कंक्रिटमा बज्रियो अभियन्ताको घन- समाचार - कान्तिपुर समाचार

कंक्रिटमा बज्रियो अभियन्ताको घन

दामोदर न्यौपाने

काठमाडौँ — कमलपोखरीको बीचमा लगाइएको कंक्रिट शुक्रबार नागरिक अभियन्ता टोलीले भत्काएको छ । ऐतिहासिक र सांस्कृतिक महत्त्वको कमलपोखरीमा काठमाडौं महानगरपालिकाले सौन्दर्यकरण गर्ने नाममा कंक्रिटका संरचना बनाउन सुरु गरेको भन्दै उनीहरूले घन प्रहार गरी भत्काएका हुन् ।

कमलपोखरी पुनर्निर्माणका क्रममा पोखरीको बीचमा बनाइएकोकंक्रिट संरचना भत्काउँदै बृहत् नागरिक आन्दोलनका अभियन्ता । तस्बिर : अंगद ढकाल/कान्तिपुर

‘हामीले विरोध गर्दागर्दै जबर्जस्ती पोखरीको बीचमा कंक्रिट राखियो,’ सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधरले भने, ‘शिष्ट तरिकाले भन्दा महानगरले नमानेपछि माइतीघरमा जम्मा भएका नागरिक आन्दोलनका अगुवाले भत्काइदिए । यो सांकेतिक विरोध हो । महानगर घेराउ गर्नेलगायत कार्यक्रम घोषणा गरेका छौं ।’

महानगरले पोखरीभित्र पाँच ठाउँमा ढलान गर्न थालेको थियो । पोखरीको बीचमा र अरू चार कुनामा कंक्रिटको कमल बनाउने महानगरको योजना छ । महानगर सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले भने पोखरीको बीचमा पानीको फोहोरा दिनका लागि कंक्रिट राखिएको दाबी गरे । ‘पानीको फोहोरा दिने संरचनाचाहिँ कमलको आकारमा बनाउन लागिएको हो, कुरा अलि बुझाउन सकेनौं हामीले,’ उनले भने, ‘पानीको फोहोरा दिने पाइप अड्याउन ढलान गरेका हौं ।’

बस्नेतले कमल नराख्ने भने पनि पोखरीको नक्सामा बीचमा कमलको फूल देखाइएको छ । कंक्रिटको कमल राख्नैका लागि पोखरीसमेत सुकाइएको छ । पोखरीमा कंक्रिट राख्नु र पानी सुकाउनु प्राचीन स्मारक संरक्षण ऐनविपरीत छ । ऐन मिचेको भन्दै त्यसलाई रोक्न सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको रिट दर्ता भएको छ । सर्वोच्चले पोखरीको अध्ययन गरेर प्रतिवेदन बुझाउन आदेश दिएको छ । महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले पानी सुकाएकोप्रति असहमति राखेकी छन् । ‘पानी सुकाउनै पर्दैनथ्यो,’ उनले भनिन्, ‘पानीमा त माछालगायत जीवजन्तु पनि बस्छन् नि, त्यसको विषयमा सोच्नु पर्दैन ?’ उनले बजेट छुट्याउने विषयमा छलफल भए पनि अरू विषय आफूलाई थाहा नदिएको बताइन् ।

गत महिना पुरातत्त्व विभागले मौलिकता जोगाउन पत्र लेखेकै राति महानगरले पोखरीमा डोजर छिराएको थियो । डोजर लगाएर माटो निकाल्दा पानी नअडिने भन्दै संरक्षणकर्मीले विरोध गरे । ‘माटो झिक्यो भने पनि पानी अडिँदैन, सुकाएर धाँजा फाट्यो भने पनि अडिँदैन,’ आर्किटेक्ट सुसन वैद्यले भने, ‘रानीपोखरीको जस्तो फेरि कालोमाटो छापेर मात्र पानी अडिन्छ तर कमलपोखरीमा माटो छाप्ने गरी लागत इस्टिमेट गरिएको छैन ।’

