कोभिडको प्रभाव मूल्यांकन नगर्दा त्रिविको क्यालेन्डर भद्रगोल

४८ महिनामा पूरा हुने स्नातक तह सकिन ५१ महिना लाग्ने

चैत्र १०, २०७७

गणेश राई

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले कोभिड–१९ महामारीको प्रभाव मूल्यांकन गरेर नयाँ क्यालेन्डर जारी गर्न नसक्दा शैक्षिक तालिका भद्रगोल भएको छ । २०७६ सालमा भर्ना भएका स्नातक तह प्रथम वर्षको परीक्षा हुन सकेको छैन तर कक्षा १२ पास गरेका विद्यार्थीको धमाधम भर्ना लिइँदै छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले नियमित क्यालेन्डरभन्दा तीन महिना ढिलो परीक्षा तालिका सार्वजनिक गरेको छ । ‘आधिकारिक निर्णय नगर्दा कुनै क्याम्पसमा बीए प्रथम वर्षको मिडटर्म परीक्षा लिँदै छौं,’ त्रिवि आंगिक क्याम्पसका एक उपप्राध्यापक भन्छन्, ‘तर नजिकमै रहेको अर्को आंगिक क्याम्पसले परीक्षा सञ्चालन गरेको छैन । त्यसमाथि नयाँ भर्ना लिइएका विद्यार्थीको पठनपाठन गर्ने बेला भएको छ । एकपछि अर्को सत्र खप्टिन पुग्यो ।’

त्रिविले लकडाउनका बेला अनलाइन कक्षा र त्यसपछि भौतिक कक्षासमेत सञ्चालन राखेको दाबी गरेको छ । तर त्रिविमा भर्ना भएका अधिकांश विद्यार्थी अनलाइन पहुँचबाहिर रहेको विज्ञले बताएका छन् । ‘विश्वविद्यालयले शैक्षिक सत्र खेर जान दिनु हुन्न,’ शिक्षाविद् विनयकुमार कुसियत भन्छन्, ‘त्यसका निम्ति क्यालेन्डर बनाउनुपर्छ, जसमा दुई वर्षभित्र कोभिडको असर रिकभर (क्षतिपूर्ति) हुन्छ भनेर सुनिश्चित गर्न सकोस् ।’ क्यालेन्डर नबन्दा शैक्षिक सत्र गडबडको स्थितिमा पुगेको उनले बताए ।

उनका अनुसार विश्वविद्यालयले संकायगत आधारमा दुई–अढाई वर्षमा शैक्षिक सत्र क्षतिपूर्ति गर्ने लक्ष्य राखेर मात्र पुग्दैन । त्यसका निम्ति शैक्षिक सत्र पूरा गरेसँगै न्यूनतम शैक्षिक गुणस्तर उपलब्धि सुनिश्चित हुनुपर्छ । ‘प्रश्नावलीमा कस्ता विद्यार्थीलाई कसरी समाहित गर्ने भन्नेतर्फ ध्यान पुग्नुपर्छ,’ कुसियत भन्छन्, ‘कोभिडभन्दा अगाडि भर्ना भएका विद्यार्थी सबै विश्वविद्यालयको सम्पर्कमा आएनन् । उनीहरूमध्ये धेरैले पढाइ छाडेको हुन सक्छ ।’ इन्टरनेटको पहुँचबाहिर रहेका विद्यार्थीको खोजी र मूल्यांकन नभएको उनको भनाइ छ ।

त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार ४८ महिनामा पूरा हुने स्नातक तह सकिन ५१ महिना लाग्नेछ । ‘जसो गर्दा पनि सर्टिफिकेटका आधारमा पछाडि धकेलिने भयो,’ उनले भने, ‘विद्यार्थीको उमेरका हिसाबले २५ वर्षमा पूरा गर्ने कोर्स २६ वर्षमा पुग्ने भयो ।’

त्रिवि शिक्षाध्यक्ष प्राध्यापक शिवलाल भुसाल कोभिड–१९ ले नियमित तालिका तीन महिनाजति ढिलो भएको बताउँछन् । ‘सत्र खासै बिग्रिएको छैन,’ उनले भने, ‘कोरोना महामारीका बेला अनलाइनबाट कक्षा चलायौं । अहिले भौतिक कक्षा सञ्चालन भएकाले खासै समस्या छैन ।’ परीक्षा नियन्त्रण कार्यालयले अरू संकायको भर्ना जारी राखेको छ भने बीएस्सी प्रथम वर्षको इन्ट्रान्स चैत तेस्रो सातामा लिने तय गरेको छ । चैतबाट पठनपाठन सुरु गर्न र जेठभित्र विद्यार्थी रजिस्ट्ेरसन गर्न भनेको छ । अहिले भर्ना भएका विद्यार्थीले आगामी पुसमा परीक्षा दिन पाउनेछन् । उक्त परीक्षाको नतिजा अढाई महिनाभित्र प्रकाशन गर्ने नियन्त्रक जोशीले बताए ।

गत वर्ष भर्ना भएका करिब २ लाख ५० हजार विद्यार्थी छन् । उनीहरूको परीक्षा आगामी जेठमा हुन्छ । दोसो वर्षमा १ लाख ६६ हजार, तेस्रो वर्षमा १ लाख ३२ हजार र चौथोमा १ लाख ५ हजार विद्यार्थी अध्ययनरत छन् । यो वर्ष भर्ना भएका विद्यार्थीको परीक्षा आउँदो पुसमा र नतिजा २०७९ वैशाखमा प्रकाशित हुनेछ । भर्ना जारी रहेकाले विद्यार्थी संख्या भने यकिन हुन सकेको छैन ।

गणेश

Link copied successfully