कांग्रेस नेता जोशीको अवस्था गम्भीर- समाचार - कान्तिपुर समाचार

कांग्रेस नेता जोशीको अवस्था गम्भीर

कान्तिपुर संवाददाता

काठमाडौँ — मस्तिष्क घात भई नर्भिक अस्पतालमा उपचाररत कांग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था थप गम्भीर बनेको छ । 

हाल उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले बुधबार बिहान प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

फागुन १४ गते अस्पताल भर्ना भएका नेता जोशीको स्वास्थ्यमा केही दिनको उपचारपछि सुधार आएको थियो । तर अवस्था पुन: बिग्रिएपछि उनलाई भेन्टिलेटरको पूर्ण सपोर्टमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

प्रकाशित : चैत्र ४, २०७७ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्

एकतर्फी तटबन्ध बनाउन नदेऊ

सम्पादकीय

नेपालले काम रोक्न गरेको पत्राचारलाई बेवास्ता गर्दै भारतले महाकाली नदीको बहाव नै परिवर्तन गरेर दार्चुला सदरमुकाम पारिपट्टि एकतर्फी रूपमा तटबन्ध निर्माण जारी राख्नु आपत्तिजनक छ । यसबाट सीमा नदीमा दुवै देशको सहमतिबेगर संरचना निर्माण गर्न नपाइने अन्तर्राष्ट्रिय कानुनको सरासर उल्लंघन भएको छ । यसले नेपालप्रति भारतले हमेसा देखाउँदै आएको हेपाहा प्रवृत्ति पनि पुनः उजागर गरेको छ ।

अन्तर्राष्ट्रिय अभ्यासविपरीत नेपाली पक्षसँग समन्वय नगरी काम गर्ने अनि पत्राचार गर्दा पनि अटेर गरिरहने यस्तो शैलीका कारण दुई देशबीचको सम्बन्धमा अनावश्यक तिक्तता र संशय कायम रहिरहन्छ । तसर्थ, अन्तर्राष्ट्रिय नियमको ख्याल राख्दै भारतले यो बलमिचाइँ तुरुन्त रोक्नुपर्छ । र, नेपाली भूमिमा बाढी पसाउन सक्ने यस कार्यबाट नयाँदिल्लीलाई पछि हटाउन नेपाल सरकारले आवश्यक कूटनीतिक अग्रसरता देखाउनुपर्छ ।

भारतले महाकालीको धार बदलिने गरी गत पुसमै तटबन्ध बनाउन थालेको हो । जिल्ला प्रशासन कार्यालय, दार्चुला र परराष्ट्र मन्त्रालयले उक्त कार्य रोक्न पत्राचार गरेको भए पनि भारतीय पक्षले १२० मिटर तटबन्ध बनाइसकेको छ । थप २०–२५ मिटरमा जग राखिरहेको छ । यसै पनि, २०७० सालमा बाढी आउँदा नदीले धार परिवर्तन गरेपछि नेपालको भूभाग भारततिर गएको छ । नदी किनारमा स्थानीय नेपालीले खेल्ने पूरै भाग अहिले नदीपारि गइसकेको छ । नेपालको भू–संरक्षण कार्यालय र त्यसको वरपट्टिको भाग नदीपारि सरेको छ । र, त्यतिबेला बाढी गएपछि देशबीचको सहमतिअनुसार नेपालतर्फ महाकाली किनारको धेरै भाग नदीछेउबाट छाडेर संरचना निर्माण भएका छन् । भारतले भने नदीको बहावै अवरुद्ध हुने गरी अनधिकृत रूपमा छेउमै तटबन्ध बनाएर अन्तर्राष्ट्रिय कानुन र आपसी सहमति दुवै मिच्नु अन्यायपूर्ण छ ।

भारतले करिब २५–३० मिटर वरसम्मको नेपाली भूभागमा तटबन्ध निर्माण गरेको अनुमान गरिएको छ । महाकालीको धार नै नेपालतर्फ फर्काएर यो संरचना निर्माण गरिएकाले बर्खामा बाढी र कटानको जोखिम बढेको छ । यसबाट नेपालतर्फ तटबन्ध सुरक्षाका लागि बनाइएको संरचनामा पनि क्षति पुग्ने सक्ने विज्ञहरूको आकलन छ । विगतमा पनि भारतले नदीको धार परिवर्तन हुने गरी संरचना राखेकैले सदरमुकाम क्षेत्रमा नेपालतिर बढी क्षति भएको नेपाली अधिकारीहरूको बुझाइ छ । यसरी तटबन्ध निर्माण गर्दा नेपाली भूमि पनि अतिक्रमण हुन जाने भएकाले भारत यसप्रति सचेत रहनुपर्छ । बाढीले धार परिवर्तन गरेको सीमा नदी मिचेर आफूखुसी संरचना बनाएर मिचाहा प्रवृत्ति प्रदर्शन गर्नु हुँदैन ।

