सिनामंगलको जग्गा लिजमा दिनु अधिग्रहणको सर्तविपरीत- समाचार - कान्तिपुर समाचार

सिनामंगलको जग्गा लिजमा दिनु अधिग्रहणको सर्तविपरीत

नागरिकबाट अधिग्रहण गरिएको जग्गा सार्वजनिक हितमा मात्रै प्रयोग गर्न पाइने संवैधानिक व्यवस्था
मातृका दाहाल

काठमाडौँ — नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक सिनामंगलस्थित करिब ९१ रोपनी जग्गा ३० वर्षका लागि व्यापारीलाई होटल सञ्चालन गर्न दिने गरी अघि बढाएको प्रक्रिया सर्वसाधारणबाट अधिग्रहण गर्दा उल्लेख गरिएको प्रयोजनविपरीत रहेको पाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित जग्गामा रहेको एभिएसन म्युजियम  तस्बिर : केशव थापा/कान्तिपुर

सरकारले २०३० सालमा ‘एयर ट्रान्समिसन स्टेसन’ निर्माण गर्न भन्दै त्यस क्षेत्रको जग्गा सर्वसाधारणबाट अधिग्रहण गरेको थियो ।

संविधानको धारा २५ मा सर्वसाधारणबाट सार्वजनिक हितका लागि मात्र जग्गा अधिग्रहण गर्न सक्ने र एउटा सार्वजनिक हितका लागि अधिग्रहण गरिएको जग्गा अर्को सार्वजनिक हितकै लागि मात्र प्रयोग गर्न सकिने व्यवस्था छ । प्राधिकरणले संविधानमा उल्लिखित प्रावधानसमेत बाझिने गरी व्यावसायिक प्रयोजनका लागि जग्गा लिजमा दिने प्रक्रिया अघि बढाएको हो । प्राधिकरणका नाममा दर्ता जग्गा व्यावसायिक प्रयोजनका लागि लिजमा दिइनुलाई ‘सार्वजनिक हित’ का रूपमा लिँदा कानुनी प्रश्न उठ्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले बताए ।

‘नागरिकबाट सार्वजनिक हितका लागि भनेर अधिग्रहण गर्ने, पछि त्यस ठाउँलाई होटल सञ्चालन गर्न दिइयो भने त्यसलाई सार्वजनिक हितका रूपमा व्याख्या गर्न त कसरी मिल्छ र ?,’ उनले भने । संविधानको धारा २५ (५) मा ‘राज्यले सार्वजनिक हितका लागि कुनै व्यक्तिको सम्पत्ति अधिग्रहण गरेकोमा त्यस्तो सार्वजनिक हितको सट्टा अर्को कुनै सार्वजनिक हितका लागि त्यस्तो सम्पत्ति प्रयोग गर्न बाधा पर्ने छैन’ भनिएको छ ।

भूमिसुधार मन्त्रालयका पूर्वसचिव बाबुराम आचार्य पनि नागरिकबाट सार्वजनिक हितका लागि भन्दै अधिग्रहण गर्ने अनि संविधानमा भएको प्रावधान कुल्चिएर नाफा कमाउन व्यापारीलाई जग्गा दिनु गैरकानुनी र गैरसंवैधानिक हुने बताउँछन् । मन्त्रालयका प्रवक्ता जोशीले नागरिक उड्डयन प्राधिकरणसँग सम्बन्धित ऐन/नियमावलीमा आफ्नो नाममा दर्ता रहेको जग्गा व्यावसायिक प्रयोजनका लागि लिजमा दिन सकिने भए पनि संविधानसँग बाझिएका कानुन स्वतः खारेज हुने बताए । विपद् उद्धार तथा व्यवस्थापन, सुरक्षा संवेदनशीलता मानिएका क्षेत्र र सरकारी निकाय/कार्यालयकै लागि आवश्यक ठानिए त्यस्तो जग्गा सरकारले भोगाधिकार र नामसारी नै बदल्न सक्ने उनको भनाइ छ ।

