‘बहुत तकलिफ छ सर !’- समाचार - कान्तिपुर समाचार

‘बहुत तकलिफ छ सर !’

पछिल्ला दिन नियमित तलब पाउन छाडेका छन् । कम्पनीले दिएकै कोठामा चार साथीसँग बसेका रामभरोस खानेकुरा अभावमा नुन र भात मात्र खान्छन् । ज्वरो र खोकी लागेपछि बुधबार र बिहीबार दुई दिन काममा गएनन् । भने, ‘कुनै जुगाड लगाइदिनू, नेपाल फर्किनुपर्‍यो ।’
जनकराज सापकोटा

काठमाडौँ — २०७२ चैत अन्तिम साताको कुरा हो । महोत्तरी कलुवाबगियाका रामभरोस खत्वे रात्रिबस चढेर झिसमिसेमै काठमाडौं उत्रिएका थिए । गौशालाको धर्मशालाअघि भेट्दा उनको अनुहारमा निराशाको बाक्लो रङ पोतिएको थियो ।

साउदी अरबमा रामभरोस खत्वे र २०७३ वैशाख ४ मा रामभरोसबारे कान्तिपुरमा प्रकाशित सामग्री

एक लाख १० हजार रुपैयाँ तिरेर ‘लेबर’ काममा कतार पुगेका उनी कम्पनीले गरेको मेडिकल जाँचमा फेल भएपछि फर्किएका थिए । म्यानपावर कम्पनीको स्थानीय एजेन्टले जनकपुरमा गराइदिएको स्वास्थ्य परीक्षणमा कसरी पास भए, कसरी कतारमा गरिएको दोस्रो स्वास्थ्य परीक्षणमा फेल भए, उनले बुझ्न सकेनन् ।

रामभरोसले स्थानीय साहूबाट ३६ प्रतिशत ब्याजदरमा लिएको ऋणको ब्याजमिटर फनफनी घुम्न थालेपछि उनी उजुरबाजुर गर्न काठमाडौं आइपुगेका थिए । उनले पाँच दिन काठमाडौंमा दौडधुप गरे । महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान सुरु गरेपछि उनलाई कतार पठाउने बत्तीसपुतलीस्थित सान म्यानपावर कम्पनी बल्लतल्ल एक लाख फिर्ता गर्न तयार भयो ।

नेपाल सरकारले २०७२ असार २१ गतेदेखि लागू हुने गरी ‘फ्रि भिसा, फ्रि टिकट’ को नीतिगत निर्णय गरेको थियो । खाडीका ६ देश र मलेसियामा रोजगारीमा जाने कामदारसँग व्यवसायीले प्रवेशाज्ञा र हवाई टिकटबापत रकम लिन नपाउने र रोजगारदाता कम्पनीले सेवा तथा प्रवर्द्धन खर्च नबेहोर्ने भनेर स्पष्ट तोकिए व्यवसायीले बढीमा १० हजार रुपैयाँसम्म लिन पाइने निर्णय गरेको थियो । सरकारी निर्णय उल्लंघन गरेको समाचार सार्वजनिक भएपछि पनि म्यानपावर व्यवसायीलाई निगरानी गर्न बसेको सरकारी संयन्त्र श्रम विभागले कुनै कदम चालेन । फसेको रकमको १० हजार कम भए पनि जेनतेन पाएपछि त्यतिबेलाका महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले रामभरोसलाई सोधेका थिए, ‘अब फेरि विदेश नै जाने कि के गर्ने ?’

उनले तनक्क तन्किएर आफ्ना दुवै कान समातेर भनेका थिए, ‘माँ कसम सर अब जाँदैन ।’

रकम बुझेर गाउँ फर्किएका रामभरोसले स्थानीय साहूलाई १० हजार बाँकी राखेर अरू रकम तिरे । सदरमुकाम जलेश्वरमा वर्षौंदेखिको रिक्सा चलाउने काम उनले फेरि सुरु गरे । दुई छोरी र दुई छोराका बाबु रामभरोसको १० धुर जग्गामा बनेको फुसको घरबाहेक सम्पत्ति थिएन ।

