४० वर्षपछि घर आउँदै गरेका छोरा पर्खँदै धनमाया (तस्बिरहरु)

विप्लव भट्टराई

इलाम — ४० वर्षसम्म भारतका विभिन्न जेलमा बन्दी जीवन बिताएर फर्कँदै गरेका छोरा दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) प्रतीक्षामा माइ नगरपालिकाकी धनमाया बसिरहेकी छन् ।

उनीमात्र होइन अरु आफन्त र गाउँले नै भेला भएर उनलाई पर्खिरहेका छन् । वर्षौंदेखि अलग्गिएको छोरो कतिबेला आइपुग्छ भन्ने जिज्ञासा धनमायाको अनुहारमा प्रष्टै देखिन्छ ।

अदालतको आदेशपछि शनिबार दुर्गाप्रसाद तिम्सिना (दिपक जैसी) कोलकातास्थित दमदम जेलबाट मुक्त गरिएका थिए ।

दुर्गाप्रसादलाई लिन उनका भाइ प्रकाशचन्द्र, कोलकातास्थित नेपाली वाणिज्य दूतावासका सचिव सतिश थापालगायतको टोली कोलकाता पुगेका थिए ।

आइतबार बिहानसम्म झापाको काँकडभिट्टा आइपुगेका दिपक घर आउका लागि त्यहाँबाट टोलीसहित हिँडिसकेका छन् ।

जेलबाट छुटेपछि दुर्गाप्रसादले आफू निर्दोष रहेको बताएका छन् । उनले आफूलाई जेलमा कुटपिट गर्दै यातना समेत दिइएको बताएका छन् ।

कोलकाताको उच्च अदालतका न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले बुधबार उनलाई छाड्न आदेश दिएको थियो ।

दुर्गाप्रसादका वकिल हिरक सिन्हाका अनुसार हरेक ६ महिनामा दुर्गाप्रसादको मानसिक अवस्थाबारे कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराउनुपर्नेछ ।

प्रकाशित : चैत्र ८, २०७७ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्

दाहाल भन्छन्- पहिचान र अधिकारको मुद्दा छोडेको छैन

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले पहिचान र अधिकारको मुद्दा नछोडेको बताएका छन् । 

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार दलित मुक्ति मोर्चाद्वारा आयोजित ५६ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवस कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अधिकार र पहिचानको मुद्दा नछोडेको बताएका हुन् । दलित र महिलालाई विशेषाधिकार दिन आफूले पहल गरेको पनि उनको भनाइ छ ।

विशेषाधिकारबिना महिला र दलितहरुले वास्तविक अर्थमा अधिकार सम्पन्न हुने अभियानमा प्रतिस्पर्धा गर्न सक्दैनन् भनेर संविधानसभाको माइन्यूटमा नै 'नोट अफ डिसेन्ट' राखि भविष्यमा यसको निम्ति आन्दोलन गर्ने बाटो खुला राखेको भए पनि आफूले मुद्दा छाडेको भनि प्रचार भएको उनको भनाइ थियो । प्राप्त अधिकार उपयोग गर्दै बाँकी अधिकारका निम्ति लड्ने नीति लिएको भन्दै उनले विशेषाधिकार र पहिचानको मुद्दा नछोडेको स्पष्ट पारे । ‘तपाईंहरुलाई लाग्दो हो प्रचण्डले छोडेको हो कि हाम्रो मुद्दालाई भन्ने लाग्दो हो । त्यो चाहिँ साँचो होइन । मैले जति आन्दोलनको बलबाट र आजको राजनीतिक परिस्थितिमा प्राप्त हुनसक्ने जति अधिकार चाहिँ लिने र बाँकी अधिकारको निम्ति आन्दोलन जारी राख्ने नीति लिएको हो,' उनले भने, 'न मैले विशेषाधिकार छोडेको छु । न मैले संघीय लोकतान्त्रिक गणतन्त्रमा सबै उत्पीडितहरुले पाउनुपर्ने पहिचान र अधिकारको मुद्दा छोडेको छु ।'

संविधानलाई पनि गतिशील र परिवर्तनशील दस्तावेजको रुपमा संविधान संशोधनको माध्यमबाट परिमार्जन गर्दै लैजाने र उत्पीडितहरुको अधिकार र पहिचानलाई स्थापित गर्दै लैजाने बाटो अपनाएको उनले प्रस्ट्याए । अध्यक्ष दाहालले संविधानमा दलित, महिला, मधेसी, आदिवासी जनजातिलाई अधिकार दिएको कतिपयलाई मन नपरेका कारण संविधान च्यात्न लागेको बताए ।

नेपालको संविधान स्वीकार गर्न नसक्ने देशी विदेशीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रयोग गरेर संविधान र गणतन्त्र सिध्याउन खोजिएको पनि उनको आरोप थियो ।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर आफूहरुलाई सडकमा, जनता भएका ठाउँमा जाउ भनेको भन्दै उनले पुस ५ पछि झन् शक्तिशाली भएको बताए । ‘हामीलाई सिध्याउन खोजेर सडकमा पठाउनुभयो । तर हामी धूलो टक्टकाउँदै झन् शक्तिशाली भएर आएका छौं ’, उनले भने, 'सडकमा पुगेर जनतासँगै लडाइँ लड्ने अवसर मिलेको छ ।'

प्रकाशित : चैत्र ८, २०७७ १५:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×