कोरोनाकालमा कायापलट- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाकालमा कायापलट

महामारीअघि सरूवा रोगका बिरामी राख्ने आइसोलेसन कक्ष थिएन, अहिले ५५ बेडको सुविधासम्पन्न आइसोलेसन कक्ष बनेको छ । दुईवटा भेन्टिलेटरमा चलेको अस्पतालमा १० वटा भेन्टिलेटर छन् । जटिल बिरामी राख्न २० बेडको विशेष आईसीयू कक्ष बनिसकेको छ । 
फातिमा बानु

चिकित्सा पेसामा तीन वर्ष अभ्यास गरेपछि डा. श्रवणकुमार मण्डल सरुवा रोगका बिरामीको उपचारमा मात्रै केन्द्रित हुन खोज्दै थिए । उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चिकित्सकीय अभ्यास गरिरहेका थिए ।

तस्बिर : दीपक केसी

अभ्यासका हिसाबले सरुवा रोग उनका लागि नयाँ विषय थियो । उनी यसैमा सिक्दै, रम्दै थिए । यत्तिकैमा गत वर्ष (२०७६) मा नयाँ खाले सरुवा रोग अर्थात् कोरोना भाइरस संक्रमणले विश्वव्यापी महामारीको रूप लिन्छ भन्ने हल्ला चल्न थाल्यो ।

संक्रमणजन्य रोगको उपचार अभ्यासमा गर्दै गरेका डा. मण्डललाई कोरोना नामको नयाँ संक्रामक भाइरसको फैलावटले चुनौती थपिदियो । नेपालसम्म यो संक्रमण फैलिन्छ र आफू पनि उपचारमा खटिनैपर्छ भनेर उनी मानसिक रूपमा तयार हुँदै थिए । सरुवा रोगको उपचार गर्ने देशको एक मात्र थलो र रेफरल सेन्टर सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा खटिनुपर्ने जिम्मेवारीका कारण पनि उनलाई यो चुनौती स्विकार्नुको विकल्प थिएन । यत्तिकैमा पुस अन्तिम साता चीनको वुहानमा अध्ययनरत ३२ वर्षीय युवा कोरोना संक्रमणको शंकामा अस्पताल भर्ना भए । डा. मण्डललगायत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ती शंकास्पद व्यक्तिको अवस्था आफ्नै आँखाले देखेपछि संक्रमणको जति डर थियो, त्यो नरहेको उनले बताए ।

पहिलो संक्रमित भेटिनुलाई उनी ‘एक्सिडेन्टल केस’ मान्छन् । त्यतिखेर कोरोना संक्रमित राख्ने खालको विशेष आइसोलेसन कक्ष अस्पतालमा तयार भइसकेको थिएन । कोरोना संक्रमण शंकास्पद कोही भेटियो भने टेकुमा राख्नुपर्छ भनेर स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको थियो । त्यतिखेर नेपालमा कोरोना संक्रमण पहिचान गर्ने कुनै पूर्वाधार नभएकाले अस्पतालमा भर्ना भएका शंकास्पद व्यक्तिको स्वाब परीक्षणका लागि हङकङ पठाइएको थियो । उनको स्वास्थ्य अवस्था सामान्य भएकाले उपचारमा लागिपर्नुपरेको थिएन ।

शंकास्पद व्यक्तिलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै पहिचान गरेर टेकु ल्याउने योजना बन्यो । डा. मण्डलले यो कार्यभारको नेतृत्व लिए । ‘हेल्थ डेस्क राखेर हामी विदेशबाट आएका मान्छेको ज्वरो नाप्ने, ट्राभल हिस्ट्री सोधेर लक्षण सोध्ने गर्थ्यौं,’ उनले सुनाए, ‘सुरक्षा सामग्रीको नाउँमा सर्जिकल मास्कमात्रै थियो । रोगको जटिलताबारे थाहा नभएर होला, एयरपोर्टमा संक्रमितसँग पहिलो सम्पर्कमा आउने उच्च सम्भावना हुँदा पनि हामीलाई डर लागेको थिएन ।’ कोरोना संक्रमणको लक्षण भएकी फ्रान्सबाट आएकी एक महिलाको अवस्था देखेपछि भने उनको मनमा डर पस्यो । असारपछि लक्षणसहितका संक्रमित अस्पतालमा थपिन थाले । सम्भावित संक्रमितसँगको सम्पर्कमा आएपछि कुनै पनि बेला आफूभित्र भाइरस छिर्न सक्छ भनेर उनीहरू चिन्तित थिए ।

