रहेनन् अशोक कोइराला
विराटनगर — नेपाली कांग्रेस मोरङका पुराना नेता अशोक कोइरालाको बुधबार राति निधन भएको छ । निमोनियाबाट पीडित कोइरालाको उपचारका क्रममा विराटनरको न्यूरो अस्पतालमा मृत्यु भएको हो ।
७७ वर्षीय कोइराला मोरङ कांग्रेसको १९ वर्ष सभापति थिए । उनी प्रजातन्त्र पुनःस्थापनापछि तत्कालीन विराटनगर उपमहानगरपालिकाका पहिला मेयर पनि हुन । उनी राष्ट्रिय सभा सदस्य र संविधान सभा सदस्य पनि भएका थिए । उनी हाल कांग्रेस महासमिति सदस्य थिए ।
पूर्वप्रधानमन्त्री तथा सभापति स्व. सुशिल कोइरालाका सहोदर भाई अशोक नेपाल विद्यार्थी संघका संस्थापक सदस्यमध्येका एक हुन् । शेरबहादुर देउवा नेपाल विद्यार्थी संघका अध्यक्ष हुँदा कोइराला उपाध्यक्ष भएको उनलाई नजिकबाट चिन्ने मोरङ कांग्रेसका अर्का नेता विश्वनाथ रिजालले जानकारी दिए । रिजालका अनुसार अशोक रामचन्द्र पौडेल र देउवाका दौंतरी हुन् ।
उनका एक छोरा र एक छोरी छन् । उनको बिहीबार स्थानीय सिंघीया घाटमा अन्त्येष्टी गरिने परिवार जनले जनाएको छ ।
प्रकाशित : चैत्र ५, २०७७ ०८:०५