कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कलिलैमा बिहे, २० पुग्दा ३ सन्तान

भरत जर्घामगर

सिरहा — धनगढीमाई नगरपालिका–११ की रेखा सदा मुसहरको १४ वर्षको उमेरमै विवाह भयो । भर्खर २० वर्ष टेकेकी उनी कानुनी रूपमा बिहे गर्ने उमेरमा तीन छोराछोरीकी आमा बनिसकेकी छन् । गर्भमा चौथो सन्तान छ । 

कलिलैमा बिहे, २० पुग्दा ३ सन्तान

जेठो छोरा निशु ५ वर्ष, छोरीहरू रानी साढे तीन वर्ष र रीतिका वर्ष दिनकी छन् । श्रीमान् अरुण इँटाभट्टामा काम गर्छन् । सुकुम्बासी परिवारका उनीहरूको अहिलेसम्म नागरिकतासमेत बनेको छैन । रेखाले जस्तै सासू आशा सदाले पनि बच्चा जन्माइरहेकी छन् । आशाका जेठा छोरा अरुण (रेखाका श्रीमान् २० वर्ष), माइलो अर्जुन ८ वर्ष, कान्छो विशाल साढे ६ वर्ष र छोरी अञ्जली छन् । सासू–बुहारी सँगसँगै बर्सेनि सुत्केरी हुँदा स्याहार नपुगेर कमजोर बनेको र रोगले गाँजेको रेखा सुनाउँछिन् । ‘सुत्केरीका बेला पोषिलो खानेकुरा पाउनु परको कुरा, कति रात भोकै सुत्नुपर्थ्यो,’ रेखाले भनिन्, ‘ढाड दुख्ने, जोर्नीहरू कटकट खाने रोगले थलिएकी छु ।’ रेखाकी सासू आशा पनि त्यस्तै समस्या भोगिरहेकी छन् । उनी पनि गह्रुँगो काम गर्न सक्दिनन् । उनका श्रीमान् मनकुले भारतको पञ्जाबमा मजदुरी गरेर खर्च पठाउँछन् ।

धनगढीमाई नगरपालिका–११ का २३ घर मुसहर बस्तीका अधिकांशको विवाह सानै उमेरमा भएको छ । रेखाकी आमा प्रमिलाको विवाह पनि १० वर्षमै सिरहाकै नरहा ललभितियामा भएको थियो । प्रमिलाले समेत अहिलेसम्म बच्चा जन्माइरहेकी छन् । ८ छोरीमध्ये रेखा जेठी हुन् । माइली प्रभा र साहिँली पवनीको पनि विवाह भई एक/एक छोरी छन् । ‘मुसहर समुदायमा सानै उमेरमा विवाह गर्ने चलन छ, उमेर पुगेर विवाह गर्नुपर्छ भन्ने थाहै भएन,’ रेखाले भनिन् ।

लहान नगरपालिका–२४ झुटकीस्थित ३७ घरपरिवारको मुसहरी टोल छ । त्यहाँ पुग्दा कलिलो उमेरका मुसहर बुहारीहरू बालबच्चा काखी च्यापेर बसेका भेटिन्छन् । १५ वर्षीया रुबी देवी सदा ६ महिने छोरा प्रवेश, १७ वर्षीया पुजा अढाई वर्षे छोरी उषा, २० वर्षीया सिल्टोदेवी १ वर्षे छोरा रितेशलाई काँखी च्यापेर घाम तापिरहेका भेटिए । कलिलै उमेरमा सन्तान जन्माएका उनीहरू निरक्षर छन् । उनीहरूका श्रीमान्ले पनि पढेका छैनन् । ऐलानी जग्गामा बस्ने उनीहरूमध्ये कोही खोलामा गिट्टी चालेर गुजारा चलाउँछन् भने कोही युवा मजदुरीका लागि भारतको मुम्बई र पञ्जाबतर्फ हानिएका छन् ।

सिरहाका मुसहर बस्तीमा सानै उमेरमा आमा बन्ने युवतीहरूको संख्या बढ्दो छ । २०६८ को जनगणनाअनुसार नेपालमा मुसहरको संख्या २ लाख ३४ हजार ४ सय ९० छ । सिरहामा मात्रै यो समुदायका ३९ हजार ९ सय २९ छन् । तीमध्ये ९५ प्रतिशत भूमिहीन सुकुम्बासी छन् । अशिक्षा र चेतना अभावकै कारण मुसहर समुदायमा बालविवाह चलन बढ्दो रहेको नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदा बताउँछन् ।

उनका अनुसार सीमान्तकृत, अल्पसंख्यक डोम र मुसहर समुदायमा विशेषगरी छोराछोरी जन्मनेबित्तिकै विवाहको टुंगो लगाउने चलन कायम छ । मगनी भइसकेकी छोरीले उमेर पुगेपछि अन्यत्रै विवाह गर्लान् कि भन्ने डरले सानैमा विवाह गरिदिने चलन रहेको उनले बताए । लहान बहुमुखी क्याम्पस समाजशास्त्र विभागका सहप्राध्यापक शोभितलाल चौधरी अशिक्षा, गरिबी र चेतना अभावले बालविवाह भइरहेको बताउँछन् ।

पछिल्लो समय यस समुदायका किशोरी बालविवाहविरुद्धको अभियानमा सक्रिय भएका छन् । कक्षा १० मा पढ्दै गरेकी मलहनवा मुसहर बस्तीकी १६ वर्षीया राधिका सदाय मुसहरलाई उनका अभिभावकले विवाह गरिदिन खोजे । बुबा झगडु र आमा ठकनीकी एक्ली छोरी राधिकालाई विवाहका लागि मगनी आयो । विभिन्न संघसंस्थाले दिएको तालिम र स्कुले शिक्षाबाट बालविवाहबारे जानकार राधिकाले विवाह मगनीलाई अस्वीकार गरिन् । ‘विवाह अस्वीकार गरेलगत्तै अभिभावकले हेला गर्न थाले,’ राधिकाले भनिन्, ‘कानुनी र शारीरिक रूपमा पनि विवाह गर्ने उमेर होइन भन्दा अभिभावकले बेवास्ता गर्न थाले, एक मात्र सन्तान भएकाले विवाह छिटो गर्नुपर्ने ढिपी गरिरहे ।’

विवाह टार्न उनले टोलका सँगै पढ्ने संगीहरूलाई भेला पारिन् र बालविवाहविरुद्ध लड्ने निधोमा पुगिन् । बस्तीकै कक्षा १० मा पढने सुमित्राकुमारी सदाय मुसहर, सन्तोषी, कक्षा ९ मा पढ्ने सुमिता, कक्षा ८ मा पढ्दै गरेकी अनुषा सदाय मुसहरले बालविवाहको चलनविरुद्ध अग्रसरता देखाए । राधिकाकै अग्रसरतामा उनीहरूले नमुना किशोरी समूह गठन गरे । मुसहर किशोरी समूहले राधिकाका अभिभावकलाई बालविवाह कानुनी रूपमा दण्डनीय हुने र शारीरिक, मानसिक रूपमा दुर्बल हुने सुझाए ।

प्रकाशित : माघ २९, २०७७ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?