डा. मण्डल ६ महिनाभन्दा बढी समय अस्पतालमै बसे । कुनै पनि समारोहमा सामेल भएनन् । संक्रमित व्यवस्थापनमा कठिनाइका साथै सर्वसाधारणको रिस, गुनासा र हातपात सहेका छन् यो अस्पतालका स्वास्थ्यकर्मी र चिकित्सकले । एक वर्षसम्म संक्रमितको उपचारमा खटिँदा अस्पतालका २ सय ५७ जनामध्ये चिकित्सक र स्वास्थ्यकर्मी गरी ४८ जना संक्रमित भए, सबै निको भए । अस्पतालकै प्रयोगशालामा ५६ हजार पीसीआर परीक्षण गरियो, जसमध्ये आठ हजार जनामा संक्रमण पुष्टि भयो । एक हजार एक सय जना यही अस्पतालमा उपचार गरेर निको भए । ५० जनाले उपचारको क्रममा ज्यान गुमाए । संक्रमित भएका ७ सय जनालाई आईसीयू कक्षमा राखेर उपचार गरियो ।

निर्देशक डा. सागरकुमार राजभण्डारीलाई कोभिड–१९ संक्रमण अस्पताललाई सिँगार्ने र सुविधासम्पन्न बनाउने अवसर बनेर आएजस्तो लाग्छ । पछिल्ला ८ दशकमा २२ जना निर्देशक फेरिँदा पनि कुनै परिवर्तन नआएको अस्पतालमा महामारीकै कारण आमूल परिवर्तन आएको छ । महामारीअघि यहाँ सरुवा रोगका बिरामी राख्ने आइसोलेसन कक्ष थिएन । विशेषज्ञ र प्रविधि हुँदाहुँदै पनि सर्वसाधारणको आकर्षणको केन्द्र बन्न सकेको थिएन । संक्रमित भर्ना गर्ने देशकै पहिलो कोरोना अस्पतालका रूपमा विकास गर्दा पछिल्लो एकवर्षे अवधिमा यहाँ थुप्रै परिवर्तन भएको देख्न सकिन्छ । आइसोलेसन नै नभएको ठाउँमा ५५ बेडको सुविधासम्पन्न आइसोलेसन कक्ष बनेको छ । बेडमै अक्सिजन लिन मिल्ने, सीसीटीभीबाट बिरामी मोनिटर गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

‘३० वर्षे चिकित्सा अभ्यासमा मैले १५ अस्पतालमा प्रमुख बनेर काम गरें तर संस्थालाई यसरी नयाँ स्वरूप दिन सक्ने गरी कहिल्यै काम गर्ने अवसर र वातावरण पाएको थिइनँ,’ डा. राजभण्डारीले भने, ‘महामारी मेरा लागि काम गरेर देखाउने विशेष अवसर बन्यो, खुसी लाग्छ ।’ कुकुरले टोकेका, छाला रोगका कारण घाउ भएका बिरामीलाई शल्यक्रियाका लागि अन्य अस्पताल रिफर गर्नुपर्ने, दुईवटा भेन्टिलेटरमा चलेको यो अस्पतालमा अहिले १० वटा भेन्टिलेटर छन् ।