३५ रोपनी क्षेत्रफलमा खुला व्यायाम क्षेत्र, ब्याडमिन्टन कोर्ट, बास्केटबल कोर्ट, बालबालिका खेल्ने ठाउँलगायत संरचनासहितको कमलपोखरी पार्क बनाउने महानगरको योजना छ । पोखरीको घाटमा कंक्रिट राख्दा पानी पुनर्भरण व्यवस्था अवरुद्ध हुने भन्दै विज्ञले आपत्ति जनाएका छन् । ‘पोखरीको छेउछाउमा कंक्रिट राख्दा पानी पुनर्भरण गर्ने प्रणाली बिग्रिन्छ,’ पानीविज्ञ अजय दीक्षितले भने, ‘हरेक ठाउँमा सहरीकरण बढेको छ । पानीका यस्ता मौलिक प्रणाली जोगाउनुपर्छ ।’ पोखरीको बीचभागमा जान मिल्ने गरी पुलसमेत बनाउन लागिएको छ । पुल, वरिपरिको घाटलगायत निर्माण गर्दा पोखरीको आकार घट्ने भएको छ । सहरी वास्तुकलाविद् प्राध्यापक सुदर्शनराज तिवारीले पोखरीको महत्त्वपूर्ण पाटो नै पर्यावरण भएको बताए ।

पोखरीमा गहिरो धाँजा फाट्यो भने पछि पानी अड्याउन नसकिने पोखरी तथा ढुंगेधाराविज्ञ सुशील श्रेष्ठको भनाइ छ । महानगरले म्याद थप गरी चैतसम्ममा पुनर्निर्माण सक्ने लक्ष्य राखेको छ ।

प्रकाशित : फाल्गुन १५, २०७७ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्

कोइलाखानीमा अड्किएको जीवन

१७ दिनकी सुत्केरी श्रीमतीलाई स्याहार्न साँझ नपर्दै आउँछु भन्दै गएका थिए मोहनलाल, तर फर्केनन्
दुर्गालाल केसी

तिर्साङ, दाङ — बिहान उठ्नेबित्तिकै सुत्केरी पत्नीलाई खाना पकाइदिए, आफूलाई खानेकुरा पोको पारे । त्यसपछि मोहनलाल कामी बिहान ७ बजे घरबाट उकालो लागे । ‘समयमै खाना खानू, आफ्नो ख्याल गर्नू, म छिट्टै आउँछु’ भन्दै उनी कोइलाखानीमा काम गर्न गएका थिए ।

दाङको घोराही–१९ राम्चेस्थित कोइलाखानीमा पुरिएर मृत्यु भएका मोहनलाल कामीको शोकमा श्रीमती शान्ति, कान्छा छोरा अशोक, किरिया बसेका १३ वर्षीय छोरा दीपक र आफन्त (बायाँ) । घोराही–१९ तोसस्थित खानीबाट कोइला निकालेर ल्याउँदै स्थानीय प्रेम पुन (दायाँ माथि) र तोस कोइलाखानीको सुरुङ । तस्बिर : दुर्गालाल केसी/कान्तिपुर

श्रीमान् छिट्टै आएर बेलुकाको खाना पकाउलान् भन्ने आसमा बसेकी श्रीमती शान्ति कामीले अपराह्नतिर नराम्रो खबर सुनिन् । छोराहरू ‘बाबा खानीमा पुरिए रे’ भन्दै रुँदै आए, शान्तिलाई पत्याउन गाह्रो भयो । उनी सकीनसकी कोइलाखानीमा पुगिन्, पोको पारेको श्रीमान्को शव देखिन् । त्यसपछि उनका हातखुट्टा गले, बोली फुटेन, सबैतिर अन्धकार देखिन् ।

घोराही–१९ तिर्साङका ४१ वर्षीय मोहनलाल गत सोमबार स्थानीय राम्चे कोइलाखानीको सुरुङभित्र पुरिएका हुन् । बिहान ८ बजे कोइलाखानीभित्र पसेका उनी ११ बजे खाना खान निस्केका थिए । घरबाट बिहान बोकेर लगेको भात खाएर १ बजे फेरि खानीमा पसेका थिए । कोइला खन्दाखन्दै दिउँसो साढे २ बजेतिर माथिबाट ठूलो ढुंगा खस्यो र ऐय्या पनि भन्न नपाई उनको ज्यान गयो ।

छेउमै भएका रिखुराम घर्ती, शोभाकर सुनार र धनबहादुर पुन दौडेर नजिक गए तर त्यतिबेलासम्म प्राण गइसकेको थियो । १३ वर्षदेखि निरन्तर खानीमा कोइला निकाल्ने काम गर्दै आएका मोहनलाल १ सय ६० मिटर गहिराइमा च्यापिएका थिए । प्रहरी र स्थानीयको सहायताले बेलुकापख मात्रै उनको शव निकालिएको थियो । खानीभित्रको काम जोखिमपूर्ण भए पनि जीवन चलाउन नगरी नहुने बाध्यता थियो उनको ।

