कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाकामा बेपरवाह आउजाउ

नेपाल–भारत सीमा नाकाबाट आवागमन बढ्न थाले पनि संक्रमण न्यूनीकरण तथा नियन्त्रणका लागि कुनै प्रयास थालिएको छैन ।
प्रदेश ब्युरो

भैरहवा — भारतमा कोरोना संक्रमण बढिरहेका बेला सिधै सम्पर्क भएका लुम्बिनी प्रदेशका मूल नाकाहरूमा सतर्कताबिनै मानिसको बेपरवाह आउजाउ चलिरहेको छ । यसले गर्दा कुनै पनि बेला महामारीको दोस्रो लहर नेपाल भित्रिन सक्ने विज्ञहरूले विश्लेषण गरेका छन् ।

नाकामा बेपरवाह आउजाउ

संक्रमणबाट जोगिन न्यूनतम स्वास्थ्य मापदण्डबिना नाकाबाट ओहोरदोहोर गर्ने सर्वसाधारणको लाम छ । स्थानीय सरकार र प्रशासनले सावधानी अपनाउन चासो दिएका छैनन् भने सर्वसाधारण मास्कबिना यात्रा गरिरहेका देखिन्छन् ।

स्थलमार्ग हुँदै सर्वाधिक यात्रुको आवागमन हुने सुनौली–बेलहिया सीमा नाकामा नेपाल–भारततर्फ आवतजावत गर्ने हूलका हूल मानिसको दृश्य बिहानैदेखि राति अबेरसम्म देख्न सकिन्छ । पछिल्ला दिनमा यस नाकाबाट सर्वसाधारणको आवागमन बढ्न थाले पनि संक्रमण न्यूनीकरण तथा नियन्त्रणका लागि अधिकांशले स्वास्थ्य सुरक्षा अपनाएका छैनन् । सिमानाबाट आवतजावत गर्दा न मुखमा मास्क अनिवार्य गरिएको छ, न त सेनिटाइजरको प्रयोग । सीमा नाकामा हेल्प डेस्क छ, तर स्वास्थ्यकर्मी भेटिँदैनन् । ‘यहाँ आउजाउ गर्ने सबैको नाम र विवरण लेखिसाध्य नै हुँदैन,’ सिमानामा रहेको हेल्प डेस्कमा खटिएका एक सुरक्षाकर्मीले भने, ‘भारतबाट धेरै दिनपछि नेपालतर्फ आएका व्यक्तिको मात्र नाम र विवरण लिने गरेका छौं ।’

भारतीय सुरक्षा निकायले भने राति १० बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मका लागि नाकामा रोक लगाएको छ । यताबाट जानेलाई सिमानामा लाइन लगाएर ‘वाक थ्रु’ मेसिनबाट सुरक्षा जाँच गरेपछि परिचयपत्रका आधारमा भारत प्रवेश गर्न अनुमति दिने गरिएको छ । सीमावर्ती इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले साना सवारीसाधनबाहेक सीमा नाकाबाट दोहोरो आवागमनको भीड बढ्दै जान थालेको बताए । किनमेलका लागि सुनौली बजार पुग्ने नेपाली उपभोक्ता, नेपालमा मजदुरी गर्न आउने भारतीय मजदुर, भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थी, उपचारका लागि दुवै देशतर्फ आवतजावत गर्ने व्यक्तिहरूको भीड देखिन्छ ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले मन्त्रालयबाट अलग्गै निर्देशन नआए पनि यस कोरोना संक्रमण फैलन नदिन स्थानीयस्तरमा छलफल गरेर आवश्यक कदम चाल्ने बताए । ‘पहिलाजस्तै सीमानाकामा रहेका हेल्प डेस्क र हेल्थ डेस्कलाई प्रभावकारी रूपमा कार्यान्वयमा ल्याउने सोचाइमा छौं,’ उनले भने, ‘भारतबाट आउने हरेक व्यक्तिको सामान्य जाँच गरेर मात्र आउन पाउने खालको व्यवस्था स्थानीयस्तरमा लागू गर्ने तयारीमा जुटेका छौं ।’

