एमालेमा संवाद तर झनै तिक्त

बिनु सुवेदी

काठमाडौँ — सत्तारूढ दल एमालेका नेताहरूबीच संवादहीनता तोडिए पनि आन्तरिक विवाद सहमतितर्फभन्दा विभाजनउन्मुख भएको छ । एमाले पार्टी कार्यालय धुम्बाराहीमा सोमबार अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच भएको संवाद तिक्त बन्यो ।

एमालेमा संवाद तर झनै तिक्त

सहमतिका सूत्रभन्दा आ–आफ्ना अडान पेस गरेर दुवै पक्षका नेताहरूले विभाजनउन्मुख स्थितिलाई यथावत् राखेको छलफलमा सहभागी नेताहरूले बताएका छन् ।

ओलीसँगको छलफल सकारात्मक नभएको ब्रिफिङ गर्दै एमाले वरिष्ठ नेता नेपालले राष्ट्रिय कार्यकर्ता भेला गर्ने पूर्वनिर्धारित कार्यक्रम नरोकिने र त्यसको तयारीमा लाग्न आफू पक्षका केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन् । नेपाल पक्षले चैत ४ र ५ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । नेपाल पक्षीय नेताहरूले कार्यकर्ता भेलाको निर्णय गरेपछि ओलीले मंगलबार बालुवाटारमा केन्द्रीय कमिटी सदस्यहरूका लागि चियापानको कार्यक्रम गरिएको भन्दै सबै नेतालाई म्यासेज पठाएका थिए । तर नेपाल समूहले त्यो पनि बहिष्कार गर्ने बताएपछि ओलीले नेपाललाई भेट्न प्रस्ताव गर्दै सोमबार बिहान फोन गरेका थिए । नेपालले बालुवाटारमा एक्लै नभेट्ने बताएपछि ओली र नेपाल पक्षीय पदाधिकारीका बीच धुम्बाराहीमै संवाद भएको हो ।

छलफलपछि नेता नेपालले बैठकमा विभिन्न विषयमा छलफल भए पनि सकारात्मक हुन नसकेको बताए । ‘सुरुमा कुराकानी मीठो भयो, गुलिया कुराकानी भए, छुट्टिने बेलामा टर्रो भयो, हाम्रो भनाइ सर्वोच्च अदालतको फैसलापछि एमाले २०७५ जेठ २ अघिको अवस्थामा फर्कियो, पार्टीको संरचना यथावत् राखेर सबैले स्वीकार गर्न सकिने अवस्थामा जाऔं भन्ने रह्यो,’ उनले भने, ‘उहाँहरू मान्नुभएन । २८ गतेको उहाँहरूको गुटको भेलाबाट भएको भनिएको निर्णयमा कुरा मिलेन ।’

छलफलमा नेता नेपालले फागुन २८ मा प्रधानमन्त्री निवास बालुवाटारमा ओली पक्षीय नेताहरूले गरेको भनिएको केन्द्रीय कमिटी बैठक र त्यसका निर्णय खारेज गर्नुपर्ने बताएका थिए । त्यसपछि ओलीले त्यो त बैठकको निर्णय हो, फिर्ता हुने कुरा हुँदैन, बरु तपाईंहरू बैठकमा किन आउनुभएन भनेर सोधेका थिए । नेपालले गुटको भेलामा आफूहरूलाई खबर नगरिएको बताएपछि ओलीले ‘ए लौ हो र ? खबर गएनछ ?’ भनेको बैठकमा सहभागी एक नेताले बताए । त्यसपछि ओलीले ७ गतेको केन्द्रीय कमिटी बैठकमा सहभागी भए २८ गतेको निर्णयबारे त्यहीं पुनर्विचार हुन सक्ने बताएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए । ‘आज छलफल भयो, छलफल भयो भन्नेबाहेक अरू केही पनि भएन,’ नेम्वाङले कान्तिपुरसँग भने, ‘पार्टी एकता टुट्नु हुन्न, सबै मिलेर अघि बढ्नुपर्छ । सके त वामपन्थी नै एक हुनुपर्छ भन्ने सबैको कुरा रह्यो तर आ–आफ्नो अडान पनि यथावत् नै रह्यो ।’