***

कतारमा कार्यरत सप्तरी, बोदेरबरसाइनका बालकिसुन मण्डलको शव मृत्यु भएको १८ दिनपछि २०७३ मंसिर ७ मा काठमाडौं आइपुग्यो । बालकिसुनका वृद्ध बाबु र श्रीमती सरो काखे छोरी च्यापेर शव लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएका थिए । म उनीहरूको शववाहनलाई पछ्याउँदै बोदेरबरसाइन पुगेको थिएँ । त्यही क्रममा रामभरोसलाई भेट्न महोत्तरीको जलेश्वर गएँ । दिनमा एक सय १० रुपैयाँ भाडा तिर्ने गरी रामभरोस रिक्सा पेलिरहेका थिए । त्यहाँ एकाध बिजुली रिक्सा र अटो चल्न थालिसकेका थिए । त्यतैतिर संकेत गरेझैं गरेर उनले भनेका थिए, ‘कमाइ नै हुँदैन, कसरी जहान केटाकेटी पाल्ने ?’

२०७३ वैशाख ४ मा रामभरोसबारे कान्तिपुरमा प्रकाशित सामग्री

रामभरोस दुःखमा कसरी फसे र कसरी उम्किए भनेर उनीबारे समाचार लेखेको करिब दुई वर्षसम्म उनीसँग नियमित संवाद हुन्थ्यो । उनले सुखदुःख साट्थे । टोलका कुरा सुनाउँथे । एक दिन अचानक रामभरोस सम्पर्कविहीन भए । उनको फोन लागेन । मलाई मधेस झर्ने समय मिलेन । गत फागुन २१ मा जनकपुर साहित्य महोत्सवको छेको पारेर जनकपुर पुगेका बेला म सोध्दै खोज्दै कलुवाबगियास्थित उनको घरमै पुगें ।

कलुवाबगियाको सानो बजार छिचोलेर धुलौटो बाटो हुँदै दक्षिण लागेपछि आउने पोखरीलाई दायाँ फन्को मारेर अघि बढ्ने सानो बाटो छेउमा बाँसले बारेको उनको घर थियो । रामभरोस घरमा थिएनन् । जेठा छोरा धीरज भने घरमै भेटिए । ६ कक्षामा पढ्ने उनी स्कुल जान छाडेको तीन महिना भएछ । उनले आफ्नै लवजमा सुनाए, ‘बुबा साउदी गएछ ।’ रामभरोस पत्नी भक्तजनले चढाएको बोकाको मासुको प्रसाद खान नजिकैको मन्दिर गएकी थिइन् । धीरजले इमोमा कल गरेर बाबु रामभरोससँग सम्पर्क गराइदिए ।

मैले माटोले लिपेको भित्तामा अडेस लागेर उनीसँग कुरा गरे । उनले एकै सासमा सुनाए, ‘एक लाख दस हजार अर्जेन्टलाई बुझाएर साउदी आएको । ६ महिनादेखि तलब पाएको छैन । बहुत तकलिफ छ ।’

मैले सोधें, ‘तपाईंले त काठमाडौंमा अब कहिल्यै विदेश जान्नँ भन्नुभएथ्यो । किन जानुभयो त ?’

उनले भने, ‘कान्छी छोरी पनि १८/१९ वर्षको भइसकी । त्यसको बिहेमा मोटरसाइकल दाइजो दिनुपर्छ । त्यही दहेजको पैसा कमाउन आएको ।’

रामभरोससँग कुरा गर्दै गर्दा उनका छिमेकी रामफल मण्डलसँग भेट भयो । मैले आफूबारे बताएपछि उनले रामभरोसको कथा लेख्ने पत्रकारका रूपमा मलाई चिने र भने, ‘रामभरोसको कथा मैले साउदीमा बसेर मोबाइलमा पढेथ्यो ।’

समाचार छापिएकाे केही महिनापछि महाेत्तरीका स्थानीय पत्रकार विक्रम राैनियारले रामभराेसकाे घरमै पुगेर खिचेकाे फाेटो

साउदीमा तीन वर्ष काम गरेर फर्केपछि केही समय घर बसेर फेरि मजदुरी गर्न श्रीलंका पुगेका रामफल केही समयअघि मात्रै श्रीलंकाको कोलम्बोबाट फर्केका रहेछन् । उनले त्यहाँ काम गरेको प्रमाण देखाउन स्क्रिन फुटेको पुरानो मोबाइलमा केही फोटो देखाए । कोलम्बोका बहुतले व्यापारिक भवनहरूका अघिल्तिर उभिएको उनको फोटो थियो । उनले पर्सबाट एक डलरको नोट देखाएर सोधे, ‘एउटा कुरा सोधौं ?’

