शीतल निवासमा ओलीले भने- सरकार र संसद् नचले फेरि पनि विघटन हुन्छ- समाचार - कान्तिपुर समाचार

शीतल निवासमा ओलीले भने- सरकार र संसद् नचले फेरि पनि विघटन हुन्छ

राष्ट्रपतिले मैले त संविधानको अक्षरअनुसार सरकारले गरेको सिफारिस कार्यान्वयन गर्ने हो, आफ्नो निर्णय गरेको होइन । संविधानको मैले संरक्षण गरेको हो भन्नुभयो : सांसद सुवाल
जयसिंह महरा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र संसद् राम्रोसँग सञ्चालन नभएमा संसद् विघटन गरेर निर्वाचनमा जानु स्वाभाविक रहेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको मंगलबारको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन सही भएको जिकिर गर्दै यस्तो बताएका हुन् ।

सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन घोषणा असंवैधानिक भएको भन्दै फागुन ११ गते पुनःस्थापना गरेको थियो ।

राष्ट्रपति निवास शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा सहभागी नेमकिपा सांसद् प्रेम सुवालका अनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनबारे कुरा उठाएका थिए । 'प्रधानमन्त्रीले बोल्ने क्रममा सरकार र संसद् चल्ने अवस्था नआएपछि विघटन गरेको हो भन्नुभयो । उहाँले संविधानको धारा ७६ र ८५ मा पनि विघटनको व्यवस्था गरिएको छ भन्नुभयो । सरकार र संसद् नचले फेरि पनि विघटन हुन्छ भन्नुभयो । त्यसमा आश्चर्य मान्नुपर्ने कुरा छैन,' सुवालले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने ।

सुवालका अनुसार प्रतिनिधिसभा विघटन गरेर चुनाव जाने आफ्नो निर्णयलाई प्रतिगमन भनिएकोमा पनि असन्तुष्टि जनाएका थिए । 'चुनाव प्रतिगमन कसरी हुन्छ ? अबको डेढ वर्षमा स्थानीय तहको चुनाव हुन्छ र दुई वर्षमा संघ र प्रतिनिधिसभाको हुन्छ, त्यस्तो अवस्थामा चुनाव कसरी प्रतिगमन हुन्छ ? भनेर प्रश्न गर्नुभएको थियो,' सुवालले भने ।

दलका नेताहरूले प्रतिनिधिसभा विघटनमा राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाएपछि राष्ट्रपति भण्डारीले आफूले संविधानको अक्षरशः पालना गरेको जवाफ दिएको सुवालले बताए ।

राष्ट्रपतिको भनाइ उल्लेख गर्दै उनले भने, 'राष्ट्रपतिले मैले त संविधानको अक्षरअनुसार सरकारकाले गरेको सिफारिस कार्यान्वयन गर्ने हो, आफ्नो निर्णय गरेको होइन । संविधानको मैले संरक्षण गरेको हो । त्यसमा अन्य ढंगले बुझ्नु आवश्यक छैन भन्नुभयो ।'

प्रकाशित : चैत्र ३, २०७७ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्

सरकार पुनर्गठन गरी एक वर्षभित्र निर्वाचन गर्नुपर्छ : महामन्त्री खड्का

कान्तिपुर संवाददाता

सुर्खेत — नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले नयाँ सरकार गठनको लागि ३ वटा विकल्प प्रस्तुत गर्दै एक वर्षभित्र देश नयाँ निर्वाचनमा जानुपर्ने बताएका छन् । त्रिशंकु संसद्‌को अवस्थालाई धरै लम्ब्याउन नहुने उनको भनाइ छ ।

मंगलबार सुर्खेतको गुर्भाकोटमा आयोजित कार्यक्रममा महामन्त्री खड्काले नेपाली कांग्रेसको नेतृत्वमा सबै दल सहभागी वृहत संयुक्त सरकार, कांग्रेसकै नेतृत्वमा नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी पार्टी सम्मिलित संयुक्त सरकार वा नेकपा एमाले र संघीय समाजवादी पार्टीको संयुक्त सरकार बन्ने सम्भावना रहेको बताए ।

‘सम्भावनाहरु अनेक भए पनि अहिलेको परिस्थितिलाई सम्हाल्न र देशलाई सही ‘ट्रयाक’ मा ल्याउनको लागि कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ,’ उनले भने, ‘त्यसरी बन्ने सरकारले एक वर्षभित्र नयाँ निर्वाचन गरेर जनतामा छाएको निराशालाई विश्वासमा बदल्नुपर्छ ।’ नेपाली कांग्रेसको लामो अनुभव र परिपक्व इतिहासले त्यो जिम्मेवारी कांग्रेसको काँधमा आइपुगेको उनले बताए ।

महामन्त्री खड्काले कम्युनिस्टहरुको दुईतिहाइको उन्मादले देशमा अस्थिरता निम्तिएको पनि बताए । ‘तत्कालीन नेकपाका जिम्मेवारी नेताहरुले कांग्रेसलाई बत्ति बालेर खोज्नुपर्नेदेखि हाम्रो पार्टी सभापति (शेरबहादुर देउवा) लाई कांग्रेसको अन्तिम प्रधानमन्त्री पनि भन्न भ्याए,’ उनले भने, ‘तर कांग्रेस त्यसबाट उत्तेजित र विचलित भएन, बरु संयमित र अनुशासित भएर संविधानले दिएको जिम्मेवारी निर्वाह गर्‍यो ।’ यही जिम्मेवारीपूर्ण भूमिकाले कांग्रेस राष्ट्रिय राजनीतिको मियो बनेको उनले बताए ।

प्रकाशित : चैत्र ३, २०७७ १८:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×