‘म सुत्केरी भएपछि केही दिन बिदा बसेर मेरो स्याहार गर्नुभयो तर साँझ–बिहान खाना जुटाउन गाह्रो भयो अनि फेरि काममा जानुभयो,’ शान्तिले भनिन्, ‘अघिल्लो दिन बेलुका खानीमा पानी निस्केको छ, काम गर्न गाह्रो हुन्छ जस्तो छ भन्नुभएको थियो । मैले भोलि काममा नगए भयो नि भनें तर सुत्केरीलाई खाने खर्च चाहियो भन्दै भोलिपल्ट काममा गइहाल्नुभयो ।’

दाङको घोराही–१९ राम्चेस्थित कोइलाखानीमा पुरिएर मृत्यु भएका मोहनलाल कामीको शोकमा श्रीमती शान्ति, कान्छा छोरा अशोक, किरिया बसेका १३ वर्षीय छोरा दीपक र आफन्त तस्बिर : दुर्गालाल केसी/कान्तिपुर

रोल्पाको सीमा क्षेत्रमा पर्ने तिर्साङ गाउँ भौगोलिक रूपमा विकट छ । सदरमुकाम घोराहीबाट २१ किलोमिटर उत्तरमा पर्ने उक्त क्षेत्रमा सिँचाइको सुविधा नभएकाले उब्जनी हुँदैन । गरिब दलित परिवारका मोहनलालको खरले छाएको सानो घर छ । थोरै बारी छ । त्यसमा वर्षमा एक बाली मकै मात्र लाग्छ । मकैले एक महिना पनि खान पुग्दैन । ११ महिनाका लागि मजदुरी गर्नैपर्ने बाध्यता रहेको शान्तिले बताइन् । ‘ज्यान पाल्न केही न केही काम गर्नैपर्‍यो । नजिकमा पैसा हुने अरू केही काम छैन,’ उनले भनिन्, ‘नजिकमा भएको त्यही खानीको काम थियो, त्यसैले ज्यान लियो । अब कसले कमाएर खान दिने हो, छोराछोरी कसरी पाल्ने हो ?’

कक्षा ३ मा पढ्ने १३ वर्षीय छोरा दीपक किरिया बसेका छन् । कान्छा छोरा अशोक ५ वर्षका भए । जेठी छोरी गीताको विवाह भइसकेको छ । माइली छोरी शर्मिला ११ वर्षकी भइन् । उनी कक्षा २ मा पढ्छिन् । भर्खरै छोरी जन्मेकी छन् । उनी अहिले २१ दिनकी भइन् । शान्तिलाई साना छोराछोरीको भविष्य के होला भन्ने पीर छ । ‘गरिबलाई बाँच्न गाह्रो छ,’ उनले भनिन्, ‘ज्यान पाल्ने कामले नै ज्यान लियो । अब कसरी बाँच्नू ?’ घरमा छिमेकीहरू आएर सान्त्वना दिइरहेका छन् तैपनि शान्तिको मन मानेको छैन । आफ्नो मनलाई सम्झाउन गाह्रो भएको छ ।

काल बन्छ खानी

कोइलाखानीभित्रको काम निकै जोखिमपूर्ण छ । जीवन हत्केलामा राखेर हरेक दिन मजदुरहरू सुरुङभित्र पस्छन् । बाँचेर फर्किने आशा हुन्छ, भरोसा हुँदैन । घरपरिवारलाई पनि बिहान गएको मानिस बेलुका फर्केर आउँछ कि आउँदैन भन्ने द्विविधा हुन्छ । यही जोखिमका बीच पनि हरेक दिन खानीभित्र पस्ने र कोइला निकाल्ने क्रम चलिरहेको हुन्छ । राम्चे खानीमा पनि नियमित १५ जना मजदुर सुरुङभित्र काम गर्छन् ।

घोराही-१९ राम्चेस्थित कोइलाखानीको सुरुङ र त्यसमा राखिएका मजदुरका कपडा । तस्बिर : दुर्गालाल केसी/कान्तिपुर

सोमबार मोहनलालसहित चार जना एकै ठाउँमा काम गरिरहेका थिए भने अन्य सुरुङभित्र अरू ११ जना साथीहरू थिए । सुरुङभित्र विभिन्न बाटो हुने भएकाले मूल सुरुङबाट पसिसकेपछि भित्र उनीहरू आ–आफ्नो बाटोमा लाग्छन् । माथिबाट ढुंगामाटो खस्न थाले रोक्ने उपाय केही छैन । कतैकतै काठको टेकासो लगाइए पनि त्यसले छेक्ने सम्भावना कमै हुन्छ । कतै बोरा राखेर अड्याइएको हुन्छ । सुरुङभित्र पानी जमेर पनि कोइला निकाल्न समस्या हुन्छ । जोखिम मोलेर काम गर्नुपर्ने भएकाले कोइलाखानी काल नै भएको मजदुरहरूको अनुभव छ । १० वर्षको अवधिमा खानीमा पाँच जनाको मृत्यु भइसकेको छ, धेरै जना घाइते भएका छन् । घोराही–१९ तोसस्थित खानीमा स्थानीय दुर्गे राना र चन्द्रबहादुर विकको ज्यान गयो ।

