दलबाट ओली, नेम्वाङ लगायतलाई हटाएकोबारे दाहाल-नेपाल समूहद्वारा संसद्‍ सचिवालयलाई जानकारी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा दाहाल-नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी लगायतलाई हटाएकोबारे संघीय संसद् सचिवालयलाई जानकारी गराएको छ । 

दलबाट ओली, नेम्वाङ लगायतलाई हटाएकोबारे दाहाल-नेपाल समूहद्वारा संसद्‍ सचिवालयलाई जानकारी

बिहीबार प्रमुख सचेतक देव गुरुङसहितका नेताहरु संघीय संसद् सचिवालय सिंहदरबार पुगेर दलका नेता ओली, उपनेता नेम्वाङ, सचेतक चौधरीलाई जिम्मेवारीमुक्त गरेको जानकारी गराएका हुन् ।

'संसद्‍ पार्टीका संसदीय दलका निर्णयअनुसार चल्ने भएकाले हामीले पार्टीमा भएको परिमार्जनबारे संसद् सचिवालयलाई जानकारी गराएका छौं । प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवासचन्द्र नेम्वाङ लगायतका व्यक्तिबारे पार्टीले गरेका निर्णय जानकारी गराएका हौं'

संसदीय दलमा भएको परिमार्जनबारे जानकारी दिन दाहाल-नेपाल पक्षका प्रमुख सचेतक गुरुङसहित सांसदहरु सुरेन्द्र पाण्डे, पम्फा भुसाल, दिनानाथ शर्मा र जीवनराम श्रेष्ठ संसद् सचिवालय पुगेका थिए ।

बहुमत केन्द्रीय सदस्यको सहभागितामा ओलीलाई पार्टी सदस्यबाटै हटाइसकेकोले संसदीय दलको नेताको रुपमा समेत रहन नसक्ने भन्दै सचिवालय, संसदीय दल र सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।

नेकपा दाहाल नेपाल समूहको माघ १९ गते बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई आकस्मिक र असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्नुका साथै गम्भीर रुपमा पार्टी अनुशासन उल्लंघन गरेको भन्दै पार्टी सदस्यबाट समेत हटाउने निर्णय गरेको थियो ।


प्रकाशित : फाल्गुन २०, २०७७ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?