कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पार्टीभित्रबाटै समानान्तर सरकार सञ्चालन गर्ने प्रयास भएपछि प्रतिनिधिसभा विघटनः प्रधानमन्त्री ओली

सरकारले अलोकतान्त्रिक बाटो नरोजेको दाबी
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले समानान्तर सरकार सञ्चालन गर्ने प्रयास पार्टी भित्रैका नेताबाट सुरु भएपछि प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।

पार्टीभित्रबाटै समानान्तर सरकार सञ्चालन गर्ने प्रयास भएपछि प्रतिनिधिसभा विघटनः प्रधानमन्त्री ओली

भुकम्पले क्षतिग्रस्त भई पुर्ननिर्माण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवनको सोमबार शिलन्यायस गर्दै उनले सत्तारुढ दलकै नेताले नै अवरोध गरेपछि देश र जनताको हितलाई प्राथमिकतामा राखेर त्यस प्रकारको निर्णय गरेको बताएका हुन् ।

उनले आफ्नो ३ वर्षे सरकार सञ्चालनका समयमा सरकारले गरेका कामहरुको प्रगति विवरण पेश गर्दे विकास निर्माण र मानवविकास सूचकांकका आधारमा निराश हुनुपर्ने अवस्था नभएको बताए । उनले अझै पनि मुलुक बन्छ र बनाउन सक्छु भन्ने दृढता आफुसंग भएको बताए ।

यसकारण प्रतिनिधिसभा विघटन गरेँ

उनले आफ्नै पार्टीभित्रबाट जनताका अगाडि कबुल गरेको जिम्मेवारी पुरा गर्न नदिने स्थिति पैदा भएपछि ताजा जनादेशमा जाने निर्णयमा पुगेको दोहोर्‍याए । सुरुबाट नै सरकार सञ्चालनमा आफ्नै पार्टीभित्रबाट असहयोग हुँदै आएको भन्दै उनले आफ्नै खुट्टा अल्झिएर लड्ने अवस्था आएपछि देश र जनताको हितलाई प्राथमिकतामा राखेर प्रतिनिधिसभा विघटन गरिएको स्पष्ट पारे । उनले पार्टी भित्रैका केही नेताहरुले समानान्तर सरकार खडा गर्ने काम गरेको दाबी पनि गरे ।

उनले भने,“आफ्नै खुट्टामा अल्झिए झै सरकारले काम गर्नै नपाउने अवस्था सिर्जना भयो । झण्डै ३ वर्षदेखि संवैधानिक आयोगहरु पदाधिकारीहरु रिक्त भए,सरकारले संसद्मा पेश भएका प्रस्ताव समेत निर्णयार्थ प्रस्तुत गरिएन, राजदूत नियुक्ति गर्न दिइएन, संवैधानिक अंगमा सिफारिस भएकालाई आफ्नै दलका सांसदहरुले संसदीय सुनुवाईमा अड्काउँछन्, विकास सम्बन्धी विधेयक र सार्वजनिक खरिद ऐनलाई संशोधन गर्ने विधेकयकलाई पनि अवरोध गरियो,सरकारी निकायका कार्यकारी पदमा अनुपयुक्त पात्र खडा गर्ने, झण्डै समानान्तर सरकार खडा गर्ने काम भयो ।”

सत्ता सञ्चालन गरेकै दलका केही नेताहरुमा अतिरिक्त महत्वकांक्षा र कुण्ठाको बाछिटा व्यवस्थापिकामा नपरोस् भनेर आफू हरदम सचेत रहेको, अनेकौं लाञ्छाना सहेरै भएपनि अप्ठ्यारो परिस्थितिलाई अन्यत्र मोड्ने प्रयास गरेको भएपनि आफू सफल हुन नसकेको उनले बताए । सरकारलाई जसरी हुन्छ अलमलाउने, निहुँ खोजेर कामै गर्न नदिने अवस्थामा आफ्नै दलका साथीहरु उत्रिएको दुःख पूर्ण स्थितिमा सरकार रहेको उनले उल्लेख गरे । प्रतिनिधिसभा विघटन गर्नु पूर्वसम्म पृथक बाटोबाट सरकारमाथि हमला गर्ने र सकभर विस्थापित नै गर्ने बाटोमा हिँडेकालाई सम्झाउने र सही बाटोमा ल्याउन आफुले लगातार प्रयास गरिरहेको पनि उनले उल्लेख गरे ।

