कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेनाले थाल्यो टिंकर सडक निर्माण प्रक्रिया

सडकको डिजाइन इस्टिमेटका लागि परामर्शदाता छनोट गर्न बोलपत्र आह्वान
मनोज बडू

दार्चुला — पश्चिमी त्रिदेशीय सीमा जोड्ने व्यास गाउँपालिकाको टिंकर जोड्ने सडक निर्माण प्रक्रिया नेपाली सेनाले बल्ल सुरु गरेको छ । महाकाली लोकमार्गअन्तर्गत दार्चुला–टिंकर सडक खण्डको ८७ किलोमिटर ट्र्याक खोल्न सरकारले गत वैशाखमा सेनालाई जिम्मा दिने निर्णय गरेको थियो ।

सेनाले थाल्यो टिंकर सडक निर्माण प्रक्रिया

सेनाले १० महिनापछि निर्माणको प्रारम्भिक तयारी थालेको हो । सडकको डिजाइन इस्टिमेटका लागि मंगलबार परामर्शदाता छनोटका लागि महिना दिनको म्याद राखेर बोलपत्र आह्वान गरिएको छ ।

‘परामर्शदाता चयनपछि सर्भेका लागि तीन महिनाको समय दिइनेछ,’ सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलेले भने, ‘सर्भे रिपोर्ट प्राप्त भएपछि ठेक्का प्रक्रियामा अगाडि बढ्ने र निर्माणको काम सुरु गरिनेछ ।’ त्यसका लागि करिब ५ महिना समय लाग्नेछ । निर्माणको तयारी प्रक्रिया सुरु भएसँगै सेनाको टोली बन्दोबस्तीका सामानसहित यसै साता व्यास क्षेत्र उक्लिएको छ । सेनाको विकास निर्माण कार्यदलको टोली निर्माणस्थल नजिक क्याम्प स्थापना गरेर बसेको हो ।

प्रमुख सेनानीको कमान्डमा १ सय ४३ जनाको टोली दुई वटा क्याम्पमा बसालिने प्रवक्ता पौडेलले बताए । सेनाले फागुन १ गते व्यास गाउँपालिकाको सुन्सेरानजिक गाल्थामा बेस क्याम्प स्थापना गरेको छ । दोस्रो बेस क्याम्प फागुन १५ गतेभित्र व्यास–२ दुम्लिङमा राख्ने तयारी छ । १२ वर्षदेखि निर्माणाधीन त्रिदेशीय सीमा क्षेत्र जोड्ने उक्त सडक निर्माणमा ढिलाई भएपछि सरकारले सेनालाई जिम्मा दिएको हो । २०७७ वैशाख २४ गतेको मन्त्रिपरिषद् बैठकले दार्चुला–टिंकर १ सय ४० किलोमिटरमध्ये व्यास–२ मालको कोठेधारदेखि टिंकर नाकासम्म ८७ किलोमिटर सडक निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरेको थियो ।

अतिक्रमित नेपाली भूमि व्यासको लिपुलेक क्षेत्रमा भारतले एकतर्फी रूपमा गत वैशाखमा चिनियाँ नाका लिपुपास जोड्न तावाघाट–लिपुलेक सडक बनाएको थियो । भारतले २२ किलोमिटर सडक नेपाली भूमिमा बनाएको छ । यसपछि सरकारले सुस्त गतिमा रहेको दार्चुला–टिंकर सडकको माथिल्लो भाग बनाउने जिम्मा सेनालाई दिने निर्णय गरेको हो । भारतले लिपुलेकमा सडक निर्माण गरेपछि सरकारले व्यासको छाङरुमा सशस्त्र प्रहरीको गुल्म पनि स्थापना गरेको थियो । त्यसयता यो क्षेत्रमा १२ महिनै सुरक्षाकर्मी बसिरहेका छन् । यसअघि प्रहरी चौकीहरू हिउँदमा बेंसी झर्ने गर्थे ।

टिंकर जोड्ने सडकको अहिलेसम्म व्यास–३ तोसरपानीसम्म ४३ किलोमिटर ट्र्याक खोलिएको छ । तोसरपानी र कोठेधारसम्मको ७ किलोमिटर ट्र्याक महाकाली लोकमार्ग आयोजना कार्यालयले नै खोल्नेछ ।

१० वर्षमा टिंकर नाका जोड्ने लक्ष्य राखेर २०६५ सालबाट निर्माण सुरु भएको यो सडक ठेकेदार र आयोजना कार्यालयको लापरबाहीका कारण निकै सुस्त गतिमा निर्माण भइरहेको स्थानीयको आरोप छ । स्थानीय झुनसिंह धामीका अनुसार सुरुको एक वर्ष राम्रो प्रगति भए पनि त्यसपछिका ११ वर्ष कामले गति लिन सकेन । पछिल्ला वर्ष ठेकेदार र आयोजना कार्यालयले विस्फोटक पदार्थको अभाव देखाएर काममा ढिलाइ गरेको स्थानीय बताउँछन् । सरकारले सेनालाई दिने निर्णय गरेलगत्तैदेखि कोठेधारभन्दा अगाडिको निर्माण रोकिएको थियो । ‘१० वर्षमै सक्ने भन्दाभन्दै १२ वर्षसम्म एक तिहाइ पनि बनेन । हाम्रो क्षेत्रमा जेठबाट त काम नै बन्द गरेको छ,’ धामीले भने, ‘अझै कति वर्ष लाग्ने हो !’

अहिले दार्चुला सदरमुकाम खलंगादेखि सुन्सेराको तोसरपानीसम्मको सडक ट्र्याक्टर गुड्न सक्ने बनेको छ । सुस्त गतिमा निर्माण भइरहेको यो सडकलाई चार वर्षअघि महाकाली करिडोरमा गाभिएको थियो । पटकपटक छिटो निर्माण गर्न दबाब दिँदै आए पनि कामको प्रगति बढ्न नसकेको व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले बताए । ‘स्थानीय तहको निर्वाचनअघिदेखि नै दबाब दिइरहेका थियौं । अहिले पनि सोचेसम्म प्रगति देखिएको छैन,’ उनले भने, ‘सेनाले निर्माण थाले चाँडै होला भन्ने आशा छ ।’

प्रकाशित : फाल्गुन ६, २०७७ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?