कोरोना संक्रमण प्रभावित भारतीय राज्यबाट फर्किने नेपालीको संख्या बढिरहेको छ । तर नाकामा बेरोकटोक आउन लागेका उनीहरूको स्वास्थ्य परीक्षण भएको छैन । यसले गर्दा कोरोनाको उच्च जोखिममा बर्दिया पनि परेको छ । भारतमा तीव्र गतिमा फैलिएको कोरोनाको असर खुला सीमाबाट खुलेआम मानिस आउजाउ भएपछि सतर्कता अपनाउनुपर्ने स्वास्थ्य प्रमुख गोकर्ण गिरीले बताए । ‘नेपाल फर्केका उनीहरू कम्तीमा १० दिन छुट्टै बस्नुपर्छ,’ उनले भने, ‘नभए क्वारेन्टाइनमा राख्छौं ।’ सीमानाकामा कोरोना रोकथामका लागि कुनै तयारी छैन । नेपाल–भारत आउजाउ गर्ने मानिसको तथ्यांक पनि लिइएको छैन । ‘सोमबार विपत् व्यवस्थापन समितिको बैठक बसी कोरोना रोकथामका विषयमा निर्णय गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले भने, ‘अब सजग हुने अवस्था आएकाले स्थानीय पालिकासँग समन्वय गरी रोकथामको प्रयास गरिनेछ ।’

नेपाल र भारतको सिमामा कुनै हेल्थ डेक्स छैन । करिब ८३ किमि लामो सीमामा घनाजंगल र खेतको बाटोबाट मानिस आउजाउ गर्छन् । दाङमा पनि नेपाल–भारत सीमा क्षेत्रमा कुनै सावधानी अपनाइएको छैन । लकडाउनपछि हालसम्म नेपाल–भारत सीमा क्षेत्रमा सहज रूपमा मानिसहरूको आवतजावत भइरहेको छ । जिल्लामा सानाठूला गरी २६ नाका छन् । तीमध्ये १० स्थानमा मात्रै सुरक्षाकर्मीको उपस्थिति छ । सुरक्षाकर्मी भएका नाकामा पनि कडाइ गरिएको छैन । गढवा र राजपुर गाउँपालिका नेपाल–भारत सीमा क्षेत्रमा पर्छन् । गढवामा पर्ने कोइलाबास जिल्लाको प्रमुख नाका हो । ‘भारतमा कोरोना संक्रमण फैलिएको खबर आए पनि नेपालमा यसको असर अझै देखिएको छैन,’ प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भने, ‘नेपालमा फैलिने जोखिम नहुँदै नाका बन्द गर्ने कुरा भएन । यदि कुनै जोखिम भएछ भने सोच्नुपर्ने हुन्छ ।’

अहिले नागरिकमा लापरबाही बढ्दै गएकाले नाका बन्द गर्नुभन्दा कोरोनाबारे चेतना प्रवाहमा जोड दिइरहेको स्वास्थ्य कार्यालय प्रमुख अंगदबहादुर शाहीले बताए । ‘अहिले मानिसहरू फेरि लापरबाही गर्न थालेका छन् । नेपाल–भारत नाकाबाट सहज रूपमा आवतजावत भइरहेको छ,’ उनले भने, ‘तर नाकामा नै चेक गर्न सकेका छैनौं । हामी सतर्क छौं तर सावधानी अपनाउन सकिएको छैन ।’