जटिल बिरामी राख्न २० बेडको विशेष आईसीयू कक्ष बनिसकेका छन् । अस्पतालककै प्रांगणमा अक्सिजन प्लान्ट निर्माण भइसकेको छ । एक वर्ष समय खर्चिएर तयार पारिएको अस्पतालको स्वरूप र सुविधा महँगा निजी अस्पतालभन्दा कम देखिँदैन । धाराबाट आउने धमिलो पानी सङ्लो बनाउन ‘वाटरप्लान्ट’, संक्रमितका लुगा धुन ‘वासिङ मेसिन’, अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न ‘अटोक्लेभ मेसिन’ पनि महामारीकै कारण थपिएका हुन् । ‘संक्रमितका लुगा अस्पतालबाहिर लैजाँदा समुदायमा संक्रमण फैलिने अत्यधिक जोखिम थियो, अब त्यो समस्या रहेन,’ डा. राजभण्डारीले भने, ‘अब अर्को जुनसुकै सरुवा रोगको महामारी आए पनि व्यवस्थापन गर्न हामी तयार भएर बसेका छौं ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई देशभरि नमुना परीक्षण गर्नुपर्ने भार भए पनि टेकु अस्पतालमै कोरोना परीक्षण हुन थाल्यो । विशेष प्रयोगशाला बन्यो, जनशक्ति तालिमप्राप्त भए, केही थपिए । डा. राजभण्डारीकै शब्दमा भन्नुपर्दा अब अस्पताल पूरै ‘इन्डिपेन्डेन्ट’ भयो । अब उनको एउटै रहर छ– अस्पताललाई कम्तीमा तीन सय बेडको बनाउन सरकारले जग्गा देओस् । बिरामी हेर्ने संस्थामात्रै नभएर संक्रमणजन्य रोग व्यवस्थापन गर्न विशेषज्ञ उत्पादन गर्ने थलो र एउटा शैक्षिक संस्था र तालिम केन्द्र बनाउन सकियोस् ।

संक्रमण सुरु भएको हल्ला भइरहँदा यहाँका प्रयोगशालाकर्मी यो भाइरस आइहाले पनि केही बिगार नगर्ला भनेर ढुक्क थिए । त्यसैले सरकारले पनि प्रयोगशालाको पूर्वाधार बनाउन तत्कालै पहल गरेन, लगानी गरेन ।

कोभिड–१९ महामारीको रूप लिएर नआएको भए देशकै एक मात्र केन्द्रीयस्तरको प्रयोगशालाको भौतिक पूर्वाधार खडा हुन दशकौं लाग्ने थियो जस्तो लाग्छ निर्देशक डा. रुना झालाई । ‘हामी स्वास्थ्यकर्मीका लागि महामारी ठूलै लडाइँ थियो र यो युद्धमा उत्रेर काम गर्नका लागि हामीसँग सेना भए पनि बलिया हतियार रैनछन् भन्ने महसुस भयो,’ उनले भनिन्, ‘ढिलै भए पनि यो एउटा सिकाइलाई हामीले सदुपयोग गर्‍यौं र अब हामीसँग जे पूर्वाधार निर्माण भएको छ, त्यसले यत्तिकै अर्को महामारी आइहाल्यो भने सजिलै थेग्न सकिन्छ ।’

नेपालमा कोरोना संक्रमणको पहिलो शंकास्पद स्वाब निकाल्दा यहाँका प्रयोगशालाकर्मी त्रसित थिएनन्, रोगको जटिलताबारे वैज्ञानिक हिसाबले धेरै तथ्य आइनसकेकाले पनि उनीहरू स्वाब निकाल्न हिच्किचाएनन् । यतिसम्म कि शंकास्पद व्यक्तिको घाँटीबाट स्वाब निकाल्दा आधारभूत सुरक्षासमेत अपनाइएको थिएन । मास्कमात्रै लगाएर प्रयोगशालाका डा. रञ्जित झाले ती शंकास्पद व्यक्तिको स्वाब संकलन गरेका थिए र शंकास्पद स्वाबको रिपोर्ट पोजिटिभ आए पनि उनलाई संक्रमण सरेको थिएन ।

