२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

केशरमहललाई व्यापारिक केन्द्र बनाउने योजना

केशर पुस्तकालयलाई स्वप्न बगैंचा विकास समिति मातहत ल्याउने, शैक्षिक संग्रहालय, सांस्कृतिक कला केन्द्रसहित होटल, रेस्टुरेन्ट सञ्चालन गरेर आर्थिक लाभ लिने गुरूयोजना तयार
सुदीप कैनी

काठमाडौँ — केशरमहलस्थित प्रबलीकरणको चरणमा रहेको केशर पुस्तकालयले चर्चेको करिब ३४ रोपनी जग्गामा व्यापारिक केन्द्र बनाउने योजना अघि सारिएको छ ।

केशरमहललाई व्यापारिक केन्द्र बनाउने योजना

केशरमहल परिसरको स्वप्न बगैंचा विकास समितिमा पुस्तकालयसमेत गाभेर शिक्षा मन्त्रालयले उपयोग गर्दै आएको जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्न लागिएको हो । त्यसका लागि विकास समितिले शिक्षा मन्त्रालयमा योजनासहित प्रस्ताव पेस गरेको छ । समिति पदाधिकारी र मन्त्रालयका केही उच्च अधिकारीको मिलेमतोमा सरकारी जग्गालाई व्यापारीकरण गर्न लागिएको हो ।

केशर पुस्तकालयलाई समिति मातहत ल्याउने, शैक्षिक संग्रहालय, सांस्कृतिक कला केन्द्रसहित होटल, रेस्टुरेन्ट सञ्चालन गरेर आर्थिक लाभ लिनेगरी गुरुयोजना तयार पारिएको छ । स्वप्न बगैंचाभित्र अहिले पनि पर्यटक लक्षित होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । शिक्षा मन्त्रालयको वैदेशिक अनुमति (एनओसी), छात्रवृत्ति, शैक्षिक प्रमाणपत्र र प्रमाणीकरण शाखालाई त्यहाँबाट हटाएर व्यापारिक भवन निर्माण गर्न लागिएको मन्त्रालयनिकट स्रोतले जनायो । केशर पुस्तकालयको प्रबलीकरण गरिरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ती शाखा रहेका भवन हटाउन शिक्षा मन्त्रालयलाई ताकेता गरिरहेको छ ।

पुनर्निर्माणका सामग्री राख्न प्राधिकरणले ताकेता गरे पनि मन्त्रालयका कर्मचारीले भने सधैंका लागि हटाउन लागिएको आशंका गरेका छन् । प्राधिकरणले गत साउनमै ती शाखा खाली गराउन मन्त्रालयलाई पत्राचार गरेको थियो । मन्त्रालयले एनओसीलगायतका शाखा भक्तपुरको सानोठिमीमा सार्ने तयारी गरेको छ । स्रोतका अनुसार परीक्षा नियन्त्रण कार्यालयको भवनमा ती शाखा स्थानान्तरण गर्न लागिएको हो । मन्त्रालयका सहसचिव युवराज सुवेदीले प्राधिकरणले पत्राचार गरे पनि ती शाखा सार्ने विषयमा निर्णय भई नसकेको प्रतिक्रिया दिए ।

मन्त्रालयका कर्मचारीले भने एनओसी शाखा त्यहाँबाट सारे पुनः केशरमहल फर्कन नसकिने बताएका छन् । प्रबलीकरण हुँदै गरेको केशरमहलभित्र ती शाखा सारेर बाहिरी पुनर्निर्माणको काम गर्न सकिने उनीहरूको तर्क छ । सानोठिमी सर्दा स्वप्न विकास समितिलाई केशरमहल गाभ्न सहयोग पुग्ने उनीहरूको भनाइ छ । उच्च शिक्षा महाशाखाका सहसचिव इमनारायण श्रेष्ठले विद्यार्थीको सुविधा र चापअनुसार पनि एनओसी शाखा सानोठिमी सार्न नसकिने जनाए । ‘यी शाखाको काम परराष्ट्र मन्त्रालय, दूतावास, राहदानी विभाग, शैक्षिक कन्सल्टेन्सीसँग सम्बन्धित हुन्छ,’ उनले भने, ‘सानोठिमी सार्न मिल्दैन, विद्यार्थीलाई गाह्रो हुन्छ । सेवाग्राहीको हितमा त्यही ठाउँ ठीक छ ।’

प्राधिकरणले अहिले एनओसी शाखा रहेको भवनमा केशरमहलको पार्किङ बनाउने भनेको छ । पुनर्निर्माण सकिएपछि एनओसी शाखालाई केशरमहलभित्रै राखिने सरकारी योजना छ । भवन खाली गराउनुपर्ने भए त्यसै क्षेत्र आसपास भाडामा भवन लिएर ती शाखाले सेवा दिनुपर्ने श्रेष्ठले जनाए । त्यहाँबाट दैनिक दुई सयभन्दा बढी विद्यार्थीले सेवा लिने गर्छन् । विकास समितिले तयार पारेको गुरुयोजनामा भने एनओसी शाखालाई केशरमहलमै राख्ने उल्लेख छैन ।