सल्यानका बिर्खबहादुर केसीले तीन महिनामा दुईपटक भारत आउजाउ गरे । कोरोना कहरकै बेला उनी रोजगारीका लागि भारत पुगेका थिए । हल्का ज्वरो आएपछि काम गर्न नसकेर फेरि घर फर्किए । पहिलो चरणको कोरोना संक्रमण उच्च भएका बेला क्वारेन्टाइनमा बसे । अहिले त्यस्तो झन्झट पर्दैन । ‘नेपालमा त कोरोना नै नभएजस्तो लाग्यो,’ उनले भने । लकडाउनको पहिलो चरणमा अत्यन्त कडाइ गरिएको बाँकेको नेपालगन्जस्थित जमुनाह नाका अहिले खुकुलो भएपछि आवतजावत निर्बाध छ ।

भारतको बहराइचमा कोरोना कहर खेपेर आएका उनले नेपालमा खुकुलो भएको देख्दा अचम्म परेको बताए । उनीजस्ता थुप्रै नेपाली र भारतीय नेपालगन्ज–जमुनाह नाका हुँदै कोरोना परीक्षणबिनै आउँछन् । नाका हुँदै आउनेहरूले मास्क लगाएको देखिँदैन । झोलाझाम्टा बोकेर आउने भारतीय हुन् या नेपाली, खुलेआम नाका वारपार गर्छन् । सुरक्षाकर्मीले आवश्यक परेको खण्डमा भन्सारमा जाँचमात्रै गरेर गन्तव्यमा पठाइदिन्छन् । तर न त्यहाँ कुनै कोरोना जाँच गर्ने सुरक्षा संयन्त्र छ, न सोधपुछ नै । भारतमा तेस्रो चरणको कोरोनाको बिगबिगी बढे पनि नेपालगन्ज–रूपैडिया नाका हुँदै आउने–जानेको दैनिक भीड लाग्छ ।

जमुनाह नाकाका सई विष्णु गिरीका अनुसार सामान्य परिचयपत्र मागेर आउजाउ गर्न दिइएको छ । खासगरी भारतदेखि मजदुरी गर्न आउने भारतीय नागरिक र नेपालका नागरिकको हरेक दिन सयौंको संख्यामा ओहोरदोहोर हुन्छ । सुरक्षाकर्मीसमेत मास्क नलगाई काममा खटिएका छन् । ‘कसैले टेर्नै छोडिसके,’ उनले भने, ‘परिचयपत्र हेरेर पठाउँछौं, कोभिड जाँच गर्ने कुनै निकाय नै छैन यहाँ ।’ भेरी अस्पतालका सुपरिन्टेन्डेन्ट डा. प्रकाश थापाले कोरोना प्रभावबाट जोगाउन जतिसक्दो छिटो नाकाको आवागमन व्यवस्थापन गर्नुपर्ने बताए । उनका अनुसार यस्तै नाका बेवास्ता गर्ने हो भने ढिलो–चाँडो नेपालमा असर देखिन्छ । साथै, सीमामा हेल्प डेक्स, बडी स्क्रिनिङ, तापक्रम जाँच विधिजस्ता स्वास्थ्य सुरक्षाको व्यवस्था गर्नुपर्ने उनले बताए ।

यस्तो बेला जिल्ला विपत् व्यवस्थापन केन्द्र मौन छ । नाका खुला र बन्द दुवै नभएको अवस्थामा कोरोना संवेदनाप्रति व्यवस्थापन हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सीमामा कोभिड सुरक्षाको विषयमा तत्कालै केही योजना नरहेको बताए । नाका बिस्तारै खुकुलो भइरहँदा स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि स्वास्थ्य जाँच गर्न असम्भव देखिएको उनको भनाइ छ । ‘सीमा खुला छ तर यातायातमा रोक लगाएका छौं,’ उनले भने, ‘स्थानीय अति आवश्यक परेमात्रै आउजाउ गर्छन् । तत्काल कोभिड नियन्त्रण लक्षित कुनै संयन्त्र बनाएका छैनौं ।’

-माधव ढुंगाना (भैरहवा), मधु शाही (बाँके), दुर्गालाल केसी (दाङ) र कमल पन्थी (बर्दिया)

प्रकाशित : चैत्र १०, २०७७ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?