सत्ता समीकरण, रेशम चौधरीको मुद्दा खारेज र संविधान संशोधनबारे माओवादी-जसपा वार्ता- समाचार - कान्तिपुर समाचार

सत्ता समीकरण, रेशम चौधरीको मुद्दा खारेज र संविधान संशोधनबारे माओवादी-जसपा वार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता समीकरण र जसपाले उठाउँदै आएका मागबारे छलफल भएको छ । 

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बिहान भएको बैठकमा दुवै पक्षले आगामी सत्ता समीकरणबारे कसरी अगाडि बढ्न सकिन्छ भनेर छलफल गरेका हुन् ।

माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जसपासँग तीन विषयमा वार्ता भएको बताए । उनले भने, 'उहाँहरू र हामीबीच केपी ओलीको विरुद्धमा संयुक्त सरकार बनाएर जाने एवजेन्डामा कुराकानी भयो । त्यस्तै, रेशम चौधरीको मुद्दा खारेज र संविधान संशोधनबारे पनि कुरा भएका थिए ।' जसपाका नेताहरूले मधेस आन्दोलन र थरुहट आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई रिहाइ लगायतका कुरा उठाएका थिए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र श्रेष्ठले छलफलका क्रममा सुरुमा संयुक्त सरकार गठनको विषयमा जोड दिएका थिए । सरकार गठनपछि जसपाले उठाएका मुद्दा सम्बोधन गर्न सहज हुने उनीहरूको भनाइ थियो ।

'सरकार कसरी बनाउने भन्ने एजेन्डामा हाम्रो जोड रह्यो । त्यसका लागि उहाँहरूले हाम्रो पनि एजेन्डा छ भन्नुभयो,' श्रेष्ठले भने, 'परिवर्तनका एजेन्डा, समाजवाद, समावेशी लोकतन्त्र कसरी रक्षा गर्ने भन्ने विषयमा छलफल भयो । केपीको नेतृत्वमा ती उपलब्धिको रक्षा हुन्छ कि हुन्न भन्नेबारेमा कुरा भयो ।'

जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीको पदबाट केपी शर्मा ओलीलाई कसरी हटाउने भन्नेमा आफूहरूको जोड रहेको बताए । छलफलका क्रममा उठेका विषयबारे उनले भने, 'संघीयता र लोकतन्त्रलाई समाप्त पार्ने, सर्वसत्तावादतर्फ उन्मुख ओलीलाई सत्ताबाट कसरी हटाउने भन्ने एउटा पाटो थियो । त्यसका लागि कसरी मिल्ने भन्नेबारेमा छलफल भएको थियो ।'

आफूहरूले रेशम चौधरी र संविधान संशोधनका कुरा उठाएको र त्यसमा माओवादीले समर्थन जनाएको यादवले बताए । 'यसमा माओवादीले हाम्रै एजेन्डा हो भन्नुभयो । यसमा असहमति जनाउने ठाउँ नै छैन भन्ने उहाँहरूको कुरा थियो । संविधान संशोधनको मुद्दा त हामीले संसदमा नै लगेका हौं तर एमालेले विपक्षमा भोट हाल्दा सफल भइएन भन्नुभयो,' दाहालले भनेका उल्लेख गर्दै यादवले भने ।

यादवले सत्ता समीकरणबारे थप गृहकार्य गर्नुपर्ने अवस्था आएको बताए । उनले कांग्रेस र माओवादीसँगको वार्ता पछि ओली सरकारविरुद्ध तीनवटै दल एकजुट भएको आफूले पाएको बताए । 'सत्ता समीकरणबारे गृहकार्य गरी सहमति बनाउन बाँकी छ । यत्ति कुरा चाहिँ के हो भने ओलीको जुन बाटो छ त्यसको विरुद्धमा सबैलाई पाएका छौं,' उनले भने । लोकतन्त्र, संघीयता र गणतन्त्रका पक्षमा लाग्ने दलहरूको संयुक्त सरकार गठन गर्नुपर्ने कुरा आफूले पाएको उनले बताए । माओवादी नेताहरूले पनि तीन दलको गठबन्धन भयो भने जसपाले उठाएका माग पूरा गर्न सहज हुने बताएका थिए ।

