कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जन्मिए नयाँ प्रविधि

कोभिड महामारी रोक्न गरिएको लकडाउनसँगै व्यक्तिगत र संस्थागत रुपमा धेरै प्रयास भए, जसले महामारीसँगको लडाइँलाई केही सहज बनायो । तीमध्ये केही प्रयासले मूर्तरुप पाए भने केहीले भविष्यका लागि आशा जगाए । 
विजय तिमल्सिना

कोभिड–१९ को संक्रमण रोक्न सरकारले चैत ११ देखि लकडाउन घोषणा गरे पनि उपत्यकासहित देशभर नै संक्रमितको संख्या ह्वारह्वार्ती बढिरहेको थियो । संक्रमितको उपचारमा सहज होस् भनेर सरकारले देशैभर कोभिड अस्पताल तोक्यो तर तिनले मात्रै स्वाब संकलन र कोभिड परीक्षणको माग धान्न सक्ने अवस्था थिएन ।

जन्मिए नयाँ प्रविधि

देशमा कोभिड–१९ को संक्रमणको दर जति सक्रिय थियो, त्यति नै सक्रिय बन्यो नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) पनि । सरकारलाई कोभिड–१९ को परीक्षण तीव्र बनाएर सक्दो छिटो महामारी नियन्त्रण गर्नुपर्ने दबाब थियो तर यसका लागि संक्रमणको शंका भएका व्यक्ति अस्पताल धाउनुको विकल्प थिएन । अस्पतालमा कोभिड परीक्षण गर्ने भीडले थप संक्रमण फैलिने जोखिम उत्तिकै थियो ।

कोभिड–१९ को भय उच्चतम बिन्दुमा पुगेका बेला नास्टले नयाँ उपाय लगायो, जसले उपत्यकामा स्वाब संकलन र कोभिड परीक्षण तीव्र बनाउन सघायो । नास्टले बनाएको स्वाब संकलन गर्ने मोबाइल भेहिकलले उपत्यकाका समुदाय–समुदायमा पुगेर स्वाब संकलनका लागि सहज बनायो । नास्टले बनाएको स्वाब संकलन गर्ने भेहिकल सुरुमा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) सहित सशस्त्र प्रहरी, नेपाल प्रहरी, टेकु अस्पताल र काठमाडौं महानगरपालिकाले प्रयोग गरे ।

स्वास्थ्यकर्मीले भित्र बसेर स्वाब झिक्न मिल्ने यो भेहिकलका कारण काठमाडौंका विभिन्न क्षेत्रमा भीडभाड नगरी एकै दिन सयौंको संख्यामा स्वाब संकलन सम्भव भएको थियो । भेहिकलबाहेक नास्टले तीनवटा मोबाइल स्वाब संकलन बुथ डिजाइन गरेको नास्टका प्रविधि संकाय प्रमुख रवीन्द्र ढकाल बताउँछन् ।

नेपालमा कोभिड संक्रमण सुरु भएसँगै आफ्नै पहलमा सेनिटाइजर निर्माण र वितरण थालेको नास्टले महामारी फैलिँदै जाँदा अन्य कामको पनि सुरुवात गरेको थियो । महामारी सुरु हुँदा देशभर स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) को माग उच्च थियो । लकडाउन र विश्वभर उच्च मागका कारण विदेशबाट आउने पीपीईको माग सीमित थियो । माग धान्न देशका विभिन्न कम्पनी र संघसंस्थाले पीपीईको डिजाइन तयार पारेको भए पनि यो कत्तिको गुणस्तरीय हो भन्ने थाहा पाउनका लागि परीक्षण गर्ने मेसिन देशमा थिएन ।

नेपालमा उत्पादन भएका र विदेशबाट आयातित पीपीईको गुणस्तर मापन गर्न मिल्ने गरी नास्टले गुणस्तर मापक मेसिन तयार पारेको ढकाल बताउँछन् । नास्ट कार्यालयमा राखिएको पीपीईको गुणस्तर मापक मेसिनमा जोकोहीले पनि आएर पीपीईको नमुनाको गुणस्तर मापन गर्न सक्ने सुविधा दिइएको थियो । ‘हामीले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको मेसिन डिजाइन गरेका छौं,’ ढकालले भने, ‘कार्यालयमा रहेको मेसिन आईएसओ मापदण्ड पछ्याएर तयार पारिएको हो ।’ नास्टले तयार पारेको पीपीईको गुणस्तर मापन गर्ने मेसिन सम्भवतः नेपालकै पहिलो हो ।