मैले सहमतिको भाव देखाएपछि उनले भने, ‘यो डलर भन्छ । किन कागजको नोटमा छापेछ सर ?’

रामफलले करिब ४५ टोलको खत्वे टोलमा परिवारका कोही न कोही सदस्य विदेश नगएको घर एकाध मात्रै रहेको सुनाए । रामभरोससँगै केही वर्ष रिक्सा हाँकेका रामफलले साथी कर्जामा डुबेको सुनाए । उनले पनि रामभरोसले इमो संवादमा भनेझैं सुनाए, ‘कम्तीमा पनि साढे तीन लाख कर्जामा डुबेछ रामभरोस ।’ रामभरोसले इमो कुराकानीमा आफूले कर्जा लिएका दस जनाको नाम र कर्जा लिएको सबै रकम पाठ घोकेको विद्यार्थीले झैं खरखरी सुनाए । ती सबैसँग लिएको साँवा रकम मात्रै करिब तीन लाख हाराहारी थियो । जसको ब्याज पनि जोड्दा रामफलले भनेझैं साढे तीन लाख कट्ने देखिन्थ्यो ।

रामफललाई मैले ‘साउदीमा ३ वर्ष र श्रीलंकामा २ वर्ष काम गरेर कमाएको पैसाले के गर्नुभयो ?’ भनेर सोधे । उनले उता कमाएको पैसा विदेश जाँदा लागेको कर्जा तिरेको र बाँकी रकम छोरीको बिहेमा दहेजमा खर्च गरेको सुनाए । उनले भने, ‘ठूली छोरीको बिहे गर्दा लागेको करिब ५० हजार कर्जा तिर्न अझै सदाएका छैन ।’

रामभराेसका छिमेकी रामफल मण्डल श्रीलंकामा मजदुरी गरेर कमाएकाे डलर देखाउँदै

उनले गाउँका सबैजसो तन्नेरी विदेश गएको तर पैसा बचाउन पटक्कै नसकेको सुनाए । किन त ? उनले भने, ‘कर्जाको ब्याज सदाउँदा–सदाउँदै पैसा गइहाल्छ । कोहीले छोरीको बिहेमा धेरै दाइजो दिन्छ । कोहीले रमाइलो गरेर पैसा सक्छ । अनि फेरि कर्जामा डुबिहाल्छ ।’

काठमाडौं फर्केपछि रामभरोससँग इमोबाट नियमित कुराकानी भयो । त्यहींबाट मैले थाहा पाएँ, कतार जाँदा फसेको पैसा उठेपछि रामभरोसले केही महिना जलेश्वरमै रिक्सा चलाएछन् । केही महिना सडक निर्माणमा मजदुरीको काम गरेछन् । एक वर्ष जति भने नजिकैको धान, चामल र चिउरा भुट्ने मिलमा उनले मासिक १५ हजार तलबमा काम गरेछन् ।

साउदी जानुअघि उनले सीमावर्ती भारतीय गाउँ सुरसन्डका केटासँग जेठी छोरीको बिहे गरिदिएछन् । एक लाख १० हजार खर्चेर मोटरसाइकल, ९० हजारको कुर्सी पलङ र ५० हजार भारु नगदै दाइजो दिएछन । बिहेमा सबै गरेर रामभरोसले ७ लाख जति खर्चेछन् ।

उनले सुनाए, ‘दाइजो नदिई त कसैले छोरी नै लिँदैन त के गर्नु ?’

