कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

‘मेलम्ची सुरुङ परीक्षणका क्रममा वाग्मतीको सतह बढ्न सक्छ’

रासस

काठमाडौँ — मेलम्ची खानेपानी विकास समितिले सुरुङ परीक्षणका क्रममा वाग्मतीमा नदीमा पानीको सतह घटबढ हुनसक्ने जनाउँदै सजग रहन स्थानीयबासीलाई अपिल गरेको छ । यही फागुन १० गतेदेखि सुरुङ परीक्षणका लागि पानी पठाइएकामा छिट्टै सुन्दरीजल आइपुग्ने र पानीको केही परिमाण सिधैँ वाग्मतीमा जाने समितिले जनाएको छ ।

‘मेलम्ची सुरुङ परीक्षणका क्रममा वाग्मतीको सतह बढ्न सक्छ’

पानीको परिमाण एकै पटक बढ्न सक्ने भएकाले सजग रहन भनिएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।

उनले भने, 'एक दुई दिनभित्रै सुन्दरीजलसम्म पानी आइपुग्ने भएकाले सजग रहन सुन्दरीजलदेखि बल्खुसम्म नै माइकिङ हुनेछ ।' झण्डै दुई दशक पहिले निर्माण सुरु भएको आयोजनाका मुख्य पूर्वाधारका रुपमा रहेको सुरुङको निर्माण गत वर्ष सकिएको थियो । निर्माण सकिएसँगै समितिले गत वर्ष असारमा सुरुङ परीक्षण गरेको थियो । सो परीक्षणका क्रममा ढोका खुल्दा दुर्घटना भएको थियो । मानवीय क्षतिसमेत भएको दुर्घटनापछि समितिले त्यहाँ रहेको त्रुटि सच्याएर पुनः परीक्षण गरेको हो । परीक्षण सकिएर सुरुङमा ठूला समस्या नभएको पाइएमा आगामी महिनाभित्रै काठमाडौं उपत्यकाको पानी वितरण गर्ने प्रणालीमा पानी पठाइनेछ ।

राष्ट्रिय गौरवको सो आयोजना लामो प्रतिक्षापछि सम्पन्न भएकाले पनि यसले उपत्यकाबासीमा आशा जगाएको छ । पानी नियमित वितरण सुरु भएपछि उपत्यकाको खानेपानीको समस्या समाधान हुने विश्वास गरिएको छ । सुरुङ, हेडवर्क र दुई पानी प्रशोधन केन्द्र निर्माण आयोजनाले गरेको हो । पानी वितरणका लागि आवश्यक संरचनाको निर्माण आयोजना कार्यन्वयन निर्देशनालयले गरेको छ भने वितरणको काम काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गर्नेछ ।

प्रकाशित : फाल्गुन २०, २०७७ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×