कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकार पुनर्गठन गरी एक वर्षभित्र निर्वाचन गर्नुपर्छ : महामन्त्री खड्का

सुर्खेत — नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले नयाँ सरकार गठनको लागि ३ वटा विकल्प प्रस्तुत गर्दै एक वर्षभित्र देश नयाँ निर्वाचनमा जानुपर्ने बताएका छन् । त्रिशंकु संसद्‌को अवस्थालाई धरै लम्ब्याउन नहुने उनको भनाइ छ ।

सरकार पुनर्गठन गरी एक वर्षभित्र निर्वाचन गर्नुपर्छ : महामन्त्री खड्का

मंगलबार सुर्खेतको गुर्भाकोटमा आयोजित कार्यक्रममा महामन्त्री खड्काले नेपाली कांग्रेसको नेतृत्वमा सबै दल सहभागी वृहत संयुक्त सरकार, कांग्रेसकै नेतृत्वमा नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी पार्टी सम्मिलित संयुक्त सरकार वा नेकपा एमाले र संघीय समाजवादी पार्टीको संयुक्त सरकार बन्ने सम्भावना रहेको बताए ।

‘सम्भावनाहरु अनेक भए पनि अहिलेको परिस्थितिलाई सम्हाल्न र देशलाई सही ‘ट्रयाक’ मा ल्याउनको लागि कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ,’ उनले भने, ‘त्यसरी बन्ने सरकारले एक वर्षभित्र नयाँ निर्वाचन गरेर जनतामा छाएको निराशालाई विश्वासमा बदल्नुपर्छ ।’ नेपाली कांग्रेसको लामो अनुभव र परिपक्व इतिहासले त्यो जिम्मेवारी कांग्रेसको काँधमा आइपुगेको उनले बताए ।

महामन्त्री खड्काले कम्युनिस्टहरुको दुईतिहाइको उन्मादले देशमा अस्थिरता निम्तिएको पनि बताए । ‘तत्कालीन नेकपाका जिम्मेवारी नेताहरुले कांग्रेसलाई बत्ति बालेर खोज्नुपर्नेदेखि हाम्रो पार्टी सभापति (शेरबहादुर देउवा) लाई कांग्रेसको अन्तिम प्रधानमन्त्री पनि भन्न भ्याए,’ उनले भने, ‘तर कांग्रेस त्यसबाट उत्तेजित र विचलित भएन, बरु संयमित र अनुशासित भएर संविधानले दिएको जिम्मेवारी निर्वाह गर्‍यो ।’ यही जिम्मेवारीपूर्ण भूमिकाले कांग्रेस राष्ट्रिय राजनीतिको मियो बनेको उनले बताए ।

प्रकाशित : चैत्र ३, २०७७ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?