कोभिड–१९ का कारण मानिसको जीवनशैलीमा परिवर्तन आइरहेको थियो । मानिसले सामान किन्ने तरिका, दैनिक जीवनयापन गर्ने तरिका बदलिइरहेको अवस्थामा नास्ट यत्तिमा मात्रै सीमित नरहेको ढकाल बताउँछन् । नास्टलाई सरकारले विनियोजन गरेकोमध्ये २ करोड ६९ लाख बजेट लकडाउनका कारण खर्च हुन सकेको थिएन । नयाँ आर्थिक वर्ष सुरु भएसँगै यो रकम फ्रिज हुने अवस्थामा पुगेका थियो । सरकारसँग उक्त बजेट माग गरी अनुसन्धानमा खर्च गरिएको ढकाल बताउँछन् ।

कोरोना महामारीबीच नै नास्टले यो संकटमा सघाउने उपायसहितको प्रस्ताव पठाउन माग गरेको थियो । छानिएका उत्कृष्ट प्रस्तावलाई आफ्नो परियोजना पूरा गर्न १० लाख रकमसम्म उपलब्ध गराउने भन्दै नास्टले गरेको आह्वानमा १ सय ४४ वटा प्रस्ताव परेका थिए । तीमध्ये १९ वटा परियोजनालाई नास्टले अनुदानका लागि छनोट गरेको छ । सबैलाई पहिलो किस्ता दिएर काम सुरु भइसकेको ढकालले बताए । जसमध्ये पीसीआर परीक्षणको मेसिन निर्माण गर्ने, ढलको पानीमा कोभिड जीवाणु हुने/नहुने विषयमा अनुसन्धान गर्ने, एक्सरेमार्फत कोभिड–१९ को परीक्षण गर्नेजस्ता परियोजना छनोट गरी अनुदान उपलब्ध गराइएको ढकालले बताए ।

सरकारको अंग नास्टजस्तै गैरसरकारी संस्थाले पनि कोभिड–१९ को लडाइँमा सघाउन विभिन्न उपाय लगाइरहेका थिए । तीमध्ये एक थियो– रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्‍यान) । र्‍यानको पहलमा अन्य संघसंस्था मिलेर बनाएको सिस्टर रोबोट स्वास्थ्यकर्मीबीच निकै लोकप्रिय बन्यो ।

र्‍यानसहित रोबोनट्स समूह, कान्तिवीर रोबोटिक्स समूह र ओजटेक प्रालिले संयुक्त रूपमा तयार पारेको सिस्टर रोबोटले अस्पतालमा रहेका कोभिड संक्रमितलाई खाना र औषधि पुर्‍याउन सघाउँथ्यो । संक्रमित व्यक्तिको नजिक जाँदा हुन सक्ने संक्रमण रोक्न यो उपयोगी समाधान थियो । स्वास्थ्यकर्मीले रिमोटको सहायताबाट रोबोटमार्फत बिरामीलाई खाना र औषधि पठाउनुका साथै भिडियोमार्फत उनीहरूको हालखबर सोध्न सक्ने सुविधा पनि यसमा राखिएको थियो ।

कोभिड संक्रमित बिरामीको हेरचाहका लागि सशस्त्र प्रहरी, टेकु, किस्टसहित उपत्यकाबाहिरका हेटौंडा र बुटवल अस्पतालले यो रोबोट प्रयोग गरेका थिए । रोबोट निर्माण गर्ने समूहले अस्पताललाई रोबोट हस्तान्तरण गर्नुका साथै प्रयोगका लागि तालिम पनि दिएको थियो । स्वास्थ्यकर्मीले रिमोटको सहायताबाट एक सय मिटरसम्म रोबोटलाई पठाउन सक्थे ।

कोभिड संक्रमण बढेसँगै बिरामीको नजिक जान स्वास्थ्यकर्मी डराएपछि सिस्टर रोबोटको अवधारणा फुरेको र्‍यानका अध्यक्ष विकास गुरुङ बताउँछन् । अस्पताललाई सिस्टर रोबोट बिक्री गर्नुअघि यो समूहले काठमाडौंका शिक्षणसहित विभिन्न अस्पतालमा रोबोटको प्रभावकारिताबारे परीक्षण गरेको थियो । सिस्टर रोबोटबाहेक र्‍यानको पहलमा ड्रोन र्‍यापिङ रेस्पोन्स टिम पनि गठन भएको थियो । नेपालमा रहेका ड्रोन पाइलटको पहिचान गरी लकडाउनको अनुगमनका लागि नेपाल प्रहरीसहित स्थानीय सरकारलाई सघाउन यो अवधारणा कार्यान्वयन गरिएको थियो । यो समूहमा र्‍यानसहित १५ वटा विभिन्न कम्पनी आबद्ध भएर स्थानीय सरकारलाई ड्रोनमार्फत लकडाउनको अनुगमन गर्न सघाएका थिए ।