‘१५ हजार तलबको काम छाडेर किन साउदी जानुभएको ?’ मैले सोधें ।

उनले गाउँको कमाइले नुनतेल, दुई छोराको पढाई खर्च, जेठी छोरीको बिहेमा लागेको कर्जाको ब्याज तिर्न पनि गाह्रो भएको सुनाए । उनले भने, ‘जति गरे पनि कर्जा सदाउन नसकिने ! स्कुल नै नटेकेकी कान्छी छोरीको पनि बिहे गर्ने बेला भइसक्यो । अनि त कुनै उपाय भएन ।’

कर्जाको पीरले छटपटिएका बेला उनले छिमेकी गाउँ बखरीका एजेन्टको काम गर्ने भजनी ठाकुरलाई भेटेछन् । भजनीलाई एक लाख १० हजार नगदै हातमा बुझाएर उनी साउदी उडेका रहेछन् ।

कुराकानी सकिएपछि उनले आफू साउदी जाँदाका कागजात पठाइदिए । कागजातअनुसार उनी २०७५ जेठ १२ गते साउदी अरब उडेका रहेछन् । अल मसरियु नामक साउदी कम्पनीको जेद्दास्थित सडक निर्माणको परियोजनामा रामभरोस काम गर्न पुगे । उनलाई मासिक ८ सय साउदी रियाल (करिब २५ हजार रुपैयाँ) र २ सय रियाल खाना खर्च दिने काममा लगाइएको रहेछ । सरकारले फ्रि भिसा फ्रि टिकट भने पनि उनी किन एक लाख दस हजार तिर्न तयार भए ? उनले भने, ‘हामी गाउँको आदमीलाई के थाहा ? अर्जेन्टले त्यति पैसा नतिरी जान मिल्दैन भनेपछि के गर्नु त ?’ उनले म्यानपावरका स्थानीय एजेन्टलाई अर्जेन्ट भनेका थिए ।

रामभरोसका अनुसार कम्पनीले उनलाई निर्माण क्षेत्रमा ट्वाइलेटको पानी ढलमा निकास गर्नका लागि खाल्डो खन्ने, पाइप फिट गर्ने र पिच गर्ने काम लगाएको छ । कामको सुरुवाती दिनमा कम्पनीले तलब दिए पनि पछिल्ला दिनमा उनले नियमित तलब पाउन छाडेको बताए । कम्पनीले दिएकै कोठामा अन्य चार कामदार साथीसँग बसेका रामभरोसले केही सातायता खानेकुराको अभावमा नुन र भात मात्रै खाइरहेको सुनाए । ‘बहुत तकलिफ छ सर !’ उनले भने ।

ज्वरो र खोकी आएपछि बुधबार र बिहीबार उनी दुई दिन काममा गएनन् । उनले भने, ‘कुनै जुगाड लगाइदिनु मलाई । नेपाल फर्किनुपर्‍यो ।’

रामभरोससँगै बस्ने केही साथी भने बेला–बेला स्थानीय साउदीको घरमा गएर लुकीछिपी काम गरेर केही पैसा जम्मा गर्दा रहेछन् । रामभरोससँगै काम गर्ने एकले कान्तिपुरसँग भने, ‘लुकीछिपी काम गरेको पैसाले नुन–चामल किनेर खाइरहेका छौं ।’

बाबु रामभराेसँग इमाेमा कुराकानी गर्दै जेठो छाेरा

रामभरोसका अनुसार मदिना छेउको अलहमद भन्ने ठाउँमा काम सुरु गरेपछि कम्पनीले पहिलो तलब नै तीन महिना बितेपछि दियो । त्यसपछि पनि उनीहरूले समयमै तलब पाएनन् । रामभरोसले भने, ‘कोरोनाकालभरि पनि काम लगाए । तर तलब दिएनन् ।’

सिरहाको लहान घर भएका रामभरोसका सहकर्मी स्वराज ठाकुर दनुवारको कथा पनि उनकै जस्तो रहेछ । नेपालमा स्वास्थ्य परीक्षण पास भइवरी एक लाख ५ हजार तिरेर मलेसिया पुगे पनि दोस्रो स्वास्थ्य परीक्षणमा फेल भएपछि तीन महिनामै उनी नेपाल फर्किएका रहेछन् । नेपाल फर्किएको तीन महिनापछि उनी गोलबजारकै एक एजेन्ट विनोद राईलाई ५५ हजार र काठमाडौंको लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस नामक म्यानपावरलाई ४५ हजार बुझाएर साउदी उडेका रहेछन् ।

