कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आरोपित खुलमखुला, बलात्कृत पीडामा

साधारण तारिखमा रिहा हुन्छन् बलात्कार आरोपित
सन्जु पौडेल

तिलोत्तमा — बुटवल उपमहानगरपालिकाकी ११ वर्षीया बालिका गत असोज २५ गते दिउँसो घर नजिकै खेलिरहेकी थिइन् । त्यही बेला एक छिमेकीले आफ्नो घरमा बोलाए । कोठामा पुर्‍याएपछि बाहिरबाट चुकुल लगाइदिए । भित्र बसिरहेका पुरुषले बालिकामाथि बलात्कार गरे । पाँच सय रुपैयाँ दिएर घटनाबारे कसैलाई नबताउन धम्की दिए ।

चार दिनपछि तिनै छिमेकीले बालिकाका दाजुलाई बहिनीमाथि भएको घटनाबारे जानकारी गराए । ‘त्यो सुनेपछि छाँगाबाट खसेझैं भएँ,’ दाजुले सुनाए, ‘मैले आत्तिँदै बुबालाई बताएँ ।’

बाबुछोराले घटनाबारे सोधेपछि उनले सबै सुनाइन् । असोज ३० गते अभिभावकसहित जाहेरी दर्ता गर्न गएकी बालिकाले प्रहरीसमक्ष कोठाभित्र बसेका व्यक्तिले मात्र नभएर घटनाबारे आफ्ना बुबालाई जानकारी दिने छिमेकीले समेत मिठाई दिएर पटक–पटक करणी गर्ने गरेको खुलाइन् । पाल्पाबाट बसाइँ सरेर आएका बालिकाका परिवार यहाँ अधियाँमा खेतीपाती र ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहेका छन् । उनकी आमा वैदेशिक रोजगारीमा छिन् ।

बालिकामाथि जबर्जस्ती करणी आरोपमा पक्राउ परेका दुवै व्यक्ति अहिले जिल्ला अदालत रूपन्देहीको आदेशले पुर्पक्षका लागि कारागार चलान भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी डीएसपी सत्यनारायण थापाले बताए । स्वास्थ्य सामान्य रहे पनि विद्यालय जाँदा, छरछिमेकका साथी भेट्दा त्यही घटना सुनाउने गरेको र त्यसले मानसिक तनाव हुने गरेको बालिकाले बताइन् । ‘मलाई देख्नेबित्तिकै त्यही कुरा गर्छन्,’ उनले भनिन्, ‘अपराधीलाई सजाय दिलाउन बुबा लाग्नुभएको छ ।’

दाङको बंगलाचुली गाउँपालिकाकी १२ वर्षीया बालिका एक वर्षसम्म निरन्तर ६१ वर्षीय झड्केलो बाबुबाट बलात्कृत भइन् । गत मंसिर १३ गते आमा घाँस काट्न जंगल गएकी थिइन्, बुबाले एक्कासि सबै ढोका बन्द गरेर जबर्जस्ती भुइँमा लडाए । पछि होसमा आउँदा उनी रक्ताम्य थिइन् । बुबाले कतै भनेमा मारिदिने धम्की दिए । त्यसपछि पनि घरमा एक्लै पारेर पटक–पटक करणी गरे । सात वर्षअघि आमाले दोस्रो विवाह गरेपछि उनी झड्केलो बुबाको घरमा बस्दै आएकी थिइन् । सुरुमा डराएर कसैलाई जानकारी गराउन नसकेको बालिकाले बताइन् ।

हिँड्नै नसक्ने गरी घाउ दुख्न थालेपछि मात्रै उनले मामाघरकी हजुरआमालाई बताएकी थिइन् । ‘नातिनीले सबै कुरा बताउँदा मलाई पत्याउनै गाह्रो भयो,’ हजुरआमाले भनिन्, ‘बाबुबाटै यस्तो घटना हुन्छ भने छोरीहरू कसरी बचाउन सकिन्छ ?’ प्रहरीमा जाहेरी दिएपछि बाबु पक्राउ परे । अहिले मुद्दा चलिरहेको छ ।

दाङकै घोराही उपमहानगरपालिकाकी सुस्त मनस्थितिकी १७ वर्षीया बालिका लकडाउनको समयमा वैशाख १९ गते बलात्कृत भइन् । छिमेकी २५ वर्षीय हेमराज विकले आफ्नो घरमा टीभी हेर्न बोलाएर बलात्कार गरेको पीडितको भनाइ छ । पीडितको जाहेरीका आधारमा प्रहरीले विकलाई पक्राउ गरी मुद्दा चलायो । जिल्ला अदालतले जेठ २६ गते पुर्पक्षका लागि थुनामा पठाएकामा उच्च अदालत तुलसीपुरले असार १८ गते हिरासतमुक्त गरी साधारण तारेखमा छोड्न आदेश दियो । अहिले विक घरमै छन् भने पीडित झन् पीडामा छिन् । ‘दोषी छुटिसकेकाले कारबाही हुन्छ कि हुँदैन भन्ने शंका छ,’ पीडितका दाजुले भने, ‘दोषीलाई पनि तारिखमा छोडिएको छ ।’

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार पछिल्लो तीन महिनामा मात्रै प्रदेशमा बलात्कारका ८५ वटा घटना भएका छन् । जसमध्ये कात्तिकमा ३०, मंसिरमा ३२ र पुसमा २३ वटा भएका छन् । कात्तिकमा १५ महिला र १५ बालिका तथा मंसिरमा १६ महिला र १६ बालिका बलात्कृत भएका छन् । पुसमा १५ बालिका र ८ महिला बलात्कारमा परेका छन् । हरेक महिना बालिका बलात्कारमा पर्ने क्रम बढिरहेको छ । पछिल्लो तीन महिनामा सबैभन्दा बढी बलात्कारका घटना बाँकेमा भएका छन् । जहाँ हरेक महिना सरदर सात वटा घटना भएका छन् । प्यूठान, पाल्पा, अर्घाखाँची र गुल्मीमा सबैभन्दा कम घटना भएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय पीडितमा आएको सचेतनाका कारण जबर्जस्ती करणीका घटनाबारे जानकारी हुनु र जाहेरी प्रहरीकहाँ दर्ता हुन थालेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए । ‘अशिक्षा, मानसिक अवस्था र अचेतना नै यस्ता घटनाका मुख्य कारण हुन्,’ उनले भने, ‘विशेष गरी आफन्त, छिमेकी र चिनजानकै मानिसबाट घटना भएको पाइन्छ ।’

यस्ता घटना नहोऊन् भनी समय–समयमा समुदायमा प्रहरी साझेदारी कार्यक्रम गरिने भए पनि सामाजिक परिवेशमै छिमेकी र टाढाका आफन्तलाई समेत पूर्ण विश्वास गरी ढुक्क हुँदा यस्ता घटना भइरहेको खड्काले बताए ।

प्रकाशित : माघ २८, २०७७ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?