महिलाले ५० प्रतिशत अधिकार पाउन आन्दोलन गर्नुपर्छ : पम्फा भुसाल- समाचार - कान्तिपुर समाचार

महिलाले ५० प्रतिशत अधिकार पाउन आन्दोलन गर्नुपर्छ : पम्फा भुसाल

कान्तिपुर संवाददाता

काठमाडौँ — पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको साविकको नेकपाका नेता पम्फा भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने बताएकी छिन् ।

सोमबार १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अनेरास्ववियूले आयोजना गरेको टेम्पो चालक महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले ५० प्रतिशत भन्दा बढी संख्यामा रहेका महिलाहरुले सबै क्षेत्रमा ५० प्रतिशतभन्दा बढी अधिकार प्राप्तिको निम्ति आन्दोलन गर्नुपर्ने बताएकी हुन् ।

संविधानत्: महिलाहरुले धेरै अधिकार पाएको भए पनि कार्यान्वयनको चुनौती रहेको भन्दै उनले त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘हामी ५० प्रतिशत बढी रहेका महिलाले ५० प्रतिशतभन्दा बढी सबै क्षेत्रमा अवसर अवसर पाउनुपर्दछ । त्यसैले एकातिर पाएका अधिकारको कार्यान्वयन हो भने नपाएका अधिकारको निम्ति यो आन्दोलनलाई निरन्तरता दिने कुरा पनि हो । आज संविधानत: र कानुनत: नेपाली जनता र नेपाली महिलाले धेरै अधिकार पाएको हामी मान्छौँ ।’

संविधानमा व्यवस्था भए पनि कार्यान्वयनको तहमा चुनौती समस्या रहेको भुसालले बताइन् । ‘हामीले राष्ट्र प्रमुखदेखि न्यायपालिकालगायतका विभिन्न क्षेत्रमा महिलाको प्रतिनिधित्व भएको छ । तर संविधानले व्यवस्था गरेका सबै अधिकार सबै ठाउँमा लागू भइराखेका छैनन् । हामीले १६ वटा मौलिक अधिकार संविधानमा सुनिश्चित गरेका छौँ । ती मौलिक अधिकारसम्बन्धी कानुन बनेका छन् । त्यसको कार्यान्वयन भइराखेको छैन त्यो कार्यान्वयन हुनुपर्छ । र ३३ प्रतिशत महिलाको निम्ति सुनिश्चित गर्दा १७ प्रतिशत महिलाको अधिकार गरेर बराबरीको अधिकार पाउने कुरालाई हामीले अबको माग र आन्दोलनको रुपमा अगाडि बढाउनुपर्छ ।’

भुसालले राजनीतिक अधिकारले मात्रै नपुग्ने भन्दै अधिकारहरुको कार्यान्वयनको आधार आर्थिक समानता भएकोले महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइन् । महिलालाई पैतृक सम्पत्तिमाथिको अधिकार सुनिश्चित गर्नुपर्ने, घरेलु कामलाई आर्थिक उत्पादनको काममा गणना गरिनुपर्ने तथा बेरोजगार महिलाहरुलाई भत्ता दिई संविधानले प्रदान गरेको अधिकारलाई सरकारले कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।

अनेरास्ववियूले टेम्पो चालक महिलाहरुलाई सम्मान गरेको छ । यस्तैगरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकै अवसर पारेर ललितपुर महानगरपालिका, नेपाल साइकल सोसाइटी र रोटरी क्लव अफ पाटनले साइकल र्‍याली गरेका छन् । विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट टाँसेर कुदेका साइकलले पाटन नगर परिक्रमा गरेको थियो ।

प्रकाशित : फाल्गुन २४, २०७७ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्

हाफ म्याराथनको उपाधि धादिङकी रसिलाले जितिन्

कान्तिपुर संवाददाता

काठमाडौँ — १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जिल्लाको व्यास नगरपालिकाले आयोजना गरेको प्रथम महिला हाफ म्याराथन दौड प्रतियोगिताको उपाधि धादिङकी रसिला तामाङले जितेकी छन् ।

धार्मिक पर्यटकीय स्थल व्यास–३ स्थित व्यासगुफादेखि ऐतिहासिक स्थल व्यास–११ को तनहुँसुरसम्मको २१ किलोमिटरको दूरी एक घन्टा ४९ मिनेटमा पार गरी रसिलाले उपाधि जितेकी हुन् ।

प्रतियोगितामा खोटाङकी प्रिया राई द्वितीय र पोखराकी अनिता राई तृतीय भएका छन् । उनीहरुले उक्त दूरी क्रमश: एक घन्टा ४९ मिनेट १ सेकेन्ड र एक घन्टा ५५ मिनेट ३२ सेकेन्डमा पार गरेका थिए । यस्तै, कालीकोटकी विशेषता ऐडी, व्यासकी नम्रता गुरुङ, ऋषिङकी सीता रानाभाट, भक्तपुरकी आयुषा श्रेष्ठ र ओखलढुंगाकी पदमकुमारी सुनुवार सान्त्वना भएका छन् । उनीहरुले सो दूरी क्रमश: एक घन्टा ५५ मिनेट ५७ सेकेन्ड, एक घन्टा ५८ मिनेट ४५ सेकन्ड, २ घन्टा ३५ सेकेन्ड, २ घन्टा ३ मिनेट १९ सेकेन्ड र २ घन्टा ८ मिनेट २८ सेकेन्डमा पार गरेका थिए ।

५६ जना महिला धावकको सहभागीता रहेको प्रतियोगिताका विजेताहरुलाई नगरपालिकाले प्रथमलाई ४१ हजार ७७, द्वितीयलाई ३१ हजार ७७, तृतीयलाई २१ हजार ७७ रुपैयाँ र सान्त्वना भएका ५ जनालाई प्रतिव्यक्ति ११ हजार ७७ रुपैयाँ नगद र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।

व्यास गुफादेखि सुरु भएको हाफ म्याराथन दमौलीको सफा सडक हुँदै ट्राफिक चोक, भोर्लेटार चोक, पृथ्वीराजमार्गको तालघरे, मुसेखोला, वेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गंगलथोक, पत्यारथोक, चण्डीथान, गद्दीचौतारा हुँदै व्यास–११ स्थित ऐतिहासिक स्थल तनहुँसुर दरबारमा पुगेर सम्पन्न भएको थियो ।

उक्त प्रतियोगिताको उद्घाटन गर्दै पूर्वमन्त्री एवं गण्डकी प्रदेशकी सदस्य आशा कोइरालाले खेलकुदले मानिसलाई स्वस्थ बनाउने साथै अन्तर्राष्ट्रिय स्तरसम्म परिचितसमेत गराउने बताइन् । ‘अवसर आफै आउँदैन, अवसर लिनका लागि हामी पनि लागि पर्नुपर्छ,’ उनले भनिन्, ‘हामीभित्र भएको सीप, दक्षता, जाँगरका साथ हरेक चुनौतिसँग लड्दै अगाडि बढे महिलाहरुले हरेक क्षेत्रमा सफलता हासिल गर्न सक्दछन् ।’

प्रकाशित : फाल्गुन २४, २०७७ १२:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×