलामी जान घरबाट निस्के पनि बर्मेली सैनिकले फैलाएको त्राहिमामका कारण जान नसकेको पाण्डेले सुनाए ।

यांगुन बस्ने लक्ष्मण न्यौपानेका अनुसार त्यहाँका १६ भन्दा बढी मुख्य सहरमा बस्ने नेपालीभाषीले ‘गोर्खा’ को नाममा पर्चा–पोस्टर तयार गरेरै म्यान्मारमा जारी अवज्ञा आन्दोलनमा भाग लिइरहेका छन् । ‘सीमा नाघेर सेनाले अत्याचार गरिरहेको छ,’ न्यौपानेले कान्तिपुरलाई भने, ‘त्यही भएर सबै क्षेत्र, जाति, धर्म र समूहबाट स्वस्फुर्त रूपमा अवज्ञा आन्दोलन अघि बढेको छ ।’

बालिकाको अन्तिम संस्कार गरिनुअघि भावविह्वल परिवारजन तस्बिर : म्यानमार नाउ

म्यान्मारको यांगुनमा बस्दै आएका नेपालीभाषी लेखक ठाकुर गुरागाईंले मौन हडतालका कारण सिंगो देश मुर्दाघरजस्तै बनेको बताए । ‘इन्टरनेट थिएन, फोन सम्पर्क पनि पातलो थियो, त्यस्तोमा पनि देशैभर मौन हडतालको असर अचम्मले देखियो,’ उनले टेलिफोनमा भने । बर्मेली प्रख्यात लेखक तथा राजनीतिक अभियन्ता मीन कोनाइङ र इ पानसेलोले गरेको निधोअनुसार बुधबार मौन हडताल अभियान सुरु भएको थियो, जसका कारण सडकमा गोलीगट्ठा लिएका थोरैतिना सेनाबाहेक कोही देखिएनन् । भूमिगत रहेर फेसबुक म्यासेजमार्फत आन्दोलन अघि बढाइरहेका ती दुवैलाई सरकारले खोजिरहेको छ ।

सुरुमा सरकारले ‘आतंकवादी’ घोषणा र फुकुवा गरेका समूहहरू अहिले जनताको आन्दोलनमा सरिक हुन थालेका छन् । बंगलादेशको सीमावर्ती क्षेत्रको पश्चिम रखाइन (अरखाइन आर्मी), करेन, कचिन, सानलगायत क्षेत्रमा रहेका ठूला विद्रोही समूहहरू पनि शान्तिपूर्ण आन्दोलनमा मिसिँदै छन् । ‘म्यान्मारको सेनाले जनताको यसरी नृशंस रूपमा गरेको हत्या र घरघरमा गरेको ब्रह्मलुटको दृश्य हामीले समाचारमा सुनेको तालिबानीको आतंकभन्दा चर्को छ । हिजोसम्मका विद्रोही समूह पनि सत्तारूढ सेनाले गरेको आततायी व्यवहार सहन नसकेर जनताको आन्दोलनमा मिसिएका छन्,’ गुरागाईंले भने ।

म्यान्मारमा २० वटाजति जातीय विद्रोही समूह रहेकामा १० वटाले युद्धविराममा सम्झौता गरिसकेका छन् । अरखाइन आर्मीले भने सम्झौता गरेको थिएन । अहिले अवज्ञा आन्दोलनमा अरखाइनसहित करेन नेसनल आर्मी र कचिन इन्डिपेन्डेन्स आर्मी खुलेर सहभागी भएका छन् । ‘अति गरे पनि अतिचार नगर्नू भन्ने सुनेका हौं,’ लेखक गुरागाईंले भने, ‘तर, यहाँको सैनिकले नसोचेको नृशंस व्यवहार देखाइरहेको छ ।’

म्यान्मारको आन्दोलनलाई तथ्यांकगत र वस्तुगत रिपोर्ट गर्दै आएको एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) का अनुसार फेब्रुअरी १ मा भएको सैन्य ‘कु’ पछि सेनाबाट २ सय ७५ जना निर्दोष नागरिकको ज्यान गएको छ भने २ हजारभन्दा बढीलाई थुनामा राखिएको छ । सेभ द चिल्ड्रेनका अनुसार म्यान्मारमा कम्तीमा २० बालबालिका मारिएका छन् । जारी अवज्ञा आन्दोलनमा उत्रिएकामध्ये अधिकांश नागरिक २५ वर्षमुनिका छन् ।

‘न्यु जेनेरेसन मुभमेन्ट’ भनिएको यो आन्दोलनमा मारिनेहरू पनि २५ वर्षमुनिकै बढी छन् । सेभ द चिल्ड्रेनले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार शान्तिपूर्ण आन्दोलनमा उत्रेका नागरिक र विशेषतः बालबच्चामाथि निरन्तर भइरहेको बीभत्स आक्रमण निकै त्रासदीपूर्ण छ ।

‘घरभित्रै सुरक्षित बसिरहेका बालबालिका मारिएको घटनालाई सामान्य रूपमा लिन मिल्दैन,’ विज्ञप्तिमा उल्लेख छ, ‘दिनहुँजसो बालबालिका मारिएको घटनाले मानव जीवनको मूल्यहीनता दर्शाउँछ ।’ सात वर्षीया बालिका मारिएकै सहर मन्डालेमा गत सोमबार ८ कक्षा पढ्ने १५ वर्षीय बालकलाई सेनाले गोली हानी मारेको थियो । घर अगाडिको धारामा पानी भर्न निस्किएका बेला ती बालकलाई गोली हानिएको थियो ।

सन् १९४८ मा ब्रिटेनबाट स्वतन्त्र भएको म्यान्मारमा सन् १९६२ देखि २०११ सम्म सैनिक शासन थियो । गैरसैनिक शासन फर्काउने अभियान चल्दै आए पनि मुलुक सधैं अस्थिर रहँदै आएको छ । यस पटकको सैन्य ‘कु’ पछि एक वर्ष लामो संकटकाल घोषणा गरिएकाले स्थिति निकै असहज बनेको छ । गत नोभेम्बरमा म्यान्मारमा भएको चुनावमा आङ सान सुचीको दल नेसनल डेमोक्रेटिक पार्टीले अत्यधिक मत ल्याएर जितेपछि धाँधली भएको भन्दै सेनाले सत्ता हत्याएको हो । म्यान्मारमा झन्डै डेढ लाख नेपालीभाषी छन् ।

प्रकाशित : चैत्र १२, २०७७ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?