यसैगरी बोक्सिनी भीरको खानीमा रोल्पा रुन्टीगढीका टीका डाँगी र फलितेखानीमा स्थानीय भीमकान्त रावतले ज्यान गुमाए । सोमबार मोहनलालको मृत्यु भयो । खानीमा चार जना गम्भीर घाइते भएका थिए । घोराही–१९ राम्चेका बलबहादुर विक र वसन्त पुरी तथा बयालीकोटका गमे रोका र रामसिं घर्ती खानीभित्रै च्यापिएर गम्भीर घाइते भएका छन् ।

घोराही–१९ तोसस्थित खानीबाट कोइला निकालेर ल्याउँदै स्थानीय प्रेम पुन तस्बिर : दुर्गालाल केसी/कान्तिपुर

आफ्नै आँखाअगाडि सँगै काम गरिरहेका साथीको मृत्यु भएपछि अन्यले काम छाड्ने निधो गरेका छन् । अहिले खानी सुनसान छ । कोही पनि काममा गएका छैनन् । ‘छेउमै काम गरिरहेका साथीको मृत्यु भयो । बल्ल भाग्यले बाँचियो, अब काम गर्न सकिँदैन,’ मोहनलालसँगै काम गरेका शोभाकर सुनारले भने, ‘यस्तो खतरा काम गरिँदैन अब । अरू नै केही काम गरेर ज्यान पाल्ने हो । खानीमा पस्ने काम गरिँदैन ।’ मोहनलालका अर्का साथी रिखुराम घर्ती पनि काम नगर्ने सोचमा पुगेका छन् । ‘यो कोइलाखानी होइन, काल नै हो । जानीजानी कालको मुखमा किन पस्नू ?,’ उनले भने, ‘अब खानीमा पस्ने काम गरिँदैन । अहिले त खानी नजिक जान पनि डर लाग्छ ।’

मजदुरहरूका लागि सुरक्षाको कुनै उपाय नभएकाले ज्यानको जोखिम बढिरहेको घोराही–१९ का वडाध्यक्ष हर्क घर्तीले बताए । ‘भित्र काम गर्नेका लागि हेलमेट र बुटजस्ता कुनै पनि सुरक्षा सामग्रीसहितको उपाय अपनाइएको छैन । हामीले कोइला निकासी गर्ने कम्पनीलाई पटक–पटक भन्दा पनि अटेर गरिरहेका छन्,’ उनले भने, ‘कुनै पनि वैज्ञानिक मापदण्डबिना कोइला खनिन्छ । कतिबेला कहाँ भत्किन्छ, केही पनि थाहा हुँदैन ।’ मजदुरलाई सुरक्षासम्बन्धी तालिम दिएर वैज्ञानिक तरिकाले मात्रै कोइला निकाल्न सकेमा काम गर्दा सुरक्षा हुन सक्ने उनले बताए । मृतक मोहनलालका परिवारलाई बिमाबाट ५ लाख र कोइला उत्खननको काम गरिरहेको सत्यसाई कोल उद्योगबाट ५ लाख रुपैयाँ दिने सहमति गराएको उनले बताए । मृत्युपछि क्षतिपूर्ति दिनेमा कम्पनी तयार भए पनि अग्रिम सुरक्षामा ध्यान नपुगेको घर्तीले बताए । अब सुरक्षाका मापदण्ड नअपनाई खानीमा काम सुरु नगर्न कम्पनीलाई आग्रह गरेको उनले बताए ।

तोस कोइलाखानीको सुरुङ । तस्बिर : दुर्गालाल केसी/कान्तिपुर

सुरक्षासम्बन्धी खासै उपकरण प्रयोग नभए पनि मजदुरहरूले अनुभवका आधारमा काम गर्ने गरेको सत्यसाई कोल उद्योगका खानी इन्चार्ज लुमाकान्त बुढाथोकीले बताए । ‘यो खानीमा सामान्य चोटपटक लागे पनि मान्छेको मृत्यु भएको थिएन । यो पहिलो घटना हो,’ उनले भने, ‘खानीभित्र काम गर्ने १५ जनाको बिमा गरिएको हुन्छ । सुरक्षित तरिकाले काम गर्न सिकाइएको हुन्छ । कहिलेकाहीं दुर्घटना हुन्छ । काम नै त्यस्तै खालको छ ।’

