कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माधव समूहका मुख्य तीन एजेन्डा : वामपन्थी सरकार, एकढिक्का एमाले र असहमतिमा पार्टीभित्रै संघर्ष

बबिता शर्मा

काठमाडौँ — सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि एमालेको माधवकुमार नेपाल समूहले तीन वटा एजेन्डा अगाडि बढाउने भएको छ । बुधबार काठमाडौंमा भएको भेलामा नेपाल समूहका केन्द्रीय सदस्यहरुले वामपन्थी सरकारको निरन्तरता, एमाले एकढिक्का र असहमतिका विषयमा पार्टीभित्रै संघर्षको नीतिलाई अगाडि सार्ने रणनीति बनाएका छन् । 

माधव समूहका मुख्य तीन एजेन्डा : वामपन्थी सरकार, एकढिक्का एमाले र असहमतिमा पार्टीभित्रै संघर्ष

वामपन्थी सरकारको निरन्तरता र एकता

एमाले र माओवादी केन्द्र अलग-अलग अस्तित्वमा आएको केपी ओली नेतृत्वको सरकार संकटमा परिरहेको र सरकार बचाउन प्रधानमन्त्रीले जसपासँग सहकार्यको कोसिस थालेकै बेला नेपाल समूहले वामपन्थी सरकारको मुद्दा उठाउने रणनीति बनाएको हो । भेलापछि नेता रघुजी पन्तले तत्काल वामपन्थी सरकारको निरन्तरता, वाम सहकार्य र भविष्यमा एकतासम्मको मुद्दालाई लिएर अगाडि बढ्न सदस्यहरुले सुझाव दिएको बताए ।

‘अहिले जुन परिस्थिति उत्पन्न भएको छ, पार्टी त फेरि पनि दुई वटा भयो । त्यसैले तत्काल पार्टी एकता संभव होला नहोला तर माओवादीमात्रै हैन देशको ठूलो पार्टी भएको नाताले सबै वामपन्थीहरुको एकताबद्ध गर्ने जिम्मेवारी पनि हाम्रो हो । त्यो जिम्मेवारीलाई ध्यानमा राख्दै तत्काल वामपन्थीको सरकार बन्नु र टिक्नु उपयुक्त हुन्छ भन्ने राय साथीहरुले राख्नु भएको छ,’ पन्तले भने ।

एमाले एकताबद्ध

सर्वोच्च अदालतको निर्णयले एमाले एक ठाउँ रहने परिस्थिति निर्माण भएको र अब पार्टीलाई एकताबद्ध बनाएर जानुपर्ने निष्कर्ष पनि भेलाले निकालेको छ । ‘पछिल्लो परिस्थितिमा पार्टीलाई कसरी एकताबद्ध बनाएर लान सकिन्छ त्यो विषयलाई ध्यानमा राखेर छलफल भएको छ,’ पन्तले भने, ‘अब पार्टी अध्यक्ष केपी ओलीले विभिन्न कमिटीहरुको बैठक बोलाउनु होला । पार्टीलाई एकताबद्ध बनाउने कुरामा फेरि पनि निर्णायक भूमिका उहाँकै हुन्छ ।’

विगतका सबै कुराहरुलाई बिर्सनु पर्ने निष्कर्ष पनि भेलाले निकालेको छ । ‘हिजोका कतिपय कुरालाई हामीले बिर्सनु पर्छ । संसद् विघटन पछि उत्पन्न भएको परिस्थितिमा आ–आफ्ना राय विचार व्यक्त गर्ने कुराहरु भए । त्यो विगत भइसक्यो,’ पन्तले भने ।

पार्टीभित्रै संघर्ष

सर्वोच्च अदालले एमाले ब्यूँत्याइदिएपछि पनि ओली समूह र नेपाल समूहबीच छलफलसमेत भएको छैन । बरु ओली समूह देशव्यापी रुपमा पार्टी कब्जा गर्ने रणनीतिमा लागेको नेपालसमूहको बुझाई छ । अब पनि ओली एकलौटी रुपमा अगाडि बढ्न खोजे त्यसको प्रतिकार र संघर्ष गर्ने निष्कर्ष पनि यो समूहले निकालेको छ ।

‘पार्टीलाई विधानको दायरा भन्दा पर गएर चलाउने प्रयास गरेका छन् । त्यस्ता कुरा मान्य हुँदैन । ओली पक्षले ठाउँठाउँमा कार्यालय कब्जा गर्यौं भन्ने, हाम्रा साथीहरुका नेमप्लेट भाँचिदिने गरिरहेका छन् । त्यस्ता अराजनीतिक क्रियाकलापको भण्डाफोर गरेर जनतामा बुझाउनु पर्छ भन्ने कुरा धेरैको थियो,’ स्थायी कमिटीका एक नेताले भने ।

भेलामा नेता नेपालले पार्टीमा ओली प्रवृत्तिविरुद्ध डटेर सामना गर्न पनि निर्देशन दिएको ती नेताले बताए । ‘अदालतको फैसलापछि पार्टी सक्रिय भएको छ । तर, पार्टीका बैठक, छलफल हुनुपर्ने हो त्यो अहिलेसम्म भएको छैन । अब उनीहरु कसरी प्रस्तुत हुन्छन्, त्यो हेर्ने र गलत प्रवृत्तिको भण्डाफोर गर्नुपर्छ, पार्टीलाई विधि पद्धतिबाट नै चलाउनुपर्छ । त्यसभन्दा दायाँबायाँ जान दिनुहुन्न,’ नेता नेपालको भनाइ उद्र्धत गर्दै ती सदस्यले भने ।

नेता नेपालले एमाले विघटन ओलीले नै गरेको र अदालतले एकता बदर गरिदिएपछि असफल ओली नै भएको बताएका थिए । ‘कोही नेकपा एमालेमा आएको हैन । केपी ओली र प्रचण्डले हस्ताक्षर गरेर नेकपा बनाएका थिए । त्यसलाई अदालतले बदर गरिदिएपछि सबैभन्दा असफल त केपी ओली भए । त्यसैले अदालतले साविकको एमाले भन्दासाथ सँगसँगै एमाले भयौं,’ ती सदस्यले भने । भेलामा वरिष्ठ नेता झलनाथ खनालले पनि ओली प्रवृत्तिको कडा रुपमा सामना गर्नुपर्ने बताएका थिए ।

प्रकाशित : फाल्गुन २६, २०७७ २२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?