अस्पतालमा स्वाब परीक्षण गर्ने प्रयोगशाला भए पनि रिएजेन्ट केमिकल थिएन । ‘सुरुमा हामीले संस्थाहरूको सहयोगमा रिएजेन्ट लिएर स्वाब परीक्षण गर्नुपर्ने अवस्था थियो,’ डा.झाले भनिन्, ‘पछि व्यावसायिक रूपमै केमिकल खरिद गरेर नमुना परीक्षण गर्न थाल्यौं ।’ कोभिड संक्रमणले तीव्र रूप लिन थालेपछि प्रयोगशालामा हुँदै आएका एचआईभीलगायत अन्य सरुवा रोगको परीक्षण बन्द गरिए । यहाँ भएका सबै प्रयोगशाला कोठा र प्रयोगशालाकर्मी कोरोना परीक्षणकै लागि प्रयोग हुन थाले । परीक्षणका लागि ल्याइएका नमुना संकलनलाई सुरक्षित राख्ने नेगेटिभ प्रेसर रुम र कोल्ड रुम निर्माण भयो ।

पहिलो कोरोना परीक्षणका लागि विदेशी प्रयोगशालामा भर परेको यो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पछिल्लो एक वर्षमा करिब दुई लाख नमुना परीक्षण भए । अब कुनै यस्तै खाले सरुवा रोगजन्य महामारी आए, कुनै संस्था या विदेशी प्रयोगशालाको भर पर्नुपर्ने अवस्था छैन ।

प्रकाशित : फाल्गुन ७, २०७७ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्

जसले दोहोरो संक्रमण भोगे

वर्षौंदेखि एचआईभी संक्रमण भोग्दै आएकाहरु कोरोनाको पनि चपेटामा परे तर हार मानेनन् । हालसम्म ३० जना एचआईभी संक्रमितमा कोरोना पुष्टि भएकामा सबै निको भएका छन् ।
फातिमा बानु

काठमाडौँ — तीन दशकदेखि एचआईभी संक्रमणसँग जुध्दै आइरहेकी ४७ वर्षीया सुनिता डंगोल (नाम परिवर्तन) लाई गत कात्तिकको एक दिन शरीर करकरी खायो । ज्वरो आउने, चिटचिट पसिना आउने, शरीर कमजोर हुने जस्ता कोरोना संक्रमण हुँदा देखिने सबैजसो लक्षण देखिए ।

उनलाई लाग्यो, ‘शरीरमा पहिल्यैदेखि भाइरस थिए, अब नयाँखाले भाइरस पनि थपिए, जीवन यति नै रहेछ ।’

परीक्षणपछि उनलाई कोरोना संक्रमण पुष्टि भयो । त्यतिबेला शारीरिक र मानसिक दुवै अवस्थाले शिथिल महसुस गरेको उनले सुनाइन् । संक्रमणको जोखिम छ भनेर थाहा हुँदाहुँदै पनि उनी सामाजिक कार्यमा खटिएकी थिइन्, महामारीबीच पनि एचआईभी संक्रमितहरूको अधिकारका लागि लागिपरेकी थिइन् । कहाँ, कोबाट संक्रमण सर्‍यो, उनलाई हेक्का पनि रहेन ।

‘शारीरिक र मानसिक छटपटीले काठमाडौंमा बस्नै मन लागेन,’ उनले भनिन्, ‘मरे पनि गाउँमै मर्छु जस्तो लाग्यो, संक्रमित भएको पाँच दिनमा छोरी लिएर गाउँ गएँ ।’ गाउँमा पनि उनी लामो समयसम्म थला परिन्, लक्षण कम हुँदै गएपछि भने उनलाई अब बाँच्छु कि भन्ने आशा जाग्यो ।

