‘मेरो ज्यान तलमाथि भइहाले अनौठो नमान्नुहोला’

‘हामी आपराधिक तत्‍वहरुसँग लडिरहेका छौं । जालझेल, षड्यन्त्र, तिकडमबाहेक उनीहरुसँग राजनीति पनि छैन ।’
दीपक परियार

पोखरा — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले गति लिइरहेकाले आफूमाथि प्रहार भइरहेको बताएका छन् । नेकपा ओली समूहको गण्डकी प्रदेशस्तरीय भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले सरकार प्रभावशाली र गतिशील ढंगले अगाडि बढिरहेको दाबी गरे ।

‘मेरो ज्यान तलमाथि भइहाले अनौठो नमान्नुहोला’

‘ममाथि शारीरिक हमला नै भयो, कतै ज्यान तलमाथि भइहाल्यो भने पनि अनौठो नमान्नुहोला तर त्यस्तो हुन दिइने छैन । हामी सतर्कता अपनाउनेछौं,’ उनले भने ।

ओलीले आन्दोलन र पार्टी रहेकाले आफू नरहे पनि केही नहुने बताए । ‘आन्दोलनले प्रतिक्रियावादी तत्त्व र तिनका मतियारहरूसँग घुँडा टेक्नु हुँदैन । देशको भविष्य अन्धकारमा जान दिनु हुँदैन । देश बनाउने पार्टीको भविष्य अन्धकारमा जान दिनु हुँदैन । पार्टीलाई तलमाथि पर्न दिनु हुँदैन,’ उनले भने । उनले दाहाल–नेपाल पक्षले प्रधानमन्त्रीको अपमान गर्ने गरी झूटा लाञ्छना लगाएको दाबी गरे ।

‘उनीहरूले १९ पृष्ठ लामो झूटा आरोपहरूको पुलिन्दा तयार गरेर विश्वव्यापी रूपमा प्रचार गरेको तपाईंहरूले देख्नुभएकै छ । त्यो किन गर्नुपरेको ?’ उनले भने । आन्दोलनले उतारचढाव हुने र यसले शुद्धीकरण खोज्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले सबै पद छाडेर पार्टी एकता गर्ने पक्षमा आफ्नो पार्टी नअल्मलिने बताए । हरेक परिस्थितिको सामना गरेर लोकतन्त्रको रक्षा गर्ने र व्यवहारमा उतार्ने उनले दाबी गरे । ‘हामी आपराधिक तत्त्वहरूसँग लडिरहेका छौं । जालझेल, षड्यन्त्र, तिकडमबाहेक उनीहरूसँग राजनीति पनि छैन,’ उनले भने ।

प्रधानमन्त्री ओलीले दाहाल–नेपाल पक्षलाई केन्द्रीय कमिटीमा बहुमत पार्टी एकता गर्नका लागि आफूले नै दिएको बताए । ‘मैले मेरो नोट कापीमा नाम लेखेर केन्द्रीय कमिटी बनाएको हो । महाधिवेशनबाट छानिएर आएको, चुनाव जितेर आएको कुनै कमिटी हो र त्यो ?’ उनले भने, ‘पार्टीको एकता र देश बनाउनका लागि दिएँ । जुन हातले नाम लेख्यो त्यही हातले काट्न सक्छ ।’ दाहाल–नेपालले बहुमतलाई पार्टी कब्जा गर्न, आन्दोलन ध्वस्त पार्न, देश बर्बाद बनाउन र ‘कम्फर्टेबल’ सरकार बनाइदिन प्रयोग गरेको टिप्पणी गरे ।

नियुक्ति दिनेले नियुक्ति बदर पनि गर्न सक्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देवप्रसाद गुरुङलाई मुख्य सचेतकबाट हटाएर अर्कैलाई नियुक्त गरेको बताए । पार्टी केन्द्रीय सदस्यहरूको पद भने आफूले नचलाएको उनले सुनाए । ‘अध्यक्ष हुँदै हुनुहुन्छ,’ दाहाल–नेपाललाई उनले घोचपेच गर्दै भने, ‘बाटामा अध्यक्ष भएँ भनेर, माइतीघरमा अध्यक्ष भएँ भनेर, कार्की ब्याङवेटमा अध्यक्ष भएँ भनेर, दलको नेता छानिएँ भनेर उनीहरू आफैं अबिर दल्छन्, आफैं लड्डु खान्छन्, आफैं माला लाउँछन् ।’