अन्तर्राष्ट्रिय सन्धि–सम्झौताअनुसार सीमा क्षेत्रका नदीको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एकअर्काको सहमतिबेगर भौतिक संरचना निर्माण गर्न पाइँदैन । नेपाल–भारतबीच नै पनि यसअघि आफूखुसी तटबन्ध नबनाउने सहमति भइसकेको छ । तैपनि अन्तर्राष्ट्रिय कानुन र आपसी सहमतिको धज्जी उडाउँदै भारतले नदीको बहाव नै नेपालतर्फ फर्काएर तटबन्ध बनाएर गैरकूटनीतिक आचरण प्रस्तुत गरेको छ । दुई देशबीच अन्तर्राष्ट्रिय सीमा नदीको वारिपारि नेपाल–भारत सर्भे टोलीले निर्धारण गरेको बिन्दुलाई आधार मानेर सीमामा संरचना निर्माण गर्ने सहमति भइसकेकाले भारतले त्यसको पूर्णपालना गर्नुपर्छ ।

भारतले विशुद्ध आफ्नो स्वार्थका खातिर छिमेकी मुलुकलाई मार पर्ने गरी गैरकानुनी कार्य गर्नु हुँदैन । नयाँदिल्ली जिम्मेवार हुने हो भने यो नसुल्झिने तथा कुनै द्विविधा रहेको मामिला होइन । यसबारे एकातिर अन्तर्राष्ट्रिय सन्धि–सम्झौताले बोलेका छन् भने अर्कोतिर स्थानीय सीमाविन्दुदेखि संरचना निर्माणका विषयमा विगतमा नेपाल–भारतबीच सहमति पनि भएको छ । तर पनि त्यसलाई नटेरी भारत अघि बढिरहनु चिन्तालाग्दो पक्ष हो । यस्तो एकपक्षीय कदमबाट दुई देशबीचको सम्बन्धमा व्यर्थ दरारमात्र पैदा हुँदैन, नेपालतर्फका सीमाञ्चलवासी सोझै प्रभावित हुने भएकाले जनस्तरको सम्बन्धमा पनि असर पुग्छ । यो तथ्यलाई राम्रैसित बुझेको भारतले एउटा छिमेकीमाथि घरिघरि टिठलाग्दो शक्तिप्रदर्शन गरिरहनु हुँदैन ।

यो मामिलामा भारतले आफ्नो दम्भपूर्ण व्यवहार सच्याउन त जरुरी छँदै छ, यसका लागि हाम्रो परराष्ट्र संयन्त्रले पनि नयाँदिल्लीसित उचित संवाद गर्न सक्नुपर्छ । अहिलेसम्म नेपालले भारतमै गएर कस्तो प्रविधि र मोडलको तटबन्ध निर्माण भइरहेको हो भन्नेबारे समेत बुझ्न सकेको छैन । कतिसम्म भने, भारतले तटबन्ध बनाउन सुरु गरेपछि गत पुस २५–२६ गते नापी विभागको प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर परराष्ट्र मन्त्रालयलाई बुझाएको प्रतिवेदन पनि न सार्वजनिक गरिएको छ, न त त्यसबारे थप कदम चालिएको छ । उल्टो परराष्ट्रका जिम्मेवार अधिकारीहरूले नै यसबारे अनभिज्ञता प्रकट गरेका छन्, जुन आश्चर्यलाग्दो छ ।

नेपालले यस विषयमा केवल औपचारिकता पूरा गर्ने हिसाबले भन्दा पनि ठोस परिणाम हासिल हुने गरी दह्रोसित अडान राख्न सक्नुपर्छ । यसका लागि परराष्ट्र मन्त्रालयदेखि नयाँदिल्लीस्थित नेपाली दूतावाससम्मले आवश्यक ताकेता गरिरहनुपर्छ । भोलि तटबन्धले निम्त्याउने क्षति भोगेपछि त्यसलाई भत्काउन आग्रह गर्नुभन्दा आजै निर्माण कार्य रोक्न लगाउनु बढी सजिलो हुने तथ्यलाई बुझेर सरकार अघि बढ्नुपर्छ ।

प्रकाशित : चैत्र ४, २०७७ ०७:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×