कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द समूहको र्‍यालीमा विद्यार्थी प्रयोग

कान्तिपुर संवाददाता

मकवानपुर — सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै शान्तिपूर्ण राजनीतिमा आएको नेत्रविक्रम चन्द समूहले हेटौंडामा विजय र्‍याली निकालेको छ । हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानबाट बुद्धचोकसम्म शुक्रबार दिउँसो निकालिएको र्‍यालीमा कार्यकर्ताभन्दा बढी विद्यार्थीलाई सडकमा उतारिएको थियो ।

चन्द समूहको र्‍यालीमा विद्यार्थी प्रयोग

हेटौंडा–१६ चिसापानीस्थित जनप्रिय माध्यमिक विद्यालय र हेटौंडा–१८ हर्नामाडी ज्योति माध्यमिक विद्यालयमा कक्षा ९, १०, ११ र १२ कक्षामा अध्ययरत विद्यार्थीलाई विद्यालयबाटै बसमा लगेर र्‍यालीमा सहभागी गराएको थियो । जनप्रियबाट करिब ३ सय र ज्योति माविका २ सयभन्दा बढी विद्यार्थी र्‍यालीमा सहभागी थिए ।

जनप्रिय मावि कक्षा ९ मा अध्ययनरत एक विद्यार्थीले कक्षा सञ्चालन भइरहेका बेला र्‍यालीमा जान अनुरोध गरेपछि शिक्षकको स्वीकृतिमा आएको प्रतिक्रिया दिए । ‘हामी स्कुलमा पढिरहेका थियांै । पार्टीका मान्छे आएर आज हाम्रो प्रतिबन्ध फुकुवा भएको छ, र्‍यालीमा जानुपर्छ भनेर ल्याए,’ उनले भने ।

जनप्रियमै अध्ययनरत अर्का विद्यार्थीले र्‍यालीमा सहभागी सबैलाई २ बजे ल्याएर वनविज्ञानको मैदानमा राखिएको र झन्डा बोक्न लगाइएको बताए । उनका अनुसार र्‍याली सकिएपछि चाउचाउ र पानी खान दिएको उनले बताए । ‘शिक्षकहरूले सहभागी हुन अनुमति दिएपछि हामी आएका हौं,’ ती विद्यार्थीले भने । सभामा सहभागी एक छात्राले भने आफूहरूलाई छिट्टै घर जान दिन अनुरोध गरिरहेकी थिइन् । कार्यकर्ताहरूले भने कोणसभा नसकिएसम्म बस्न दबाब दिइरहेका थिए ।


प्रकाशित : फाल्गुन २१, २०७७ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?