जसपाले बोलायो संसदीय दलको बैठक- समाचार - कान्तिपुर समाचार

जसपाले बोलायो संसदीय दलको बैठक

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिपक्षी दल जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार दिउँसो एक बजे दलको बैठक बोलाएको जसपाका नेता राजकिशोर यादवले जानकारी दिए । पछिल्लो राजनीतिक अवस्था र आगामी दिनमा संसदमा खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बोलाएको उनले बताए ।

प्रतिनिधिसभा पुनःस्थापनापछि बसेको संसद् बैठक र सरकारको नेतृत्व गरिरहेको नेकपामा आएको विवादपछि आफ्नो दलले संसद् र सरकारमा कस्तो भूमिका खेल्ने भन्ने रणनीतिबारे छलफल गर्न दलको बैठक बोलाएको यादवले बताए ।

'समग्रमा राष्ट्रिय राजनीतिबारे छलफल हुन्छ त्यो भनेको सरकार गठन पनि पर्छ । मुख्यतः संसद्‌भित्र जसपाले के भूमिका खेल्न सक्छ भन्ने किसिमले कुराकानी हुन्छ,' यादवले भने ।

आफूहरू प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै आन्दोलनमा गएको र पुनःस्थापना भएपछि त्यसका बारेमा दृष्टिकोण पनि दलको बैठकले तय गर्ने उनको भनाइ थियो ।

सर्वोच्च अदालतले सत्तारुढ नेकपा नामको आधिकारिताबारे आइतबार फैसला गरेको थियो । जसमा नेकपा दल ऋषि कट्टेलको हो भनेको थियो । त्यसका साथै साविककै एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् ।

यस्तो अवस्थामा संसद्मा पनि सरकार निर्माणका लागि नयाँ गठबन्धन बन्न सक्ने अवस्था बनेको छ । यसबारे पनि दलहरू आन्तरिक र द्विपक्षीय छलफलमा जुटेका छन् ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण गरेर जसपा बनेपछि पहिलो पटक संसदीय दलको संयुक्त बैठक बस्न लागेको हो ।

प्रकाशित : फाल्गुन २४, २०७७ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्

बाँकेको बघौडामा आगलागी हुँदा २५ घर जले

ठाकुरसिंह थारु

नेपालगन्ज — बाँकेको नरैनापुर गाउँपालिका-१ सुईया बघौडामा सोमबार आगलागी हुँदा २५ घर जलेका छन् । सोमबार बिहान साढे ११ बजे आगलागी हुँदा लाखौं बराबरको क्षति भएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

गाउँपालिकाका प्रमुख इस्तियाक अहमद साहले जलेका घर निमार्णका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।


प्रकाशित : फाल्गुन २४, २०७७ १४:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×