कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीको कुर्सी छोडेर आन्दोलनमा आउन ओलीलाई कांग्रेस नेता पौडेलको चुनौती

अबधेशकुमार झा

राजविराज — प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्क्याउनु आपत्तिजनक भएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । ‘प्रतिनिधिसभा पुन:स्थापनाको फैसला भए आन्दोलन गर्छु भनेर प्रधानमन्त्री भनिरहेका छन्’, पौडेलले भने, ‘यसरी अदालतलाई धम्क्याउनु आपत्तिजनक छ,’ पौडेलले भने,‘म सप्तरीको राजविराजबाट प्रधानमन्त्रीलाई आह्वान गर्छु प्रधानमन्त्रीको कुर्सी छोडेर आन्दोलनमा आउनुस्, हेरौं कस्तो आन्दोलन गर्नुहुन्छ ?’

प्रधानमन्त्रीको कुर्सी छोडेर आन्दोलनमा आउन ओलीलाई कांग्रेस नेता पौडेलको चुनौती

सप्तरीको राजविराजमा आइतबार आयोजित पत्रकार सम्मेलनमा पौडेलले लोकतन्त्रमा प्रधानमन्त्रीमा कुनै अन्तरनिहित अधिकार नरहने गरेको बताउँदै प्रतिनिधिसभा पुन:स्थापना हुनेबित्तिकै ओली समाप्त हुने बताए । केपी ओली लोकतन्त्रका लागि खतरा रहेको पौडेलले आरोप लगाए ।

नेता पौडेलले ००७ सालदेखि हालसम्मको आन्दोलनमा मधेसका नेताहरुको ठूलो योगदान रहेको बताउँदै ती नेताहरुको सम्मान र ऐतिहासिक ठाउँहरुको भ्रमणका लागि आफू मधेस सम्मान यात्रामा निस्केको जानकारी दिए । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आन्दोलन चर्काउनुपर्ने भन्दै आएका पौडेलले सर्वोच्च अदालत संसद् पुन:स्थापना नजिक रहेकाले तत्काल कांग्रेसलाई ठूलो आन्दोलन गर्नुपर्ने आवश्यकता नरहेको बताए ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालतले विचार गरिइरहेकाले कांग्रेसले अहिले ठूलो आन्दोलन नगरेको बताए । ‘कोही भ्रममा नरहँदा हुन्छ’, पौडेलले भने, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक हो, पुनर्स्थापनाले मात्र संर्वाधिक हुन सक्छ ।’

संविधानमा जे छ अदालतले पनि त्यही गर्ने उल्लेख गर्दै पौडेलले भने,‘जतिसुकै सेटिङ गरेपनि अदालत संबिधान वाहिर गएर फैसला गर्न सक्दैन ।’

राष्ट्रको संकल्पको रुपमा रहेको संविधानलाई अदालतले उल्ट्याउन नसक्ने बताउँदै पौडेलले संसद् पुनर्स्थापना नभए नेपालमा अनर्थ हुने बताए ।


प्रकाशित : फाल्गुन ९, २०७७ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?