कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री हैन, पार्टी बनाउन लागौं : देउवा

सर्तमा बाँधिएर सरकारमा जान हुँदैन : प्रकाशशरण महत
रमेशकुमार पौडेल

चितवन — कांग्रेस सभापति शेरबहादुर देउवाले डेढ–दुई वर्षमै चुनाव हुने अवस्था रहेकाले अब प्रधानमन्त्रीभन्दा पार्टी बलियो बनाउनेतर्फ लाग्नुपर्ने बताएका छन् । अदालतले एमाले र माओवादी केन्द्र ब्युँत्याए पनि माओवादी केन्द्रले सरकारलाई समर्थन फिर्ता नलिएकाले अहिलेको सरकारसँग बहुमत रहेको उनले बताए ।

प्रधानमन्त्री हैन, पार्टी बनाउन लागौं : देउवा

‘चुनाव जहिले पनि आउन सक्छ । पार्टी एक बनाए बहुमत आउन सक्छ,’ चितवनको रत्ननगरमा पार्टीको तरुण विभागले शनिबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘यस्तो बेला पनि शेरबहादुर प्रधानमन्त्री किन बनेन भन्छन् !’

सभापति देउवाले पार्टीभित्र झगडा हुनु ठूलो कुरा नभएको बताए । ‘एमालेमा झगडा छ । ओली र माधवमा झगडा छ । त्यो अस्वाभाविक हैन नि ! झगडा त हाम्रो पार्टीमा पनि छ । फेरि मधेसवादीमा पनि झगडा छ । अहिले नै झगडा गर्नेहरुले पछि झन् किन नगर्लान् ? त्यसैले प्रधानमन्त्री बन्ने भनेर फँस्ने कुरा हुँदैन,’ देउवाले भने ।

उनले प्रधानमन्त्री केपी ओली र माधवकुमार नेपालको सम्बन्ध, माओवादी र एमालेको सम्बन्ध र जनता समाजवादी पार्टीको भूमिका हेरेर विचार गर्ने बताए । ‘त्यसैले प्रधामनमन्त्री हुन मेरा बाबै गरेर हिँडेको पनि छैन । टाउकोमा आए भाग्ने पनि छैन भनेको हुँ,’ देउवाले पुरानो भनाइ दोहर्‍याए ।

उनले एक डेढ वर्षपछि स्थानीय तहको चुनाव हुने हुँदा त्यता ध्यान दिन कार्यकर्तालाई अनुरोध गरे । ‘अर्ली इलेक्सन’को चर्चा चलेको हुँदा जुनसुकै बेला पनि चुनाव हुनसक्ने सम्भावना रहेको उनले बताए । उनले जनताका घरघर जान नेता कार्यकर्तालाई अपिल गरे ।

‘चुनावमा उठ्ने चाहना राखेको नेता कार्यकर्ता, पार्टी बलियो बनाउन चाहने नेता जनताको दैलोमा दु:ख सुखमा साथ दिन वर्षमा तीन पटक त पुगेको हुनु पर्‍यो नि ! जनताले सेवा गर्नेलाई चुनावमा जिताउँछ । त्यसैले जनताको समर्थन लिन लागौं,’ उनले भने ।

कांग्रेस महामन्त्री प्रकाशशरण महतले माओवादी र मधेसवादीको सर्तमा बाँधिएर कांग्रेस सरकारमा जान नहुने बताए । ‘एमाले र माओवादी अलग भए पनि सांसद संख्या एमालेसँग धेरै छ । हामीले माओवादी र मधेसवादीका सबै सांसदको समर्थन जुटाएर सरकार बनाउनु पर्ने हुन्छ । तर उनीहरुको सेवा सर्तमा बाँधिएर सरकारको नेतृत्व गर्नु हुँदैन । ओलीले अत्याचार नै गरे भनेर निसर्त समर्थन दिन्छन् भने विचार गर्न सकिन्छ,’ महतले भने । उनले अब हुने निर्वाचनमा कांग्रेस एक्लैले बहुमत ल्याउने सम्भावना बढेकाले सजग भएर कदम चाल्नु पर्ने बताए ।

कांग्रेस नेता एनपी साउदले अपवित्र गठबन्धन गरेर सत्तामा गए निर्वाचनमा पार्टीले त्यसको मूल्य चुकाउनु पर्ने खतरा रहेको बताए । कांग्रेसका युवा तरुण विभाग संयोजक शंकर भण्डारीले पार्टीले कम्युनिष्टसँग सहकार्य गर्न नहुने धारणा राखे ।

कांग्रेसको भातृ संगठन नेपाल तरुण दल रहे पनि पार्टीको तरुण विभागले कार्यक्रम राखेको हो । कार्यक्रममा तरुण दललगायतका भातृ संगठनलाई पूर्णता दिएर सक्रिय बनाउन कार्यक्रमका वक्ताहरुले पार्टी नेतृत्वसँग माग गरेका थिए ।

प्रकाशित : चैत्र ७, २०७७ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?