धारा २५ (२) मा ‘सार्वजनिक हितका लागि बाहेक राज्यले कुनै व्यक्तिको सम्पत्ति अधिग्रहण गर्ने, प्राप्त गर्ने वा त्यस्तो सम्पत्तिउपर अरू कुनै प्रकारले कुनै अधिकारको सिर्जना गर्न नपाइने’ व्यवस्था छ ।

तत्कालीन श्री ५ को सरकार, निर्माण तथा यातायात मन्त्रालयका सचिव फणीन्द्रराज हमालका तर्फबाट २०३० साउन ८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार हाल प्राधिकरणले व्यापारीलाई व्यावसायिक प्रयोजनका लागि लिजमा दिन लागेकोमध्ये १६ वटा छुट्टाछुट्टै कित्तामा पर्ने १४ रोपनी १३ आना १ पैसा जग्गा सिनामंगल क्षेत्रका नागरिकबाट अधिग्रहण गरिएको थियो ।

‘श्री ५ को सरकारले ट्रान्समिसन स्टेसन विस्तार योजना कार्यका लागि वाग्मती अञ्चल काठमाडौं जिल्ला सिनामंगल गाउँ पञ्चायत वार्ड नम्बर २ (क) को निम्नलिखित जग्गा थप प्राप्त गर्ने निर्णय गरेकाले सम्बन्धित जग्गाधनीले जग्गाको मोल र अरू नोक्सानीबापत यस ऐन र जग्गा प्राप्ति नियमहरू २०२६ बमोजिम क्षतिपूर्ति पाउने हुँदा यो सूचना प्रकाशित गरिएको छ,’ ४७ वर्षअघि राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ । विमानस्थलकै लागि २०२६ र २०३१ सालमा पनि हवाई विभागका लागि सर्वसाधारणबाट अधिग्रहण र पर्ती जग्गा दर्ता गरिएको थियो । त्यसबाहेक पर्ती जग्गा पनि स्टेसन निर्माणकै लागि भन्दै भोगचलन गर्न तत्कालीन हवाई विभागलाई अनुमति दिइएको थियो । त्यतिबेला अधिग्रहण गरिएको जग्गाको हालको मूल्य पनि उच्च छ ।

व्यक्तिका नामबाट अधिग्रहण गरिएको र पर्ती गरी त्यस स्थानमा ९७ रोपनी ११ आना जग्गा हाल प्राधिकरणका नाममा छ । प्राधिकरणले होटल सञ्चालन गर्न लिजमा दिने प्रक्रिया अघि बढाएपछि सुरक्षा संवेदनशीलताका साथै कानुनी प्रश्न पनि उठेको हो । सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०७१ ले पनि सरकारी जग्गा कुनै व्यक्ति वा संस्थालाई लिजमा दिन सकिने भए पनि ‘सार्वजनिक वा सरकारी प्रयोजनका लागि आवश्यक पर्ने देखिएमा त्यस्तो सरकारी जग्गा कुनै व्यक्ति, निकाय वा संस्थालाई दिइने छैन’ भनेको छ ।

लिजमा जग्गा उपलब्ध गराउँदा उद्देश्य, औचित्य र कार्ययोजना, लिज माग गरेको जग्गा रहेको स्थान र क्षेत्रफल, लिजमा दिइने जग्गाको विषयमा स्थानीय निकाय वा बासिन्दाको प्रतिक्रिया, जग्गा संरक्षणको सुनिश्चितता, ऐतिहासिक, पुरातात्त्विक, धार्मिक, सांस्कृतिक महत्त्वका स्थलहरूको मौलिकतामा असर नपुग्ने कुराको प्रत्याभूतिलगायत प्रावधान पालना गर्नुपर्ने पनि भनिएको छ । कुनै स्वायत्त संस्थानका नाममा भएको जग्गामा यो प्रावधान बाध्यकारी नभए पनि औचित्य, आवश्यकता र सुरक्षा संवेदनशीलता हेरेर सरकारले सार्वजनिक हितका लागि सरकारी निकायकै नाममा ल्याउन सक्छ ।