नियमनमा उदासीनता

खानीभित्र बाटो खोल्दा र थप कोइला खोज्न ढुंगा–चट्टान काट्नुपर्छ । कामदारले छिनो र हतौडाको भरमा बाटो खोल्ने गर्छन् । सुरुङभित्र लाइट बालेर, निहुरिएर हिँड्नुपर्छ । घोराहीको उत्तरी पहाडमा कोइलाको खानी छ । घोराही–१९ कै तोसमा तीनवटा खानी छन् । यसमा २१ जना कामदार सुरुङभित्र खन्ने र ३२ जनाले बोक्ने काम गर्छन् ।

एक क्विन्टल कोइला खन्दा १ सय ४० रुपैयाँ पाइने र दिनमा एक जनाले ८ देखि १० क्विन्टलसम्म खन्ने गरेको तिर्साङका वसन्त विकले बताए । बोक्नेले एक क्विन्टलको ७० रुपैयाँ पाउँछन् ।

तोस कोइलाखानीको सुरुङ । तस्बिर : दुर्गालाल केसी/कान्तिपुर

जिल्लामा १२ ठाउँबाट कोइला उत्खनन हुन्छ । घोराही–१९ को बोल्दी, राम्चे, बजारपानी र तोस तथा बंगलाचुली गाउँपालिकाको मर्पेस, छिपन, बोक्सिनी भीर, ठाडा, ज्यामुरे र भुल्केमा एक/एक कोइलाखानी छन् । बंगलाचुलीको टाकुरामा दुई खानी छन् । राम्रो गुणस्तरको कोइला विद्युत् निकाल्न, खाना पकाउन र विभिन्न उद्योगमा इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ । दाङमा पाँचवटा कम्पनीले कोइला उत्खनन गरिरहेका छन् । एक कम्पनीले वार्षिक १ हजार २ सय मेट्रिक टन उत्पादन गर्ने गरेको सम्बन्धित कम्पनीहरूले जानकारी दिएका छन् । जिल्लामा २५ वर्षअघि कोइला उत्खनन सुरु भएको हो ।

कोइलाखानीभित्र कसरी काम हुन्छ भन्नेबारे नियमन हुन सकेको छैन । खानी तथा खनिज पदार्थ नियमावली २०५६ मा उत्खनन गर्दा पालना गर्नुपर्ने सर्तअन्तर्गत दफा १९ को उपदफा ६ मा उत्खनन कार्य गर्दा खोलेको टोपा, टनेल, खाल्टा इत्यादिमा कुनै दुर्घटना हुन नपाउने गरी सुरक्षाको व्यवस्था गर्नुपर्ने उल्लेख छ । दफा ३८ मा खानीको जिल्ला विकास समितिले अनुगमन गर्नुपर्ने व्यवस्था छ तर अहिलेसम्म अनुगमन हुन सकेको छैन । दफा ३८ को उपदफा १ मा अनुगमन समितिले प्रचलित ऐन, नियम र मापदण्डअनुसार काम नभए कम्पनीलाई आवश्यक निर्देशन दिन, उत्खनन कार्य रोक्न र अनुमतिपत्र खारेज गर्न सक्नेसम्मको अधिकार दिइएको छ ।

घोराही-१९ तोसस्थित कोइलाखानी क्षेत्र । तस्बिर : दुर्गालाल केसी/कान्तिपुर

कोइलाखानीको अनुगमन गर्ने जिम्मेवारी र अधिकार पाएको जिल्ला समन्वय समितिले हालसम्म अनुगमनसमेत गरेको छैन । खानीमा भएको जोखिम तथा क्षतिबारे जानकारी पाएको र अब अनुगमनमा जाने योजना बनाइरहेको जिसस प्रमुख जितेन्द्रमान नेपालीले बताए । ‘यसअघि पनि कोइलाखानीको समस्याबारे समाचार आएको थियो । त्यतिबेला पनि जाने प्रयास गरेका थियौं तर अन्य व्यस्तताले वातावरण मिलेन,’ उनले भने, ‘अब हामी चाँडै खानीको अनुगमन गरी उचित नियमन गर्छौं । खानीको जोखिम न्यूनीकरण गर्न जरुरी छ । यसमा हामी गम्भीर छौं ।’

प्रकाशित : फाल्गुन १५, २०७७ ०७:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×