संसदीय दलमा आफ्ना विरुद्ध कुनै उजुरी नपरेको, नेता बदल्नुपर्छ भन्ने आवाज पनि नआएको भन्दै उनले नेकपा भन्दा बाहिरबाट मात्रै ५१ प्रतिशत नपुग्ने भएकाले वैकल्पिक सरकारको कतै सम्भावना नदेखेपछि आफूले प्रतिनिधिसभा विघटन गरेको दाबी गरे । बेठिक, अस्वस्थ्य ढंगले अघि बढ्ने कुरा विग्रहको बाटो रोज्नुमात्रै भएकाले आफूले त्यस किसिमको निर्णय गरेको पनि उनले प्रष्ट पारे ।

देश अस्थिरता र अस्थायीत्वतर्फ जाने र सरकार परिर्वतन गर्ने अनियन्त्रित प्रक्रिया सुरु हुने सम्भावना रहेकाले त्यसबाट देशलाई जोगाउनु आफ्नो कर्तव्य भएको उनले स्पष्ट पारे । मुलुक राजनीतिक अस्थिरताको खेल मैदान बन्न दिनुहुँदैन भनेर राष्ट्रप्रति जिम्मेवार हुँदै फेरी जनताको माझ जाने निर्णयमा पुगेको पनि उनले स्पष्ट पारे । आफ्ना सामु अस्वस्थ्य राजनीतिक फोहरी खेल हुन दिने वा प्राप्त गरेका उपलब्धि रक्षा गर्दै स्थिरता र स्थायीत्वको बाटोबाट अघि बढ्ने दुई विकल्प मात्रै रहेको भन्दै उनले राजनीतिक अस्थिरता रोक्ने प्रतिबद्धता अनुसार त्यस किसिमको निर्णय गर्न पुगेको स्पष्ट पारे ।

उनले आफ्नो निर्णयका बारेमा विभिन्न टिकाटिप्पणी हुने गरेको, जनादेशको अवहेलना, प्रतिगमन जस्ता आपत्तिजनक आरोप लगाइएको प्रति आफूलाई खेद लागेको बताए । उनले भने,“के मुलुकलाई अस्वस्थ्य राजनीतिको गोलचक्करमा फसिरहन दिने ? ”

सरकारले अलोकतान्त्रिक काम नगर्ने

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेर सरकारले अलोकतान्त्रिक बाटो नरोजेको दाबी गरे । ताजा जनादेशको लागि जनताको बीचमा जाने कुरा अलोकतान्त्रिक हुन नसक्ने भन्दै उनले सरकारले अलोकतान्त्रिक क्रियाकलाप नगर्ने प्रतिबद्धता दोहोर्‍याए ।