सुरक्षा जोखिम हुँदैन : प्राधिकरण

नेपाल नागरिक उड्डयन प्राधिकरणले सिनामंगल क्षेत्रको जग्गामा होटललगायत भौतिक संरचना निर्माण गर्दा कुनै हवाई सुरक्षा जोखिम नहुने जिकिर गरेको छ । सीमित भूभागका कारण उपलब्ध जग्गालाई सीमित व्यावसायिक उपयोगमा ल्याउनुपर्ने बाध्यता रहेको प्राधिकरणको तर्क छ । प्राधिकरणले ‘विमानस्थल होटल’ नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र बनाउन लागिएको अनौठो विषय नभएर संसारभरिका सबैजसो ठूला अन्तर्राष्ट्रिय विमानस्थलमा उपलब्ध हुने ‘यात्रु सुविधा’ भएको उल्लेख गरेको छ । त्यस क्षेत्रमा होटल निर्माण भए हवाई यात्रुको सुविधामा स्तर वृद्धि हुने प्राधिकरणको जिकिर छ ।

सुरक्षा विज्ञहरूले भने त्यस क्षेत्रमा होटललगायत संरचना बने सुरक्षा जोखिम हुने बताएका छन् । तर प्राधिकरणले उक्त जग्गाबाट वायुयान फायरिङ रेञ्जमा हुने भएकाले हवाई सुरक्षा खतरा रहेको भन्ने तर्कलाई ‘हास्यास्पद’ भनेको छ ।

‘यसो हो भने वायुयान उपत्यका प्रवेश गर्ने क्रममा डाँडाकाँडादेखि नै फायरिङ रेञ्जमा रहेको मान्नुपर्ने हुन्छ, अवतरणका क्रममा रहेका जहाजका लागि इमाडोल, जडीबुटी र कोटेश्वर क्षेत्रका घरहरूमा समेत सुरक्षा जोखिम हुन सक्छ,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा छ, ‘गैरीगाउँ, सिनामंगल, पूर्वी सिनामंगल, गोठाटार र बौद्ध क्षेत्रमा रहेका भवनहरूलाई पनि सुरक्षा जोखिम मान्नुपर्ने हुन्छ ।’ प्राधिकरणले जमिनको सतहसँग नभई सुरक्षा जोखिमका हिसाबले वायुयान उडान र अवतरणको समयलाई बढी संवेदनशील मानिने दाबी गरेको छ ।

प्रकाशित : फाल्गुन १८, २०७७ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्

सिनामंगलको जग्गामा १३ वर्षदेखि गृह-पर्यटन खटपट

प्राधिकरणले विमानस्थलको सुधार र आधुनिकीकरणका नाममा जग्गा व्यापारीलाई दिन पटक–पटक पर्यटन मन्त्रालय र मन्त्रिपरिषद्‍बाट निर्णय गराएको थियो तर गृह मन्त्रालयको असहमतिले योजना अघि बढेको थिएन
मातृका दाहाल

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी सुरक्षा जोखिम बेवास्ता गरेर सिनामंगल–गैरीगाउँ क्षेत्रको सरकारी जग्गा व्यापारीलाई सुम्पिन नेपाल नागरिक उड्डयन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०६४ सालबाटै प्रयास गरेको पाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित जग्गामा रहेको एभिएसन म्युजियम  तस्बिर : केशव थापा/कान्तिपुर

अहिले पुनः प्राधिकरणले सिनामंगलबाट गैरीगाउँतर्फ जाँदा सडक किनाराबाट दायाँतर्फ पर्ने करिब ९१ रोपनी जग्गा ‘एयरपोर्ट होटल’ सञ्चालनका लागि व्यापारीलाई ३० वर्ष लिजमा दिने कोसिस तीव्र छ । उक्त जग्गा १३ वर्षअघिबाटै तानातानमा पर्दै आएको छ ।

प्राधिकरणका नाममा रहेको सो जग्गा २०६४ माघ २७ को मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीका नाममा दर्ता गर्ने निर्णय गरेको थियो । त्यहीअनुसार जग्गा आफ्नो नाममा दर्ता गरी सशस्त्र प्रहरी प्रधान कार्यालयले फागुन ३ गते त्यस ठाउँमा गण स्थापना गरेको थियो । २०६४ देखि हालसम्म यो जग्गासम्बन्धी कान्तिपुरलाई प्राप्त मन्त्रिपरिषद्का निर्णयअनुसार जग्गा सशस्त्र प्रहरी वा प्राधिकरण कसका नाममा दर्ता गर्ने भन्नेमा १० पटक विवाद भएको छ । यति नै पटक प्राधिकरण र सशस्त्रका नाममा जग्गा ल्याउने निर्णय दोहोरिइरह्यो ।