केशरमहलको ३४ रोपनी जग्गासहित पुस्तकालय २०२६ मा चन्द्रशमशेरका छोरा केशरशमशेरका परिवारले सरकारलाई दिएका थिए । केशरशमशेरले आफ्नो निजी पुस्तकालय सरकारलाई हस्तान्तरण गरेपछि २०२८ देखि सर्वसाधारणका लागि खुला गरिएको थियो । त्यहाँ लामो समय शिक्षा मन्त्रालयसमेत बस्यो । मन्त्रालय सिंहदरबारभित्रै सरेपछि विद्यार्थीलाई सजिलो होस् भनेर एनओसी शाखा त्यहीं राखिएको कर्मचारीहरू बताउँछन् । ‘सिंहदरबार छिर्न पास चाहिन्छ, दिनदिनै सेवा लिन आउने विद्यार्थीको हितमा सबैलाई पायक पर्ने ठाउँ भएर त्यहीं राखिएको हो,’ ती शाखाका कर्मचारीले भने ।

भूकम्पले क्षति गरेको केशरमहलको प्रबलीकरणकै चरणमा विकास समिति विस्तार गर्ने योजना बनाइएको हो । महलको पूर्वपट्टिको करिब १० रोपनी जग्गामा स्वप्न बगैंचा छ । शिक्षा सचिवको अध्यक्षतामा, सहसचिव, जग्गादाता, स्थानीय पर्यटन व्यवसायीसहित विकास समिति गठन हुने व्यवस्था छ । विकास समितिले नै जग्गा दातामध्येका लोकभक्त राणाको संयोजकत्वमा कार्यदल गठन गरेर केशरमहललाई गाभ्ने योजना बनाएको हो । कार्यदलमा सहसचिव सुवेदी र विकास समितिका सदस्यसचिव ध्रुव रेग्मी सदस्य छन् । स्रोतका अनुसार उक्त योजनासहितको प्रतिवेदन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई बुझाउने तयारी भइरहेको छ ।

सदस्यसचिव रेग्मीले गुरुयोजना छलफलको चरणमा रहेको जनाए । उनी शिक्षा मन्त्रालयका पूर्वउपसचिवसमेत हुन् । मन्त्रालयका वैदेशिक शाखा प्रमुख उपसचिव विकास समितिको सदस्यसचिव हुने प्रचलन छ । २०५६ मा स्वप्न बगैंचा निर्माण गरेर विकास समितिमार्फत आर्थिक कारोबार सुरु गरिएको थियो । पुस्तकालयको अवस्था पनि राम्रो नभएका कारण विकास समितिमा नै गाभेर व्यवस्थित गर्न लागिएको उनले बताए । ‘स्वप्न बगैंचा संसारका उत्कृष्ट बगैंचामध्येको एक हो, सरकारको आर्थिक सहयोग लिँदैन, आफ्नै साधनस्रोतबाट नाफामा चलेको छ,’ उनले भने, ‘बगैंचासँगै पुस्तकालयलगायत संग्रहालय, शैक्षिक कला केन्द्रलाई जोड्नुपर्छ भन्ने सुझाव आएको छ ।’ केशर पुस्तकालयलाई शैक्षिक संग्रहालय बनाउने, विश्वविद्यालय अन्तर्राष्ट्रियस्तरमा सम्बन्धन विस्तार गर्ने र डिजिटल बनाउने योजना बनाइएको उनले सुनाए । राणाकालअघि र राणाकालीन पुरातात्त्विक वस्तुहरू त्यहीं सुरक्षित राख्न पनि विभिन्न व्यक्तिले सम्पर्क गरिरहेको उनले जनाए । पुस्तकालयमा ५० हजारभन्दा बढी पुस्तक, ऐतिहासिक सामग्री, पाण्डुलिपि, तस्बिर र जनावरको अखेटोपहारसमेत छन् । विकास समितिले व्यापारीकरण नभएर पुस्तकालयको समेत स्तरवृद्धि गर्ने योजना बनाएको उनले दाबी गरे ।

स्वप्न बगैंचामा छिर्न शुल्क लाग्छ । विकास समितिमा पुस्तकालयलाई गाभे अध्ययनका लागि जान पनि शुल्क लाग्ने अवस्था आउने शिक्षा मन्त्रालयका कर्मचारीहरू बताउँछन् । ‘सरकारलाई दान दिएको पुस्तकालय र जग्गामा व्यापार व्यवसाय सञ्चालन गर्ने र व्यक्तिले लाभ लिने योजना बुनिएको छ,’ केशर पुस्तकालयका एक कर्मचारीले भने, ‘एउटा कुनाबाट पुस्तकालयमा प्रवेश गर्न दिने र केशरमहलको पछाडिको बाटो भएर पाठकहरूलाई बाहिर निस्कने बाटो दिने भनिएको छ, मुनाफा हुने बगैंचालाई नै प्राथमिकता दिएर गुरुयोजना बनाइएको छ, यसरी त पुस्तकालयको मर्म नै मर्छ ।’

प्रकाशित : चैत्र ८, २०७७ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?