कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाका वारपारमा झनै सास्ती

भारतबाट नेपाल पस्न नेपालीका लागि सहज भए पनि भारतीयलाई प्रक्रिया झन्झटिलो
भवानी भट्ट

कञ्‍चनपुर — भारतको टनकपुरस्थित नेसनल हाइड्रो पावर कर्पोरेसन (एनएचपीसी) मा कार्यरत कैलाली अत्तरियाका जयसिंह नेगी तीन दशकदेखि परिवारसहित उतै बस्छन् । केही दिनअघि आफन्त भेट्न आएका उनले सीमामा निकै सास्ती खेपे ।

नाका वारपारमा झनै सास्ती

उनले आउनेभन्दा पनि जान बढी समस्या झेलेको बताए । ‘आउने बेला त नागरिकता देखाएर आउन दिए । जाने बेला भने स्वास्थ्यकर्मीको टोली छैन भन्दै ३ घण्टा कुराए,’ सोमबार गड्डाचौकी नाकामा भेटिएका नेगीले भने, ‘एनएचपीसीको कार्ड देखाउँदा पनि जान दिएनन् ।’

उनी बिहानै नाकामा पुगेका थिए । नेपालतर्फ नाम दर्ता गराएर आधारकार्ड वा नागरिकतासहित लाइन लागेकालाई भारतीय सुरक्षाकर्मीले स्वास्थ्यकर्मीको टोली नआएको भन्दै रोकेका थिए । कोरोना संक्रमण रोकथामका लागि गरिएको लकडाउनसँगै चैतदेखि बन्द रहेको यो नाकामा गत भदौबाट अत्यावश्यक कामका लागि आउजाउ सहज बनाइएको थियो । पछिल्लो पटक गत महिनाबाट सरकारले थप १६ नाकाबाट आउजाउ खुला गर्ने निर्णय गर्दा गड्डाचौकी पनि परेको थियो । तर, सरकारले निर्णय गरे पनि उक्त नाकाबाट आउजाउ गर्न विगतभन्दा झन् सास्ती थपिएको सर्वसाधारणको गुनासो छ । भारतीय नागरिकलाई त झन् गृह मन्त्रालयकै स्वीकृति आवश्यक गरिएको छ ।

भारतबाट घर फर्कने नेपालीले दिनभर प्रवेश पाउँछन् । तर, भारत जान दिउँसो १२ बजेसम्मको समय तोकिएको छ । यसले टाढाबाट आउनेले बेलामा पुग्न नसके बास बसेरै समय कुर्नुपर्ने बाध्यता छ । ‘बाटोको भाडा बास बस्नमै सकिन्छ,’ गड्डाचौकी नाका हुँदै भारत पसेका बैतडीका राजेन्द्र पन्तले भने, ‘बिहानै पुग्न नसके दिनभरि यतै बस्नुपर्छ ।’

नाकामा सहज नहुँदा कामको खोजीमा भारत पस्ने नेपालीहरूले महेन्द्रनगरदेखि वनबासा जान चर्को भाडा तिर्नुपरेको उनले बताए । ‘एक वर्षदेखि नाका बन्द हुँदा हामीलाई छाक टार्न समस्या भएको छ,’ गड्डाचौकीमै किराना पसल गरिरहेका नन्दराज जोशीले भने, ‘नाकामा सजिलै वारपार गर्न नपाउँदा व्यापार पनि ठप्प छ ।’

भारततर्फ जाँचका नाममा एक जनाबाट २५ रुपैयाँ भारुसमेत लिने गरेको स्थानीय बताउँछन् । ‘१० बजेसम्म लाइन लागेपछि डाक्टर छैन भन्दै फिर्ता पठाए,’ गड्डाचौकीकी परुदेवी जोशीले भनिन्, ‘भाइको बिहेका लागि माइत जान खोजेको जानै पाइएन ।’ उनका माइती सीमावर्ती बजार खटिमामा बस्छन् ।

जिल्लाका व्यापारिक संघसंस्थाहरूले पनि नाका खुलाउन माग गरेका छन् । उनीहरूले प्रमुख जिल्ला अधिकारी रामकुमार महतोलाई ज्ञापनपत्र बुझाएर नाकामा आवागमन सहज गर्न माग गरेका हुन् । लामो समयदेखि नाका बन्द हुँदा यस क्षेत्रको व्यापार व्यवसाय ठप्प हुन पुगेको भन्दै उनीहरूले आवागमन सहज पारिनुपर्ने माग गरेका हुन् ।

कञ्चनपुर उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघलगायत यातायात व्यवसायी संघहरूले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् । ‘महेन्द्रनगरलगायत सीमा क्षेत्रका बजार व्यवसाय भारतीयहरूकै भरमा चलेको थियो,’ कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले भने । स्वास्थ्य सुरक्षाका उपायहरू अपनाएर नाकामा आवागमन सहज बनाइनुपर्ने उनले बताए ।

प्रजिअ महतोले केन्द्रबाटै नाका खुलाउने विषयमा स्पष्ट आदेश नआएका कारण समस्या रहेको बताए । नेपाली नागरिकलाई भने आउजाउ गर्न समस्या नरहेको उनले बताए । ‘भारतीय नागरिकका लागि हामीले मापदण्ड बनाएका छौं, नेपालीका लागि भारतले मापदण्ड बनाएको छ,’ उनले भने, ‘त्यहीअनुसार आवागमन भइरहेको छ ।’

प्रकाशित : फाल्गुन ५, २०७७ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?