कपिलवस्तु, रूपन्देही र पाल्पामा पनि बाघ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कपिलवस्तु, रूपन्देही र पाल्पामा पनि बाघ

गत वैशाखमा २५०० मिटरको उचाइको डडेलधुरा र मंसिरमा ३२०० मिटर उचाइको इलाम–पाँचथर सीमाको छिन्टापुमा पनि बाघ देखिएको थियो ।
अब्दुल्लाह मियाँ

काठमाडौँ — हालैको एक अध्ययनले कपिलवस्तु, रूपन्देही र पाल्पामा समेत बाघ रहेको पुष्टि गरेको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले संयुक्त रूपमा चुरे क्षेत्रमा गरेको अध्ययनले यस्तो देखाएको हो । ती जिल्लामा पहिलोपटक एक भाले र एक पोथी बाघ क्यामेरा ट्य्रापमा रेकर्ड भएका हुन् ।

राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति र एनटीएनसीले गरेको अध्ययनका क्रममा कपिलवस्तु, रूपन्देही र पाल्पामा क्यामेरा ट्य्रापमा रेकर्ड भएका बाघ ।

‘बुटवलबाट उत्तर पश्चिमतिरको जंगलमा सन् २००८, २००९, सन् २०१३ र २०१८ मा बाघ र बाघका आहारा प्रजाति गणना गर्दा बाघ रेकर्ड भएको थिएन,’ भर्खरै सार्वजनिक ‘रिपोर्ट अन फाउना डाइभरसिटी इन चुरे रिजन अफ नेपाल’मा भनिएको छ, ‘समग्र चुरे क्षेत्रमा ४१ प्रजातिका स्तनधारी वन्यजन्तु क्यामेरा ट्य्रापमा रेकर्ड भएका छन् ।’

४१ मध्ये २० प्रजाति आईयूसीएनको रेडलिस्टमा सूचीकृतमध्येका हुन् । त्रिजुंगा वनक्षेत्र (कोसीटप्पु वन्यजन्तु आरक्षबाट उत्तर पश्चिम) मा काठे भालुमेत रेकर्ड भएको छ । यसअघि उक्त क्षेत्रमा काठे भालु पाइएको थिएन ।

समग्र चुरेक्षेत्रमा सबैभन्दा बढी रातो बाँदर रहेको समेत प्रतिवेदनमा उल्लेख छ । सरकारले संरक्षित सूचीमा राखेका २७ प्रजातिमध्ये चुरे क्षेत्रमा हुँडार र चितुवाको फैलावट सबभन्दा बढी छ । कालो सालक चुरेको चितवन र उदयपुरमा क्यामेरा ट्य्रापमा परेका छन् ।

तामे सालक, बाघ, हात्तीलगायत वन्यजन्तु संरक्षण क्षेत्रबाहिर पनि रेकर्ड भएको प्रतिवेदनमा छ । चुरे क्षेत्रमा ३७८ प्रजातिका चरासमेत रेकर्ड भएका छन् ।

अध्ययनले इलाममा भ्यागुता (गोल्डेन ब्याक्ड फ्रग) र उदयपुरमा गोहोरो (द वाटर मोनिटर लिजार्ड) नेपालका लागि नयाँ रेकर्ड भएकोसमेत उल्लेख छ । चुरे क्षेत्रमा २७९ प्रजातिका पुतली रेकर्ड भएको र तीमध्ये १८ नेपालका लागि नयाँ भएको समेत उल्लेख छ ।

चुरेक्षेत्र भएर बग्ने नदीहरूमा १०४ प्रजातिका माछा रहेको र सबैभन्दा बढी प्रजाति कर्णाली नदीमा रहेको उल्लेख छ । त्यसपछि महाकाली र बबईमा छन् ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले चुरेक्षेत्रमा रहेका वन्यजन्तुबारे अध्ययन गर्ने जिम्मा एनटीएनसीलाई दिएको थियो । एनटीएनसीले १२.८ वर्ग किमिमा फैलिएको चुरेक्षेत्रमा क्यामेरा ट्य्राप प्रविधिमार्फत वन्यजन्तुको अध्ययन गरेको हो । प्रतिवेदन वन्यजन्तु र जैविक विविधता संरक्षणमा आबद्ध २० जना विशेषज्ञ सम्मिलित टोलीले तयार पारेको हो ।

प्रकाशित : फाल्गुन १४, २०७७ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्

‘नेपाली स्वाद संसारभर चिनिन सक्छ’

कान्तिपुर संवाददाता

काठमाडौँ — बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूकेको उपविजेता बनेपछि सन्तोष साहको ख्याति मात्रै फैलिएन, नेपाली खाना पनि संसारभर चिनियो । मधेसबाट संघर्ष गर्दै अघि बढेका सन्तोषले हासिल गरेको प्रख्याति त लोभलाग्दो छ नै, त्योभन्दा धेरै उनले नेपाली खानाको विश्वव्यापीकरणमा पुर्‍याएको योगदान चर्चायोग्य छ ।




दुई वर्षपछि बिहीबार मात्रै नेपाल फर्केका सेफ सन्तोष साहसँग उनको जीवनको संघर्ष, सफलता र नेपाली खानाको विश्वव्यापीकरणबारे जनकराज सापकोटाबुनु थारूले गरेको कुराकानीको :

प्रकाशित : फाल्गुन १४, २०७७ १२:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×