केन्द्रीय कमिटीको बैठक बोलाएको ठाउँमा नआएर बहुमत छ भन्दैमा पुष्टि नहुने उनको तर्क छ । ‘कार्की ब्याङवेटमा कसैलाई भोज खान बोलाएर, भोज खान आएका मान्छे जतिलाई गनेर मसँग यति मान्छे छन् भने बहुमत हुन्छ ?’ उनले भने, ‘अध्यक्ष, महासचिव र (संसदीय) दलको नेताले बोलाएको बैठकमा आउनुपर्‍यो । दलको नेता विधिवत् खोज्नुस् । आउनुस् न, विधिवत् बैठक बोलाइदिन्छु ।’ प्रधानमन्त्री पनि विधि, पद्धति र प्रक्रियाबाट खोजिनुपर्नेमा अहिले ‘दौडादौड’ चलिरहेको ओलीको भनाइ थियो । ‘उहाँहरू अपराध नै गर्न सफल हुनुभयो भने पनि विधि प्रक्रियाबाट आउनुस् । हामी मान्छौं । मानेर केही बिग्रिँदैन । डेढ वर्ष हामी प्रतिपक्षमा बसौंला । डेढ वर्ष प्रतिपक्षमा बसेपछि दुई तिहाइको बहुमतसहित फेरि फर्किन्छौं ।’

विधि, पद्धति, प्रक्रियाको कुरा गर्ने माधवकुमार नेपाल पक्षकै नेताले गलहत्याएर प्रधानमन्त्री निकाल्ने अभिव्यक्ति दिनु अप्रजातान्त्रिक रहेको ओलीको प्रतिक्रिया थियो । ‘प्रधानमन्त्री अविश्वासको प्रस्तावबाट हटाउने हो, गलहत्याएर होइन,’ उनले भने, ‘अविश्वास प्रस्ताव राखेर हटाउन पाउनुहुन्छ, हटाउनुस् न । त्यो बाटो नजाने, गलहत्याउने ! कुन लोकतान्त्रिक अभ्यासभित्र पर्छ यो ? भारतमा गलहत्याएर प्रधानमन्त्री जित्छन् ?’ कुस्तीमा हारजितबाट प्रधानमन्त्री फेर्ने हो भने जित्नेले प्रधानमन्त्री बन्ने नियम बसाल्नुपर्ने भन्दै उनले व्यंग्य गरे ।

‘देश अन्योल र अलमलमा फस्यो’

प्रधानमन्त्री ओलीले आफ्नै पार्टीभित्रबाट काम गर्न नदिइएपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताए । देशले निर्वाचनको बाटो लिइसक्दा सर्वोच्च अदालतले (विघटन बदरको) फैसला गरेको र यसले मुलुक फेरि अन्योल र अलमलमा फसेको उनको प्रतिक्रिया थियो । ‘यो राजनीतिक विषय राजनीतिक रूपमा जनताको बीचबाट टुंगिने कुरा हो,’ उनले भने, ‘जे भए पनि सर्वोच्च अदालतको फैसलालाई मान्छौं, कार्यान्वयन गर्छौं ।’

दाहाल–नेपाल पक्षमा लागेकालाई आफ्नो पक्षमा फर्किन पनि उनले आह्वान गरे । आफूलाई कम्युनिस्ट भन्नेले गलत बाटो छाड्नुपर्ने उनको भनाइ थियो । ‘विप्लव (नेत्रविक्रम चन्द) लाई भन्न चाहन्छु, शान्तिपूर्ण राजनीतिमा आउनुस् जनताले जयजयकार गर्छन् । सुतली बम पड्काएर किन बस्नुहुन्छ?’ उनले भने, ‘देश विकासको अभियानमा लाग्नुस् । सकारात्मक कामका लागि सरकार तपाईंलाई साथ दिन तयार छ । आउनुस् वार्ता गरौं ।’ चन्द समूहसँग छिटै कुराकानी हुने जनाउँदै त्यसले सही बाटो समात्ने आशा व्यक्त गरे । भेलामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, कृषि सहकारीमन्त्री पद्मा अर्यालले पनि मन्तव्य राखेका थिए ।

‘घाट एउटै’

प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा सोमबार गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्दै कोभिड–१९ विरुद्ध सफलता हासिल गर्ने एक प्रतिशत मुलुकमा नेपाल पर्ने बताएका छन् । ‘कोरोनाविरुद्धको भ्याक्सिन ल्याइसकेका छौं, ल्याइँदै छ, लगातार ल्याउँछौं, कमी हुन दिँदैनौं,’ उनले भने, ‘सबै नागरिकको पीसीआर टेस्ट, कोरोनाको उपचार र भ्याक्सिन निःशुल्क गरिरहेका छौं । यस्तो काम गर्ने देश दुनियाँमा थोरै मात्र पर्छन् ।’

उनले एकै दिन ३ सय ९ अस्पतालको शिलान्यास गर्नु ठूलो उपलब्धि रहेको बताए । विकासका लागि सत्ता र प्रतिपक्ष भन्न नहुने उनको भनाइ थियो । ‘विकास सबैको साझा काम हो । सबैका छोराछोरी एउटै स्कुल, कलेज र विश्वविद्यालयमा पढाउनुपर्छ । आज पक्ष र प्रतिपक्ष जे–जे होला । बच्चा जन्माउने अस्पताल र अन्तिम दाहसंस्कार गर्ने घाट पनि एउटै हुन्छन् । घाट पुग्ने बेला पक्ष र प्रतिपक्षका सबै तुजुक सिद्धिएको हुन्छ । एउटै घाटमा हामी जानुपर्छ,’ उनले भने ।

प्रकाशित : फाल्गुन १८, २०७७ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?