हिल्सा नाका नखुल्दा सकस, पर्यटक मानरोवर यात्रामा जान पाएनन्

छपाल लामा

हुम्ला — झन्डै एक वर्षदेखि नेपाल–चीन सीमास्थित हिल्सा नाका बन्द हुँदा माथिल्लो हुम्लाको जनजीवन कष्टकर बनेको छ । मानसरोवर–कैलाश तीर्थयात्रा पनि प्रभावित बनेको छ । गत वर्ष चैत पहिलो सातादेखि कोरोना महामारीका कारण अवरुद्ध हिल्सा नाका पुसयता हिमपातका कारण बन्द छ ।

हिल्सा नाका नखुल्दा सकस, पर्यटक मानरोवर यात्रामा जान पाएनन्

नाका बन्द हुँदा नाम्खा गाउँपालिकामा दैनिक उपभोग्य सामग्री, खाद्यान्न र निर्माण सामग्रीको अभाव हुन थालेको छ । ‘पूरै गाउँपालिका वर्षौंदेखि चिनियाँ खाद्यान्नमा निर्भर छ,’ नाम्खा–६ का वडाध्यक्ष पाल्जोर लामाले भने, ‘नाका बन्द भएपछि स्थानीयलाई जीविकोपार्जनमा समस्या भयो ।’ उनका अनुसार यातायात सुविधा नहुँदा स्थानीयलाई सदरमुकाम सिमीकोटबाट खाद्यान्न र दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समस्या छ । नाका बन्द भएपछि युवाहरू यो वर्ष चीनको ताक्लाकोट जान नपाएको उनले बताए ।

नाम्खा गाउँपालिकाका प्राय: युवा बर्सेनि मजदुरीका लागि ताक्लाकोट जान्छन् । ‘ताक्लाकोट जान नपाउँदा युवाहरू बेरोजगार बने,’ लामाले भने, ‘अब त कोरोनाको खोप पनि आयो, हिउँ पनि बिलाउन थालेको छ, नाका खुले जनजीवन सहज हुन्थ्यो ।’ नाका नखुल्दा हुम्लाको पर्यटन व्यवसाय पनि संकटमा परेको छ । गत वर्षसम्म प्राय: भारतीय तीर्थयात्री हुम्लाको बाटो हुँदै मानसरोवर–कैलाश तीर्थयात्रामा निस्कन्थे । भारतीय तीर्थयात्रीकै सुविधाका लागि ठूलो लगानीमा सिमीकोट र हिल्सामा झन्डै ९० वटा होटल खुले पनि यो वर्ष कारोबार ठप्प छ ।

‘अब गर्मी सिजन सुरु भयो, वैशाखबाट मानसरोवर दर्शन गर्न जाने पर्यटक आउँछन्,’ होटल व्यवसायी संघका अध्यक्ष मिम लामाले भने, ‘तर नाका खुल्ने टुंगो नलाग्दा बन्द भएका होटल अझै खुलेका छैनन् ।’ नाका नखुल्दा हिल्साका झन्डै ५० होटल र ४० पसल बन्द छन् । सिमीकोटमा पनि २६ होटल बन्द भएको उनले जानकारी दिए । कोरोनाको त्रास घटेकाले नाका छिटो सञ्चालन गर्न सरकारसँग आग्रह गरिए पनि बेवास्ता भएको उनको गुनासो छ ।

नाका बन्द हुँदा हुम्लाको व्यापार व्यवसाय पनि ठप्प बनेको उद्योग वाणिज्य संघका अध्यक्ष नाम्ग्याल तामाङले बताए । ‘नाका बन्द हुँदा खाद्यान्न र दैनिक उपभोग्य सामानको भाउ अकासिएको छ,’ उनले भने, ‘आर्थिक कारोबार ठप्प छ ।’ नाका नखुल्दा हुम्लामा उत्पादित जडीबुटीले समेत बजार नपाएको उनको गुनासो छ ।

नाका बन्द हुँदा हिल्सामा रहेका भन्सार, अध्यागमनलगायत कार्यालय पनि बन्द छन् । सरकारले केही दिनअघि चीन र भारततर्फका ३० वटा नाका सञ्चालन गर्ने निर्णय गर्दा हिल्सा नाका परेको थिएन । ‘नाका खोल्न विभिन्न निकायमा आग्रह गरेका छौं,’ वडाध्यक्ष तामाङले भने, ‘तर सबैतिरबाट बेवास्ता भएपछि स्थानीय आत्तिएका छन् ।’ एक महिनाभित्र नाका नखुले नाम्खा गाउँपालिकामा खाद्यान्न र दैनिक उपभोग्य सामग्रीको संकट हुने उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन २१, २०७७ २२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?