कम्पनीले नियमितजसो काममा लगाए पनि तलब दिन आनाकानी गरिरहेको उनले सुनाए । ‘तलब कहिले आउँछ भनेर सोध्यो भने भोलि भन्छ । तर म्यानेजरले भनेको भोलि कहिल्यै आउन्न,’ २२ वर्षीय उनले भने । उनका अनुसार कम्पनीको उक्त साइटमा करिब ३५ नेपाली, केही पाकिस्तानी र भारतीय कामदार कार्यरत छन् । उनले भने, ‘अरू देशका कामदारले पनि तलब पाइरहेका छैनन् ।’

रामभरोसले शुक्रबारको कुराकानीमा आफूहरू चामल र नुनको भरमा कतिन्जेल बाँच्ने भन्ने टुंगो नभएको बताए । ‘दिनको एक छाक भातको भरमा बाँचिरहेका छौं,’

उनले भने, ‘दुई छाक नै खान त कहाँ पुग्छ ?’ उनले दिनभर भोलि के खाने होला भन्ने चिन्तामा आफू बाँचिरहेको बताए ।

काम गरेर पनि तलब नपाउँदा र आफू खाइनखाई बसेको थाहा पाएर घरमा श्रीमती पनि रोइरहेको सुनाउँदै उनले घरमा फोन गरेर सम्झाइदिन आग्रह गरे । ४६ वर्षीय उनले उदासी मिसिएको स्वरमा भने, ‘अहिले एक पटकलाई मेरो समस्या हल गरिदिनुस् । म अब कहिल्यै विदेश आउँदिनँ । अब त म बूढो पनि भइसकें । छोरीको सादी गर्ने चिन्ता मात्रै नभएको भए कस्सम आउँन्थेन ।’

प्रकाशित : चैत्र ७, २०७७ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्

चन्द समूहले गराएको विस्फोटमा घाइते छोटु भन्छन्- ‘गरिखानेको जिन्दगी बर्बाद बनाए’

राजनीतिसँग सरोकार नराख्ने छोटुको सैलुनमा विस्फोट गराउने चन्द समूह सरकारसँग वार्ता गरीवरी नयाँ राजनीतिक यात्रामा निस्किसकेको छ । संयोगले बाँचेका छोटु भने थलिएको जीउ बोकेर अदालत र अस्पताल धाउन बाध्य छन् ।
जनकराज सापकोटा

काठमाडौँ — गौशालाछेउको आनन्दलोक लजमा जीवकुमार ठाकुर ‘छोटु’ बस्न थालेको ६ महिनाभन्दा बढी भइसक्यो । २०७६ जेठ १२ गतेको घटना नभएको भए उनी सायदै भाडाको लजमा बस्नुपर्थ्यो । त्यो दिन काठमाडौंको शान्तिनगरस्थित एक डेरामा र सुकेधारास्थित छोटु ठाकुरको सैलुनमा नेत्रविक्रम चन्द नेतृत्वको समूहले ठूलो विस्फोट गराएको थियो ।

यिनै चन्दले गत बिहीबार सरकारसँग तीनबुँदे सहमति गरेर शान्तिपूर्ण राजनीति बाटो तय गरे । उनकै समूहले गराएको विस्फोटमा परेपछि राजनीतिसँग कुनै साइनो नभएका छोटु ठाकुरको जिन्दगी भने दुःखको खाडलमा जाकियो ।

बिहीबार लजमा पुग्दा छोटु पेट दोब्राएझैं गरी मलिन अनुहार पारेर बसिरहेका थिए । रातभर पखाला चलेपछि थकित बनेका उनले आफ्नो सैलुनमा विस्फोट गराउने चन्द समूहले सरकारसँग वार्ता गरेको खबर पनि पाएका रहेनछन् ।

विस्फोटपछि दायाँ करङ, दायाँ खुट्टाको गोलीगाँठो र दाहिने हातको कुहिनामा गम्भीर चोट लागेका छोटु उपचारका क्रममा चार महिना ट्रमा सेन्टर बसे । जेनतेन उभिन सक्ने भएपछि डिस्चार्ज त भए तर प्रहरीको नियमित निगरानीमा रहेका उनलाई राज्य विप्लवको अभियोगमा प्रहरीले पक्राउ गर्‍यो । महानगरीय प्रहरी वृत्त महाराजगन्जमा १४ दिन थुनामा बसेपछि उनी साधारण तारिखमा छुटे ।