लकडाउनका बेलामा नयाँ सोचलाई एकीकृत गर्न सघाउन गरिएको अर्को प्रयास नेसनल इनोभेसन डिजिटल नेटवर्क पनि हो । विभिन्न ३५ वटा संघसंस्था मिलेर तयार पारिएको यो प्लेटफर्ममा ४३ वटा नयाँ सोच दर्ता गरिएको छ । मानिससँग भएका विभिन्न नयाँ सोचलाई एकीकृत गर्ने र त्यसलाई कार्यान्वयनका लागि सघाउने अवधारणासहित सुरु भएको यो नेटवर्कको स्वामित्व नास्टलाई जिम्मा दिने गरी काम भइरहेको र्‍यानका अध्यक्ष गुरुङले बताए ।

संस्थागत रूपमा नभई व्यक्तिगत रूपमा पनि कोभिडको लडाइँमा उपयोगी आविष्कारहरू भएका थिए । तीमध्ये एक हुन्– थापाथली इन्जिनियरिङ क्याम्पसका इलेक्ट्रोनिक्स इन्जिनियरिङका विद्यार्थी कपालिक खनाल । कोभिड संक्रमितलाई राख्नका लागि देशभर भेन्टिलेटर अभाव भइरहेको खबर सार्वजनिक भइरहँदा खनाल भने सस्तो र जहाँ पनि प्रयोग गर्न मिल्ने भेन्टिलेटरको प्रोटोटाइप बनाउन व्यस्त थिए । उनले प्रोटोटाइप तयार पारेको ‘लो कस्ट’ भेन्टिलेटरले बिरामीलाई बढीमा एक दिनसम्म श्वासप्रश्वासका लागि सघाउँथ्यो । खनालले यसको नाम ‘नोभल भेन्ट’ राखेका छन् ।

विभिन्न चिकित्सकको सल्लाहअनुसार खनालले आफ्नो भेन्टिलेटरलाई सुधार गरेका थिए र स्वास्थ्य मन्त्रालयका अधिकारीबाट यसलाई प्रडक्टका रूपमा तयार पार्नका लागि सहयोग पाउने आश्वासन पाएका थिए । तर कोभिड–१९ को संक्रमण दर र डर कम भएसँगै आफूलाई सहयोग गर्ने आश्वासन दिएकाहरूबाट कुनै रेस्पोन्स नपाएको खनाल बताउँछन् । ‘सहयोग पाए जुनसुकै समयमा पनि यसलाई प्रडक्टका रूपमा तयार पार्न सकिन्छ,’ उनी भन्छन् ।

महामारीका कारण रोजगारी गुमाएर घर फर्किएका कामदारलाई सघाउन अर्को उपायसहित स्मार्टपालिकाले सीपशाला नामक एकीकृत प्लेटफर्म लिएर आयो । विदेशबाट आएका कामदारले आफूसँग भएको सीप यसमा दर्ता गराउने र स्थानीय सरकारले आफूलाई आवश्यक सीप भएका व्यक्ति यहीं खोज्ने उद्देश्यसहित सीपशाला तयार पारिएको थियो ।

सीपशालामा हालसम्म ७ सय २८ जनाले आफ्नो सीपको विवरण दर्ता गराएका छन् भने २ सय १५ वटा स्थानीय तह आबद्ध भएका छन् । सीपशालामार्फत ७ वटा प्राविधिक तालिम दिइएको र साझेदारीमा ३ वटा काम सुरु भएका छन् । यसमार्फत ११ वटा रोजगारीको अवसर सिर्जना भएको स्मार्टपालिकाका सञ्चालक मनोज भट्टराईले जानकारी दिए । कोभिड–१९ महामारी सकिएपछि पनि यसलाई सीपयुक्त जनशक्ति र जनशक्ति आवश्यक पर्ने निकाय तथा व्यक्तिबीच सम्पर्क स्थापित गराउने साझा मञ्च बनाउने गरी काम भइरहेको उनी बताउँछन् ।

प्रकाशित : फाल्गुन ७, २०७७ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?