कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पार्टीहरु नमिलेर उपाय छैन : माधव नेपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित विचार गोष्ठीमा बोल्दै अध्यक्ष नेपालले आफूहरु कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्यका लागि छलफल गर्न तयार रहेको बताएका हुन् ।

पार्टीहरु नमिलेर उपाय छैन : माधव नेपाल

वर्तमान राजनीतिक समस्या समाधान गर्न माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड बाधक नबन्ने भन्दै उनले मिलेर जानको निम्ति जुनसुकै विकल्पको निम्ति पनि आफूहरु तयार रहेको बताए ।

प्रतिगमनविरुद्ध संघर्ष गर्ने दलहरु एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाइ छ । ‘नेपाली कांग्रेस र जसपा नेतृत्वलाई भन्न चाहन्छु, बैठक बसौं । सहकार्य गरौं । खुल्ला रुपमा छलफल गर्न तयार छौं । कुन ढंगले गर्दा हुन्छ हामी सबै अप्सनको निम्ति तयार छौं । हामी बाधक होइनौं । हामी समस्या होइनौं । हामी समस्या समाधानको निम्ति तयार छौं,' उनले भने, 'पार्टीहरु नमिलेर उपाय छैन । प्रतिगमनका विरुद्ध संघर्षको मैदानमा उभिएका दलहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्छ । सँगसँगै जान सकिन्छ भन्ने कुराको विगतमा पनि हामीले उदाहरण प्रस्तुत गरेका छौं, नसकिने कुरा होइन । सहमति ठोस रुपमा गरेर जाने हो भने विवादमात्रै हुन्छ भन्ने ठान्नु हुँदैन ।’

कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक समस्या समाधानका निम्ति निर्वाचन आयोगले निष्पक्ष रुपमा नेकपाको विवाद निरुपण गर्नुपर्ने बताए । प्रतिगमनका विरुद्धमा अघि बढेका शक्तिहरुबीच सहमति गरी सरकार गठन गर्नुपर्ने बताए ।

सरकारको प्रधानमन्त्री को भन्ने भन्दा पनि प्रणालीलाई संस्थागत गर्नु महत्वपूर्ण कुरा भएको उनले बताए । उनले भने– ‘जो प्रतिगमनका विरुद्धमा, असंवैधानिक कदमका विरुद्धमा लोकतन्त्रका लागि अघि बढे । ती सबै शक्ति बसेर सहमति किन नगर्ने ? साझा चिन्ताको आधारमा अर्को सरकार गठन गर्ने । अहिलेको अवस्थामा सरकारको प्रधानमन्त्री को बन्ने भन्दा पनि सिस्टमलाई कसले जोगाउने ? संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसले संस्थागत गर्ने त्यो महत्वपूर्ण कुरा हो ।’

कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले छिट्टै निर्वाचन गर्ने सहमतिका साथ ओली बाहेकका शक्तिहरु मिलेर चुनावी सरकार बनाउनुपर्ने बताए । उनले भने– ‘केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्छ । त्यस निम्ति हिजो संसद् पुनबर्हाली हुनुपर्छ भन्ने शक्तिहरु सबै मिलेर । त्यसपछि समस्याको समाधान निर्वाचन नै हो । अर्ली इलेक्सन गर्ने । एउटा चुनावी सरकार, केपी ओलीको कित्ता बाहेकको चुनावी सरकार । निर्वाचन गर्ने सहमतिमा अगाडि बढ्ने अबको विकल्प हो ।’

प्रकाशित : फाल्गुन २०, २०७७ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?