जसपा बैठक होलीसम्म स्थगित

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) ले बिहीबार बोलाएको केन्द्रीय कार्यकारिणी बैठक पार्टी समायोजनका लागि गृहकार्य नपुगेको भन्दै स्थगित गरेको छ । गत वैशाखमा राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टीबीच एकीकरण भए पनि दुई पार्टीका संगठन समायोजन गरिएको छैन ।

जसपा बैठक होलीसम्म स्थगित

केन्द्रीय कार्यकारिणी समितिका सदस्य केशव झाका अनुसार पूर्वराजपा पक्षले गृहकार्य गर्नका लागि केही दिन लाग्ने बताएपछि बैठक स्थगित गरिएको हो । बैठक स्थगित भएलगत्तै राजपा समूहले बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा बैठक राखेको थियो ।

बैठकमा संगठन समायोजनका लागि आफ्नोतर्फबाट गृहकार्य गर्न ६ सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा जितेन्द्र सोनल, मनीष सुमन, केशव झा, सुनील रोहित, रमेश यादव र सञ्जय यादव छन् ।

कार्यदलले पार्टीको केन्द्रदेखि तल्ला तहका सबै समितिमा समायोजनका लागि तयारी गर्नेछ ।

‘पूर्वसमाजवादीका तर्फबाट सबै तयारी थियो तर पूर्वराजपाबाट तयारी नभएका कारण आजको बैठक स्थगित गर्नुपरेको हो,’ झाले भने, ‘अर्को बैठक होलीलगत्तै बस्नेछ ।’ पूर्वराजपा समूहको बैठकमा सत्तासमीकरणका विषयमा समेत छलफल भएको थियो । छलफलमा अहिलेसम्म प्रगतिका बारेमा जानकारी गराइएको थियो । राजपा पक्षका नेताहरूले आफूहरूले उठाएका मुद्दा सम्बोधन गर्नेलाई नै सत्ता समीकरणमा समेत सहयोग गर्ने निष्कर्ष निकालेको छ ।

कांग्रेसले प्रस्ट धारणा अघि नबढाएको, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा जसपाले मुद्दा छाडेर सत्ता समीकरणका लागि मात्रै निर्णय गर्न नहुने धारणा पूर्वराजपा पक्षका नेताहरूको छ । उनीहरूले रेशम चौधरीलगायत मधेस, थरुहट आन्दोलनक्रममा पक्राउ परेका नेता–कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायत विषय सम्बोधन हुनुपर्ने माग गरेका छन् ।

प्रकाशित : चैत्र ६, २०७७ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?