१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०२

भारतमा भेटियो कोभिड-१९ को ‘डबल म्युटेन्ट’ भेरियन्ट

१८ राज्यमा नयाँ प्रजातिको भाइरस भेटिएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको भनाइ 
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतमा कोरोना भाइरसको संक्रमण तीव्र बनिरहेकै बेला नयाँ प्रकारको भाइरसको त्रास थपिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पहिलोपटक कोरोना भाइरसको थप परिवर्तित ‘डबल म्युटेन्ट’ भाइरस भेटिएको जनाएको छ ।

भारतमा भेटियो कोभिड-१९ को ‘डबल म्युटेन्ट’ भेरियन्ट

मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै विभिन्न १८ राज्यमा गरिएको नमुना परीक्षणमा कोरोनाको नयाँ प्रकारको ‘डबल म्युटेन्ट’ जीवाणु फेला परेको जनाएको हो । त्यसैगरी, यसअघि नै पुष्टि भएका कोरोनाका नयाँ प्रकारका जीवाणुहरू पनि पर्याप्त संख्यामा भेटिएका मन्त्रालयले उल्लेख गरेको छ ।

मन्त्रालयका अनुसार विभिन्न १८ राज्यमा नयाँ प्रकारका भाइरस भेटिएका छन् । नमुनाहरूको परीक्षण गर्दा महाराष्ट्रबाट संकलन गरिएको नमुनामा ‘ई–४८४ क्यू’ र ‘एल–४५२ आर’ को स्वरूपमा पनि परिवर्तन देखिएको छ । जुन कुल नमुनामध्ये १५ देखि २० प्रतिशतसम्ममा देखिएको र यसअघिका प्रकारसँग मेल नखाएको समेत मन्त्रालयले जनाएको छ । त्यसैगरी, केरलाका १४ जिल्लाबाट संकलित २ हजार ३२ नमुना परीक्षण गर्दा ११ जिल्लामा ‘एन–४४०–के’ प्रकारको कोरोना भाइरसको संक्रमण रहेको खुलेको छ । भाइरसको यो प्रकार बेलायत, सिंगापुर, डेनर्माकलगायत १६ मुलुकमा पनि देखा परेको मन्त्रालयले जनाएको छ । त्यसमध्ये ७ सय ३६ वटा बेलायती, ३४ दक्षिण अफ्रिकी र एउटा ब्राजिलियन भाइरस पुष्टि भएको बताइएको छ ।

कोरोना भाइरसमाथि अध्ययन अनुसन्धान गर्ने प्रयोगशालाहरूको सञ्जाल इन्साकोगले गरेको अध्ययनले त्यस्तो तस्बिर बाहिर ल्याएको हो । इन्साकोग भारत सरकारले तीन महिनाअघि गठन गरेको देशभरिका १० वटा राष्ट्रियस्तरका सरकारी प्रयोगशालाको सञ्जाल हो । सञ्जालले गरेको परीक्षणले नै भाइरसका नयाँ प्रकार र तिनीहरूको विस्तारकोपछिल्लो तस्बिर बाहिर ल्याएको हो । त्यसका लागि विभिन्न राज्यबाटकोरोना भाइरसका १० हजार ७ सय ८७ नमुना संकलन गरेर परीक्षण गरिएको थियो ।

मन्त्रालयले हालैका दिनमा संक्रमणमा भएको तीव्र विस्तार र ‘डबल म्युटेन्ट’ भाइरसबीच सम्बन्ध रहे/नरहेको भने खुलाएको छैन । बेलायती, अफ्रिकी, ब्राजिललगायत नयाँ प्रकार संक्रमण तीव्र रूपमा फैलने र प्रतिरोध क्षमतामा बढी असर गर्ने विभिन्न अध्ययनले देखाएको छ । नयाँ प्रकारका भाइरसहरू मानव स्वास्थ्यका लागि थप खतरनाक मानिएका छन् ।

संक्रमण तीव्र भइरहेका बेला नयाँ प्रकारका भाइरस विस्तार बढ्दै जानुले भारतमा कोरोनाको दोस्रो लहरको जोखिम बढाएको भन्दै चिन्ता व्यक्त हुन थालेको छ । बुधबार एकै दिन ४७ हजार २ सय ६२ नयाँ संक्रमित थपिएका छन् । जुन पाँच महिनायताकै बढी हो । योसँगै भारतमा कुल संक्रमित संख्या १ करोड १७ लाख ३४ हजार नाघिससकेको छ ।त्यसैगरी, बुधबार मात्र संक्रमणका कारण २ सय ७५ जनाले ज्यान गुमाएका छन् । योसँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ४ सय ४१ पुगेको छ ।

प्रकाशित : चैत्र ११, २०७७ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?