कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खाडी मुलुकमा भिजिट भिसामा जान महिलालाई वडाको सिफारिस चाहिने कानुन बनाइँदै

काठमाडौँ — अध्यागमन विभागले विदेश भ्रमणसम्बन्धि कार्यविधिमा संशोधन गरि खाडी मुलुकमा पहिलोपटक भ्रमण गर्ने महिलालाई परिवारको सहमति वा वडाको सिफारिस अनिवार्य चाहिने प्रावधान राख्न सिफारिस गरेको छ । 

खाडी मुलुकमा भिजिट भिसामा जान महिलालाई वडाको सिफारिस चाहिने कानुन बनाइँदै

गृह मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले गरेको सिफारिसमध्ये तीनवटा सुझाव कार्यविधिको संशोधनमा राखेर गृहमा पठाइएको र मन्त्रालयले निर्णय गरे लागू हुने अध्यागमन विभागका निर्देशक टेकनारायण पौडेलले बताए । पौडेलले खाडी मुलुकमा एक्लै भिजिट भिसामा जाने महिलालाई मात्र यस्तो सिफारिस चाहिने व्यवस्था गर्न सिफारिस गरिएको दाबी गरे ।

‘अध्ययन कार्यदलले सिफारिस गरेको हो । हामीले संशोधनमा यो कुरा पठाएका छौं । सबै ठाउँ जानका लागि होइन । खाडी मुलुकमा पहिलोपटक एक्लै जाने ४० वर्षभन्दा कम उमेरका महिलाका लागि मात्रै यो लागू हुने हो । खाडीमा महिला कामदारको तस्करी नै हुने र उनीहरु जोखिममा रहेको भन्ने गुनासो आएपछि यस्तो व्यवस्था गरिएको हो । अन्य स्थानमा जाने र अध्ययनका लागि जानेहरुलाई यो लागू हुँदैन,’ पौडेलले भने ।

उनले यस्तो सिफारिस हुँदा रेकर्ड रहने र जोखिम कम गर्न सकिने दाबी गरे । परिवारका कुनै सदस्य साथमा हुँदा यो सिफारिस नचाहिने पनि उनले बताए ।

कार्यदलको सिफारिसकै आधारमा अबदेखि भ्रमण भिसामा विदेश जानेले डलर सटहीको प्रमाण पनि देखाउनुपर्ने व्यवस्था गर्न लागिएको उनले बताए । ‘अहिलेसम्म डलर सटहीमा बैंकको छाप भए पुग्थ्यो तर अब डलर सटहीमा बैंकको भौचर वा भरपाई पनि चाहिनेछ,’ उनले भने । भ्रमण गर्नेको बीमाको सन्दर्भमा पनि नयाँ सिफारिस गरिएको निर्देशक पौडेलले बताए ।

प्रकाशित : माघ २८, २०७७ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?