सैलुनको कमाइको भरमा गरिखाने छोटु त्यतिन्जेलसम्म सडकमा आइपुगिसकेका थिए । उपचारको ऋण पनि उनको थाप्लोमा परिसकेको थियो । ‘बीचमा प्लाईले बारेर सैलुनभित्रै सुत्थें । विस्फोटपछि सबै सामान कता पुग्यो पुग्यो,’ उनले सुनाए, ‘त्यसपछि त रात कटाउने ठाउँ पनि खोज्दै हिँड्नुपर्‍यो ।’ करिब ८ लाख रुपैयाँ खर्चिएर तयार पारेको सैलुनको संरचना र सामान चार महिना अस्पताल बसेर फर्किंदा केही पनि बाँकी नरहेको उनको भनाइ छ । ‘ऐना र र्‍याक त विस्फोटमा तोडफोड भयो । तर घुम्ने कुर्सी र अरू सामान क–कसले लग्यो मैले थाहा पाइनँ,’ उनले भने ।

अस्पतालबाट निस्केपछि पक्राउ परेका छोटुको चन्द समूहसँग सम्पर्क र सम्बन्ध भएको आशंकामा प्रहरीले उनको कल डिटेल संकलनदेखि निकट सम्पर्कमा रहेकासँग बयानसमेत लिएको थियो । त्यतिबेला उनीसहित पक्राउ परेकामाथि महानगरीय प्रहरी कार्यालय र महानगरीय प्रहरी वृत्त महाराजगन्जले समेत छुट्टाछुट्टै अनुसन्धान गरेको थियो । महानगरीय प्रहरी कार्यालयमा रहेर घटनाको अनुसन्धानमा रहेका एक प्रहरी अधिकारीले छोटुको कुनै राजनीतिक संलग्नता नदेखिएको पुष्टि भएको कान्तिपुरलाई बताए । ‘कल डिटेल र बयानबाट मात्रै होइन, पक्राउ परेका विप्लवकै अन्य कार्यकर्ताले पनि उनलाई नचिनेको देखियो,’ उनले भने, ‘बम बोकेर कतै जाँदै गर्दा कार्यकर्ताहरू सैलुन छिरेका बेला विस्फोट भएको रहेछ ।’

महाराजगन्जबाट छुटेपछि छोटु कहिले आश्रममा त कहिले नाई संगठनको अफिसमा सुते । अनेकतिर भौतारिएपछि गौशालाको आनन्दलोक लज पुगे, रातको एक सय तिर्नेगरी । कोरोना संक्रमणका बेला केही महिना महोत्तरीस्थित गाउँ फर्किएका उनी दुई महिनायता आनन्दलोकमै आइपुगेका छन् । उनले भने, ‘नियमित उपचार गराउन र केही काम पाइएला कि भनेर लजमा बस्न थालेको हुँ ।’ यतिबेला छोटुलाई अरू कुराको भन्दा प्रहरीले बरामद गरेर अदालतमा बुझाएको पैसा र सरसामानको चिन्ता छ ।

घटनाको दिन उनी सदाझैं काममा जुटेका थिए । बिहानैदेखि कपाल काट्नेको भीड थियो । आठ वर्षको उमेरदेखि कपाल काट्ने पेसामा लागेका ५० वर्षीय छोटुले दिउँसो ३ बजेतिर मात्रै खान खाने फुर्सद पाएका थिए । खाना खाएर फर्किंदा उनले सैलुनमा तीन जना केटा देखे । उनी भित्रमात्रै के छिरेका थिए, कानको जाली फुट्ने गरी विस्फोटको आवाज आयो । एकैछिनमा उनी उछिट्टिएर सैलुनबाहिर पुगे । त्यसपछि उनी बेहोस भए । दुई जनाको घटनास्थलमै र दुई जनाको चाबहिलको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।