निको भइसकेपछि उनी आफूजस्तै एचआईभी र कोरोना दुवै संक्रमण भएकालाई हौसला दिन सक्रिय छिन् । ‘हाम्रो शरीरमा यसै पनि रोगसँग लड्ने क्षमता कम हुन्छ,’ उनले भनिन्, ‘त्यसैले धेरैलाई कोरोना संक्रमण थपिएपछि मरिन्छ नै भन्ने लाग्छ तर त्यस्तो हुँदैन रहेछ ।’

उनीजस्तै ३५ वर्षीया अर्की एचआईभी संक्रमित तारा महतो (नाम परिवर्तन) पनि कोरोना संक्रमणमुक्त भइन् । उनी १९ वर्षअघिदेखि एचआईभी संक्रमणसँग जुझ्दै आइरहेकी छन् । गत दसैंताका एकाएक गन्ध थाहा नपाउने, शरीर दुख्ने, थकान हुनेजस्ता लक्षण देखिएपछि उनी आत्तिइन् । परीक्षणपछि उनलाई पनि कोरोना संक्रमण पुष्टि भयो । ‘२० दिन क्वारेन्टाइनमा बसें, गम्भीर लक्षण पनि केही देखिए,’ उनले भनिन्, ‘बिस्तारै लक्षण हराउँदै गयो, डर पनि हरायो ।’ अहिले उनी संक्रमणमुक्त छिन्, उस्तै स्वस्थ र आत्मविश्वासी पनि ।

राष्ट्रिय एचआईभी महासंघकी महासचिव इन्द्रा भुसालका अनुसार अझै पनि धेरै एचआईभी संक्रमितमा कोरोना संक्रमणले ज्यानै जान्छ कि भन्ने डर यथावत् छ । रोगसँग लड्ने क्षमता कम हुनु, दीर्घ रोग लाग्दाझैं जीवनभर औषधि खानुपर्ने भएकाले उनीहरूमा त्रास रहेको उनले बताइन् । संघले समुदायमा जाने, दोहोरो संक्रमण भएकालाई परामर्श दिने, औषधि छुटेकालाई घरमै औषधि पुर्‍याउन पहल गरिरहेको छ ।

एचआईची संक्रमितले भाइरससँग लड्ने एन्टिभाइरल औषधि खाइरहने भएकाले उनीहरूमा कोरोना संक्रमणले कम असर गरेको मान्छन्, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन । ‘एन्टिभाइरल औषधि खाएकै कारण उनीहरूलाई कोरोनासँग लड्ने शक्ति मिलेको हो भन्ने कुनै वैज्ञानिक तथ्य पत्ता लागेको भने छैन,’ उनले भने, ‘यो वर्गका व्यक्तिमा कम संक्रमण हुनु, कोही गम्भीर र मृत्यु नहुने तथ्य भएको आधारमा भने यस्तो हो कि भनेर अड्कल काट्न सकिन्छ ।’

दोहोरो संक्रमण हुँदैमा नडराउन, जनस्वास्थ्यका मापदण्ड अपनाउन उनले एचआईभी संक्रमितलाई सुझाए । स्वास्थ्य सेवा विभागको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको सन् २०१८ सम्मको तथ्यांकअनुसार नेपालमा ५४ हजारको हाराहारीमा एचआईभी संक्रमित छन् । जसमध्ये ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको केन्द्रका जनस्वास्थ्य प्रशासक मदनकुमार श्रेष्ठले बताए ।

‘एचआईभी संक्रमितलाई कोरोना संक्रमण कम भएको जस्तो लाग्छ, तर यसबारे कुनै अध्ययन भने गरेका छैनौं,’ उनले भने, ‘महामारीका बेलामा कुनै संक्रमितको पनि औषधि नछुटोस् भनेर विभिन्न संस्थाहरूको सहयोगमा संक्रमितको घरसम्मै औषधि पुर्‍याउने व्यवस्था भने गरेका छौं ।’ उनका अनुसार नेपालमा हालसम्म एचआईभी संक्रमितको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छैन ।

प्रकाशित : माघ १३, २०७७ १२:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×