२८ गतेको बैठकको निर्णयलाई आगामी केन्द्रीय कमिटी बैठकबाट उल्टाउन पनि सकिने भन्दै पार्टीको विधानबमोजिम बहुमत/अल्पमतको आधारमा निर्णय गरौं भन्ने प्रधानमन्त्रीको प्रस्तावमा सहमति नजुटेको नेता नेम्वाङको भनाइ छ । बैठकमा प्रधानमन्त्री ओलीले नेकपा हुँदाखेरी पार्टीभित्र देखिएको समस्याबारे धेरै चर्चा गरेका थिए । उनले मनमोहन अधिकारीले पनि प्रतिनिधिसभा विघटन गरेकाले त्यो नियमित भएको जिकिर गरेका थिए । ‘प्रतिनिधिसभा मनमोहनजीले पनि विघटन गर्नुभएको थियो, मैले पनि गरें, अदालतले पुनःस्थापित गरिदियो, सक्किहाल्यो नि, नियमित कुरा हो,’ प्रतिनिधिसभा विघटनबारे आत्मआलोचना गर्नुपर्छ भनेर अरू नेताहरूले उठाएका सवालमा जवाफ दिँदै ओलीले भनेका थिए । ‘ओलीजीको कुरा खासै बुझ्न सकिएन, हामी मिलेर जाऔं, पुराना कुरा बिर्सौं पनि भन्नुभयो,’ उपमहासचिव घनश्याम भुसालले भने, ‘हिजोका कुरामा गल्ती स्वीकार गरेर आत्मआलोचना गरेर अघि बढौं पनि भन्नुभयो तर प्रतिनिधिसभा विघटनदेखि २८ गते गुटको भेलामा गरेको निर्णयलाई जबर्जस्ती स्थापित गर्न खोज्नुभयो ।’

बैठकमा प्रधानमन्त्री ओलीले नेकपा विभाजन हुनुअघिका विभिन्न कुरा उप्काएका थिए । ‘२८ गतेको निर्णय ठीक भएन हामी मान्दैनौं भन्ने उहाँहरूको कुरा थियो, प्रधानमन्त्रीले त्यो त पार्टीको निर्णय हो । तपाईंहरू गुटको बैठक गर्नुहुन्छ, अनि पार्टी र गुटको बैठकलाई एकै ठाउँमा राख्न मिल्छ ? भनेर सोध्नुभयो,’ बैठकमा सहभागी ओली पक्षीय नेताले भने, ‘७ गते बैठक बसौं, त्यो बैठकमा २८ गतेको निर्णयलाई बहुमतले उल्ट्याउन सक्छ नि भन्ने कुरा पनि गरियो तर उहाँहरू बहुमतमा भन्दा पनि हामीसमेतको सल्लाह र सहमतिमा पो पार्टी चल्नुपर्छ भन्ने कुरा गर्नुभयो । हिजोसम्म बहुमत/बहुमत भन्नुहुन्थ्यो फेरिनुभएछ ।’

छलफलका क्रममा ओलीले तत्कालीन नेकपाले आफूलाई कारबाही गरेको प्रसंग पनि निकालेका थिए । बैठकमा सहभागी नेताहरूले ओलीलाई तपाईं हाम्रो अध्यक्ष हो कि हैन भनेर सोधेपछि ओलीले कारबाहीको प्रसंग निकाल्दै आफूलाई सर्वोच्च अदालतले मात्रै जोगाएको जिकिर गरेका थिए । ‘तपाईं हाम्रो अध्यक्ष हो कि हैन भनेर सबैले सोध्नुभयो, ओलीजीले म अध्यक्ष नै हो नि भन्नुभयो, त्यसपछि उहाँहरूले हाम्रो अध्यक्षजस्तो भएर काम गर्नुपर्‍यो भन्नुभएको थियो,’ बैठकको दृश्यबारे ओलीनिकट ती नेताले भने, ‘हिजो पटक–पटक कारबाही गर्नुभएकै हो, साधारण सदस्यबाट पनि हटाएको हो तर अदालतको फैसलाले मलाई ढुंगामा बजारिनबाट जोगाएको हो भन्ने प्रधानमन्त्रीको भनाइ थियो ।’

छलफलको अधिकांश समय एमाले नयाँ परिस्थितिको हो या २०७५ को जेठ ३ गतेकै अवस्थामा फर्किएको हो भन्नेमा नेताहरूको विवाद भएको थियो । छलफलपछि नेपाल पक्षीय नेताहरूले ओलीले मेलमिलापका लागि भन्दा पनि अरू संवाद र छलफलहरूलाई प्रभावित पार्नका लागि कुरा गर्न खोजेको देखिएको निष्कर्ष निकालेका छन् । ‘हामीले ४ गते राष्ट्रिय भेला गर्ने भनेपछि त्यसलाई प्रभावित पार्न उहाँहरूले बैठकमा बोलाएजस्तो गर्नुभएको हो,’ बैठकमा सहभागी नेपाल पक्षीय एक नेताले भने, ‘ओलीजीको अभिव्यक्तिले उहाँ पार्टी एकताबद्ध गराउन चाहनुहुन्न भन्ने नै देखियो ।’ नेता नेपालले पार्टी एकताबद्ध हुनका लागि भन्दै पेस गरेको एजेन्डाका विषयमा कुरै नभएको ती नेताको भनाइ थियो ।

प्रकाशित : चैत्र ३, २०७७ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?