उनले भने,“कुनै हालतमा चुनाव गराउँदैन भनेर भन्नुहुन्छ उहाँहरु । उहाँहरु राजनीतिक गर्नुहुन्छ कि जन्मकुण्डली पल्टाउनुहुन्छ ? कस्तो राजनीति गर्नुहुन्छ उहाँहरु ?” अघिल्लो जनादेशबाट आएका पात्रहरु उपयुक्त नभएकाले निर्वाचनमा गएर नयाँ पात्र चयन गरी प्रणालीमा सुधार गर्ने उद्घोष गरे । समय अगावै निर्वाचनमा जानु भनेको जनादेशप्रतिको अवहेलना नभई सम्मान भएको पनि उनले दाबी गरे । उनले भने,“जुन नेतालाई जनादेश प्राप्त भएन जनताबाट पराजित नेतालाई नै जस्केलाबाट छिरेर प्रधानमन्त्री हुनुपर्ने ? पराजित भएको जुन ठाउँ हो त्यही ठाउँ मलाई चाहियो भनेर अस्वस्थ्य अवाञ्चित क्रियाकलाप र समिकरण गरेर लोकतान्त्रिक मूल्य मान्यतालाई धरापमा पार्ने काम कदापि हुन दिइने छैन । ” प्रधानमन्त्री ओलीले संविधानले निदृष्ट गरेको बाटोमा सरकार हिँडेको भन्दै सरकारले सधैँ लोकतान्त्रिक विधि, प्रक्रिया र पद्धतिबाट चल्ने स्पष्ट पारे ।

उनले व्यक्तिगत स्वार्थका लागि केही नेताले निर्वाचन घोषणा भइसकेपछि एकजुट भएर चुनावमा जानुपर्नेमा पार्टीलाई नै विभाजित गर्ने कमजोर बनाउने अपराधपुर्ण काममा लागेको आरोप लगाए । नेताहरुबाट भएका अस्वस्थ्य गतिविधिहरु अलोकतान्त्रिक, गैरजिम्मेवार र असंवैधानिक भएको टिप्पणी उनले गरे ।

चुनाव हुन्छ, निराश हुनुपर्ने अवस्था छैन

प्रधानमन्त्री ओलीले सरकारले घोषणा गरेको मितिमा निर्वाचन हुने बताए । निर्वाचनका लागि आयोगले पनि आवश्यक तयारी गरिरहेको भन्दै उनले सबै नेपालीलाई निर्वाचनमा सक्रियताका साथ सहभागी हुन आग्रह गरे । उनले विदेशमा रहेका नेपालीलाई पनि निर्वाचनमा सहभागी हुन आमन्त्रण गरे । उनले भने, “केहीले अझै पनि चुनाव त हुन्छ भन्दै प्रश्‍न उठाएको सुन्छु । म जोड दिएर भन्न चाहन्छु चुनाव हुन्छ । वैशाख १७ गते र वैशाख २७ गते निर्वाचन हुन्छ । निर्वाचनबाट फेरि एकपटक अस्थिरताको खेती गर्न चाहनेहरुको दाउपेच चकनाचुर हुने छ । मुलुकले स्थिर सरकार र राजनीतिक स्थायित्व प्राप्त गर्नेछ ।” उनले प्राप्त उपलब्धिलाई हेर्दा निराश हुनुपर्ने अवस्था नभएको र निर्वाचन पछि मलुकले स्थिर सरकरा र राजनीतिक स्थायित्व प्राप्त गर्ने विश्वास व्यक्त गरे । निर्वाचन पछि सम्मृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा भएरै छाड्ने बताए ।

उनले भने,“प्राप्त उपलब्धिका आधारमा अझै नेपाल बन्छ र बनाउन सकिन्छ भनी मेरो आत्मबल दृढ भएको छ । जुन आर्थिक वर्षलाई मैले समृद्धिको आरम्भ वर्षको रुपमा प्रस्तुत रो, त्यसै वर्ष म बिरामी परो । जुन वर्ष विकासका कामलाई हामीले तीव्रताका साथ अगाडि बढाउनु थियो, त्यसै वर्ष कोभिड १९ को महामारीले हामीलाई पनि अत्यायो । जतिखेर राष्ट्र एक भएर महामारीका विरुद्ध जुध्नु पर्ने थियो, त्यही समय मेरा सहकर्मीहरु सरकार कसरी ढाल्ने भन्ने उद्यम मा ज्यानै फालेर लाग्नुभयो ।”

यस्तो छ पूर्णपाठः


प्रकाशित : फाल्गुन ३, २०७७ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?