प्रकाशित : फाल्गुन २९, २०७७ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्

मिनियापोलिस सिटी काउन्सिलले जर्ज फ्लोयडको परिवारलाई २ करोड ७० लाख डलर दिने

एजेन्सी

वासिङ्टन — अमेरिकाको मिनियापोलिस सिटी काउन्सिलले जर्ज फ्लोयडको परिवारलाई २ करोड ७० लाख अमेरिकी डलर(करिब ३ अर्ब १३ करोड नेपाली रुपैयाँ) दिने भएको छ ।

फाइल तस्बिर : रोयटर्स

मिनियापोलिस प्रशासन र पीडित परिवारबीच यो सहमति भएको हो । मिनियापोलिस सिटी काउन्सिलले उक्त घटनाको मुद्दाको सुनुवाइ सुरु हुनुभन्दा पहिले नै सर्वसम्मतिले २ करोड ७० लाख डलरको सम्झौतलाई स्वीकृति दिएको हो ।

प्रहरी अधिृकत डेरेक चौभिनले घुँडाले थिचेपछि गत मे महिनामा फ्लोयडको मृत्यु भएको थियो । प्रहरीले फ्लोइडमाथि गरेको अत्याचारको भिडियो विश्वभर चर्चित भएको थियो । उक्त घटनापछि अमेरिकामा मात्रै होइन, विश्वका अधिकांश मुलुकमा पनि ब्ल्याक लाइभ्स म्याटर आन्दोलन चर्किएको थियो । प्रहरी अधिकृत चौभिनविरुद्धको मुद्दाको सुनुवाइका लागि ज्युरी छनोट प्रक्रिया जारी छ । १२ सदस्यीय ज्युरीमध्ये ६ जना छनोट भइसकेका छन् ।

फ्लोयडको मृत्यु प्रकरण के हो ?

प्रहरीको ज्यादतीका कारण मृत्यु भएको घटनाबारे सार्वजनिक भिडियोमा हतकडी लगाइएका फ्लोयडको घाँटीमा प्रहरीले घुँडा टेकेको देखिन्छ । फ्लोयडको प्रहरी चोटपटकका कारण उपचारकै क्रममा मृत्यु भएको थियो । उक्त भिडियो नजिकै रहेका एक बटुवाले खिचेर सार्वजनिक गरिदिएका थिए ।

विवाद कसरी सुरु भयो भन्नेबारे भिडियोमा देखिएको छैन । तर प्रहरी अधिकारी डेरेक चौविनले घाँटीमा घुँडाले टेकेपछि फ्लोयडले ‘मैले सास फेर्न सकिरहेको छैन, मलाई नमार’ भनेको सुन्न सकिन्छ । फ्लोयडको पोस्टमार्टम रिपोर्टमा उनमा मुटुको समस्या रहेको र प्रहरी अधिकारीको थिचाइले ‘उनको मृत्यु हुन सहयोग पुगेको’ उल्लेख छ ।

चौभिनले फ्लोयडको घाँटीमा ८ मिनेट ४६ सेकेन्डसम्म थिचेको रिपोर्टमा जनाइएको छ । रिपोर्टअनुसार फ्लोयडले प्रतिक्रिया नजनाएको ३ मिनेटपछिसम्म पनि चौभिनले घाँटी थिचिरहेका थिए । हेनेपिन मेडिकल सेन्टर लगिएका फ्लोयडलाई मृत घोषित गरिएको थियो । फ्लोयड ठगी आरोपमा पक्राउ परेका थिए ।

सम्बन्धित समाचार

प्रकाशित : फाल्गुन २९, २०७७ १२:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×