कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

नरभक्षी बाघ चिन्नै गाह्रो !

कमल पन्थी

बर्दिया — गत असारमा मधुवन नगरपालिका–३ भगरैयामा पाटेबाघले आक्रमण गर्दा १३ वर्षीय विशाल वलीको मृत्यु भयो । चार जनाले भागेर ज्यान जोगाए । त्यसयता उक्त जैविक मार्गका विभिन्न स्थानमा बाघको आक्रमणबाट ६ जनाको ज्यान गइसकेको छ । २ जना घाइते छन् ।

नरभक्षी बाघ चिन्नै गाह्रो !

बाघले खोर/गोठबाटै एक दर्जनभन्दा बढी गाई, गोरु र बाख्रा खाएको छ । बाघले मानिस र घरपालुवा जनावर खान थालेपछि स्थानीय त्रस्त बनेका छन् ।

मधुवनको खाता जैविक मार्गमा पाँच महिनामा करिब ५० वटा बाघ ओहोरदोहोर गरेको खाता समन्वय समितिको अनुमान छ । बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको सीमावर्ती कतरनियाघाट वन्यजन्तु आरक्ष जोड्ने यस मार्गमा बाघको आनीबानी नै परिवर्तन भएको समितिका अध्यक्ष बलिराम थारूले बताए । ‘५० वटाभन्दा बढी बाघ ओहोरदोहोर गर्छन्,’ उनले भने, ‘कुन बाघ नरभक्षी हो भन्ने पहिचान हुनै पाएको छैन ।’

बाघले गत असार महिनाअघि मानिसलाई आक्रमण गरे पनि यस क्षेत्रमा ज्यान भने लिएको थिएन । नरभक्षी बाघको पहिचान नभए संरक्षण गर्न नसकिने समन्वय समितिका अध्यक्ष थारूले बताए । ‘सबै बाघ नरभक्षी होइनन्,’ उनले भने, ‘यसको पहिचानका लागि सरकारले विशेषज्ञ टोली यहाँ पठाउन ढिला गर्नु भएन ।’

बाघले केही महिनायता बढी क्षति किन गरिरहेको छ भन्नेबारे गहन अध्ययन गरी नरभक्षी बाघलाई नियन्त्रणमा लिनुपर्ने खाता जैविक मार्गअन्तर्गत रहेको सम्झना सामुदायिक वनका सचिव सनतकुमार शाहले बताए । वनमा खुट्टामा चोट लागेको बाघ पनि खोच्याउँदै ओहोरदोहोर गर्ने गरेको स्थानीय बताउँछन् । ‘खोच्याएको बाघ खतरनाक भएकाले मानिस र पशुलाई आक्रमण गर्ने गरेको अनुमान छ,’ स्थानीय भागीराम थारूले भने । क्यामेरामा फरक फरक बाघ कैद हुने गरेका कारण पनि नरभक्षी बाघको पहिचान गर्न समस्या भएको जिल्ला वन अधिकृत महेन्द्र वाग्लेले बताए ।

सामुदायिक वन महासंघका केन्द्रीय सदस्य मोहम्मद कर खान संरक्षणका नाममा मानव र बस्तीलाई क्षति पुर्‍याउने काम नरोकिँदा दुर्घटना बढेको दाबी गर्छन् । ‘मानव र बस्तीको सुरक्षा गरिएन भने आन्दोलनमा उत्रिन बाध्य हुनेछौं,’ उनले भने । एक दशक अघिसम्म खाता जैविक मार्गमा घना जंगल थिएन । स्थानीयले वृक्षरोपण र तारबार गरेर वन हुर्काए । अहिले बस्ती आसपास जंगल बढेको छ । वन बाक्लो भएपछि वन्यजन्तु बस्तीमा आउन थालेको खाताका बासिन्दा वीरबहादुर वंशीमगरले बताए । खाता जैविक मार्ग साँघुरो भएकाले नजिक आएका वन्यजन्तु पनि नदेखिने उनी बताउँछन् ।

पैदल अवलोकनमा रोक

बर्दिया राष्ट्रिय निकुञ्जले बुधबारदेखि पर्यटकलाई पैदल अवलोकन (जंगल वाक) मा रोक लगाएको छ । ठाकुरबाबा नगरपालिका–७ मोहनापुरकी ६२ वर्षीया डल्ली रावतलाई मंगलबार निकुञ्जभित्र बाघले आक्रमण गरी मारेपछि अनिश्चितकालका लागि जंगल वाकमा रोक लगाइएको निकुञ्जले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले पथप्रदर्शकले निकुञ्ज अवलोकन गर्न पर्यटकलाई पैदल लैजाँदा अप्रिय घटना हुन सक्ने भन्दै अनिश्चितकालका लागि जंगल वाकमा रोक लगाइएको बताए तर जिप सफारीमा रोक लगाइएको छैन । १/२ जना पथप्रदर्शकका भरमा निकुञ्ज अवलोकन गर्ने पर्यटक हुन्छन् । केही पथप्रदर्शकले झाडी भएका ठाउँबाट बाघलगायत वन्यजन्तु देखाउन लैजाने गरेकाले जोखिम हुने गरेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए ।

प्रकाशित : चैत्र ५, २०७७ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?