गृह मन्त्रालय र पर्यटन मन्त्रालयबीच जग्गाको भोगचलन र व्यापारिक प्रयोजनबारे लिखित रूपमै आरोप–प्रत्यारोप पनि भएको थियो । तर ती सबै निर्णय र प्रस्ताव मन्त्रिपरिषद् एवं पर्यटन मन्त्रालयबाट बाहिर आएका थिएनन् । कान्तिपुरलाई प्राप्त तथ्यअनुसार गृह मन्त्रालय र पर्यटन मन्त्रालयबाट मन्त्रिपरिषद्‍मा पटक–पटक राय/टिप्पणीसहित पेस भएका प्रस्तावबाट विगतदेखि नै यस्तो प्रयास भएको देखिन्छ ।

प्राधिकरणले विमानस्थलको सुधार र आधुनिकीकरणका नाममा जग्गा व्यापारीलाई दिन पटक–पटक पर्यटन मन्त्रालय र मन्त्रिपरिषद्बाट निर्णय पनि गराएको थियो । तर, गृह मन्त्रालयको असहमतिका कारण प्राधिकरणको योजना अघि बढेन । गृहले पर्यटन मन्त्रालयको प्रस्तावमा भएका पाँचवटा निर्णय मन्त्रिपरिषद्‍बाट बदर गराएर सशस्त्रकै नाममा जग्गा दर्ता गर्न भ्याएको थियो । पर्यटन मन्त्रालयले पनि पटक–पटक नै सशस्त्रबाट प्राधिकरणका नाममा जग्गा ल्याएको पाइएको छ ।

२०६२/६३ को जनआन्दोलनपछि उपत्यकाका सरकारी/सार्वजनिक स्थानका खुला क्षेत्रका जग्गा सरकारबाटै स्वार्थ समूहलाई लिजमा दिने प्रवृत्ति बढेको थियो । त्यही क्रममा विमानस्थलको धावनमार्गबाट नजिकै पर्ने सिनामंगलको उक्त जग्गामा पनि व्यापारीले आँखा गाढेका थिए । २०६४ पुस अघिसम्म सिनामंगल चोकबाट गैरीगाउँतर्फ लाग्दा सडक किनाराबाट दायाँतर्फको ९७ रोपनी ११ आना जग्गा सुकुम्बासीको अतिक्रमणमा परेको थियो ।

गृह मन्त्रालयले त्यहाँबाट सुकुम्बासीलाई हटाएर विमानस्थलको बाहिरी सुरक्षार्थ सशस्त्र प्रहरी उपत्यका सुरक्षा गण स्थापना गरेको थियो । जग्गा सशस्त्रका नाममा ल्याउने र त्यहाँ गण राख्ने प्रस्ताव गृह सचिव उमेश मैनालीले गरेका थिए । त्यति बेला गृहमन्त्री थिए– कृष्णप्रसाद सिटौला । संविधानसभाको पहिलो निर्वाचन तयारी भइरहेको थियो । चुनावी सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला थिए । जनआन्दोलनपछि बनेको सरकारमा तत्कालीन सात राजनीतिक दलको सहमतिमा संयुक्त सरकार गठन भएको थियो ।

जग्गा सशस्त्रका नाममा दर्ता गर्ने निर्णयमा पर्यटन मन्त्रालयले असहमति जनायो । त्यसपछि तत्कालीन पर्यटनमन्त्री हिसिला यमीको प्रस्तावमा २०६५ वैशाख २२ को मन्त्रिपरिषद् बैठकले त्यसअघिको आफ्नै निर्णय बदर गरी प्राधिकरणकै नाममा उक्त जग्गा दर्ताको निर्णय गरेको थियो । त्यसबेलाका गृह सचिव मैनाली सशस्त्रबाट जग्गा फिर्ता गरेर प्राधिकरणले उतिबेलै बहुतले भवन बनाउनका लागि चलखेल गरेको स्मरण गर्छन् । तर, सुरक्षा जोखिम देखेर नै गृहले त्यस ठाउँमा व्यापारीलाई लिजमा दिएर भवन बनाउने चलखेल रोकिएको मैनालीको भनाइ छ ।

गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद् बैठकले २ वटा, माधवकुमार नेपालको मन्त्रिपरिषद्ले ५ वटा, सुशील कोइरालाको मन्त्रिपरिषद्ले १ तथा प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले २ वटा बैठकबाट यससम्बन्धी निर्णय गरेको भेटिएको छ । कान्तिपुरलाई प्राप्त कागजातअनुसार ओलीको मन्त्रिपरिषद्ले २०७२ असोज २८ र २०७२ पुस २९ गतेको निर्णयबाट जग्गा व्यापारीलाई लिजमा दिनेसम्बन्धी निर्णय गरेको थियो । दुवै निर्णय उक्त जग्गामा विमानस्थलको सुरक्षा संवेदनशीलतालाई बेवास्ता गरेर ३० वर्षका लागि लिजमा होटल बनाउन दिने र सशस्त्रका नाममा रहेको जग्गा प्राधिकरणका नाममा ल्याउनेसम्बन्धी छन् ।

२०६६ जेठ ११ देखि २०६७ माघ २२ सम्म प्रधानमन्त्री बनेका तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपालको पालामा मन्त्रिपरिषद्बाट ५ पटक यससम्बन्धी निर्णय भएको थियो । २०६६ असार २२, असोज २८ र पुस ९ गते प्राधिकरणबाट गणका नाममा जग्गा नामसारी गरिएको थियो । उनकै पालामा २०६६ कात्तिक र २०६७ साउनमा आफ्नै मन्त्रिपरिषद्‍बाट भएको निर्णय बदर गरेर प्राधिकरणलाई नै जग्गा फिर्ता गरिएको थियो । त्यसबेला जग्गा लिजमा दिने प्रयास भए पनि गृहकै असहमतिका कारण रोकिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट नजिकै एवं फाइरिङ रेन्जको जग्गा होटल निर्माणका लागि व्यापारीलाई दिने तयारीबारे पूर्वगृह सचिव खेमराज रेग्मीले पनि आपत्ति जनाए । उनले सरकारी जग्गाजमिन दुरुपयोग गर्न मन्त्रिपरिषद्‍बाटै नीतिगत निर्णयका नाममा चलखेल हुने गरेको पनि बताए ।

‘सरकारले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका नाममा रहेको जग्गा सशस्त्र प्रहरीलाई हटाएर ३० वर्षका लागि लिजमा दिन प्रक्रिया अघि बढाउनु आपत्तिजनक छ,’ ट्रान्सपरेन्सी इन्टरनेसनलका पूर्वअध्यक्षसमेत रहेका रेग्मीले भने, ‘यो स्थान विमानस्थल सुरक्षाका दृष्टिमा अति जोखिमपूर्ण छ, ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालमा भ्रष्टाचार बढ्नुमा सरकारी सम्पत्ति अवैध रूपमा हस्तान्तरणलाई पनि उल्लेख गरेको छ, विमानस्थल क्षेत्रको जग्गा लिजमा दिने प्रक्रियाले त्यसलाई थप पुष्टि गर्‍यो ।’

रेग्मीले महत्त्वपूर्ण प्रतिष्ठान र रणनीतिक ठाउँका जग्गामै होटल खोल्न दिनुले सरकारबाटै चलखेल र अपारदर्शी लेनदेन भएको आशंका गरे । सिनामंगलमा होटल खोल्न जग्गा लिजमा लिने प्रस्ताव असल मनसायबाट भएको पत्याउनै नसकिने उनको भनाइ छ । ‘वातावरणीय, आवश्यकता र सरकारी सम्पत्ति सुरक्षाका दृष्टिकोणले होटल खोल्न दिने प्रस्ताव घातक हुन्छ,’ उनले भने ।

प्रकाशित : फाल्गुन १७, २०७७ ०८:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×