विस्फोटको दिनसम्म पनि छोटुलाई चन्द समूहबारे थाहा थिएन । राजनीतिमा सामान्य पनि चासो नराख्ने उनी सैलुनको कमाइले काठमाडौंमै रहेकी छोरीको खर्च र घरमा रहेका छोरा र श्रीमतीको व्यवहार चलाइरहेका थिए । आफू घाइते भएपछि उनले अनेकतिर ऋणधन गरेर उपचार खर्च जुटाए । स्वास्थ्य मन्त्रालयले उपचारमा सहुलियत दिए पनि अनेक परीक्षण र औषधिको खर्चले ऋणमा डुबे । ‘८ लाखको सैलुन माटोमा मिल्यो,’ उनी भन्छन्, ‘उपचार र खाँदा बस्दा ४/५ लाख ऋण पुग्यो ।’

विस्फोटपछि प्रहरीले आफ्नो मोबाइल, १५/१६ हजार नगद, नातिनीलाई किनिदिएको सुनको नथिया प्रहरीले प्रमाण हुन सक्ने भन्दै जफत गरेको उनले बताए । प्रहरीले उक्त सामान काठमाडौं जिल्ला अदालतमा बुझाएको उनले सुनेका थिए । आइतबार जिल्ला अदालतको २ नम्बर फाँटमा पुगेर फर्केपछि उनले भने, ‘१५/१६ चोटि अदालत धाइसकें । मेरो सामान कहिले दिने हुन् ?’

काठमाडौंका दुई ठाउँमा ज्यानै जाने गरी भएको विस्फोटपछि गत वर्षको असोजमा प्रहरीले काठमाडौं जिल्ला अदालतमा राजद्रोहको आरोपमा संगठित आपराधिक समूहमा आबद्ध भई विस्फोटक पदार्थसम्बन्धी कसुर गरेको अभियोगमा इमान सिंह भन्ने नेत्रविक्रम चन्द (विप्लव), काठमाडौंका माइला लामा, हरिबहादुर खड्का, सुरेन्द्र महर्जन, भीमढुंगाका माइला लामालाई प्रतिवादी बनाएर अदालतमा अभियोग पेस गरेको थियो । अदालतका अनुसार उक्त मुद्दा अहिले पनि विचाराधीन अवस्थामा छ । प्रतिवादीका रूपमा छोटुको नाम नभए पनि विस्फोटपछि बरामद सामानलाई प्रहरीले दसी प्रमाणका रूपमा अदालतमा पेस गरेको बुझिन्छ । छोटुले सुनाए, ‘म काम गरिखानेको जिन्दगी पनि बर्बाद बनाए । मेरो सामान फिर्ता पनि दिँदैनन् । किन हो मैले बुझेको छैन ।’

उपचारपछि उनको हातमा डाक्टरहरूले स्टिल राखिदिएका छन् । सजिलोसँग हात चल्न अझै ५/७ महिना लाग्छ । उनले भने, ‘प्रहरीले लगेको पैसा र अरू सामान दिए पनि मलाई औषधि किनेर खान हुन्थ्यो । हातमात्रै राम्रोसँग चल्ने भए काम गरेर खान सक्थें । अहिले त मागेर खानुपर्ने हालतमा पुगेको छु ।’ गत चैतमा उनलाई गृह मन्त्रालयले २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिएको थियो । सबै औषधि उपचार गर्दा लागेको ऋण तिर्दैमा सकियो । ‘२० महिनाभन्दा बढी भइसक्यो । अरूसँग सापट मागेर खाइरहेको छु,’ उनले भने ।

राजनीतिसँग सरोकार नराख्ने छोटुको सैलुनमा विस्फोट गराउने चन्द समूह सरकारसँग वार्ता गरीवरी नयाँ राजनीतिक यात्रामा निस्किसकेको छ । उसका नेता–कार्यकर्ता थुनामुक्त भइरहेका छन् । तर गरिखाने छोटु भने विस्फोटपछि थलिएको जीउ बोकेर अदालत र अस्पतालमा धाउन बाध्य छन् । उनी भन्छन्, ‘अरू मलाई केही पत्ता छैन । मेरो हातमात्रै चल्थ्यो भने दुनियाँसँग हात पसारेर खानु पर्थेन ।’

प्रकाशित : फाल्गुन २६, २०७७ ०९:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×